2026 November 20/ 03:09: 52am

    पनौती, चौकोट/नेपालहिल्फे वाइल्डग्रीस ई.भी. जर्मनीको आर्थिक सहयोग तथा जनहित नेपालको सहजीकरणमा पनौती नगरपालिका–५, चौकोटस्थित श्री श्वेत गणेश माध्यमिक विद्यालयमा निर्माण गरिएको नवनिर्मित विद्यालय भवन उद्घाटन गरिएको छ ।
    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनोद खत्रीको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारी प्रमुख अतिथि रहेका थिए । जर्मनीस्थित नेपालहिल्फे वाइल्डग्रीस ई.भी.का अध्यक्ष मानफ्रेड लिन्डनर र नगर प्रमुख भण्डारीले संयुक्त रूपमा नवनिर्मित भवनको उद्घाटन गरेका हुन् । संस्थाको आर्थिक सहयोग तथा जनहित नेपालको सहजीकरणमा निर्माण भएको उक्त भवन दुई तल्लाको आठकोठे पक्की संरचना हो । भवनमा रिटेनिङ वाल, ग्राउण्ड तथा भ¥याङलगायतका संरचना निर्माण गरिएको छ । भवन निर्माणमा कुल १ करोड ५३ लाख ४२ हजार रुपैयाँ खर्च भएको जनाइएको छ । विद्यालयमा हाल करिब ४ सय विद्यार्थी अध्ययनरत छन् । शैक्षिक उपलब्धिका हिसाबले पनि विद्यालयले उल्लेखनीय सफलता हासिल गर्दै आएको छ । एसईई २०८२ मा पनौती नगरपालिकाभित्रका सामुदायिक विद्यालयमध्ये शतप्रतिशत नतिजा ल्याउने एकमात्र विद्यालय श्वेत गणेश माध्यमिक विद्यालय बनेको थियो। उक्त परीक्षामा सहभागी २२ जना विद्यार्थी नै उत्तीर्ण भएका थिए ।
    विद्यालयका प्रधानाध्यापक इन्द्रलाल मानन्धरले नयाँ भवन निर्माणले विद्यालयको भौतिक पूर्वाधार विकाससँगै शैक्षिक गुणस्तर सुधारमा समेत महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले विद्यालयलाई सहयोग गर्ने दातृ संस्था तथा सहजीकरण गर्ने जनहित नेपालप्रति आभार व्यक्त गरे । कार्यक्रममा सहभागी वक्ताहरूले विद्यालयको शैक्षिक तथा भौतिक विकासमा सहयोग पु¥याएको भन्दै नेपालहिल्फे वाइल्डग्रीस ई.भी. जर्मनी र जनहित नेपाललाई धन्यवाद दिएका थिए ।
    यसअघि पनि उक्त संस्थाले पनौती नगरपालिका–१, रयालेस्थित भालचन्द्र माध्यमिक विद्यालयको भवन निर्माणमा सहयोग गरेको थियो। भालचन्द्र माध्यमिक विद्यालयका प्रधानाध्यापक चन्द्रप्रसाद तिमल्सिना तथा स्थानीय समाजसेवी पदम तामाङको विशेष पहलमा चौकोटस्थित श्वेत गणेश माध्यमिक विद्यालयको भवन निर्माण सम्भव भएको हो । नवनिर्मित भवनले विद्यालयको शैक्षिक वातावरण थप व्यवस्थित र गुणस्तरीय बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।