2026 September 11/ 06:00: 46pm

    मोबाइलमा घण्टी बज्दा अम्बिका तिमल्सिनाको मुटु एकपटक झस्किन्छ । सायद रामशरणको फोन हो कि ? सायद कसैले रामशरणबारे खबर लिएर फोन गरेको हो कि ? तर हरेकपटक उस्तै हुन्छ । फोन अर्कैको हुन्छ । आवाज अर्कैको हुन्छ । अनि उनको प्रतीक्षा फेरि उही ठाउँमा पुगेर रोकिन्छ । रामशरणको कुनै खबर छैन । भदौ १० गते रसुवामा भोटेकोशी नदीमा आएको आकस्मिक बाढीपछि सम्पर्कविहीन भएका श्रीमान्को पर्खाइमा अम्बिकाको कयौं दिन बितिसकेका छन् ।
    तर अम्बिकाका लागि केवल दिन होइन । हजारौँपटक एउटै प्रश्न आउँछ– ‘रामशरण कहाँ छन् ?’ उनी जीवित छन् कि छैनन् ?कुनै ठाउँमा फसेका छन् कि ? कसैले उद्धार गरेर कतै राखेको छ कि ? घाइते भएर उपचार गराइरहेका छन् कि ? कि... यो ‘कि’ पछि आउने सम्भावना सोच्नासाथ अम्बिकाको मन काँप्छ । त्यसैले उनी त्यो सम्भावना स्वीकार गर्न चाहन्नन् । ‘अहिले मलाई अरू केही थाहा छैन राजा, श्रीमान्लाई सम्झिँदै भन्छिन्, ‘हजुर जसरी भए पनि म र हाम्रा साना नानीबाबुको लागि मात्र भए पनि हजुर फर्किएर आउनैपर्छ ।’ त्यसपछि उनको आवाज रोकिन्छ । आँखा रसाउँछन् । तर आशा रोकिँदैन । ‘प्लिज, ढिला नगरी फर्किएर आइदिनुस् न है ।’
    भदौ १० गतेपछि अम्बिकाको घरमा समयले आफ्नो अर्थ गुमाएको छ । दिन र रात छुट्याउन गाह्रो भएको छ । बिहान उठ्दा पहिलो सोच रामशरणकै हुन्छ । राति सुत्न खोज्दा अन्तिम सोच पनि रामशरणकै । मोबाइल हातमै हुन्छ । कुनै अपरिचित नम्बरबाट फोन आउँदा पनि मुटु ढुकढुक गर्छ । कुनै सामाजिक सञ्जालमा रसुवाको बाढीसम्बन्धी सूचना देख्दा उनी एकाएक रोकिन्छिन् । सायद त्यहाँ रामशरणको खबर पो छ कि ! तर अहिलेसम्म त्यस्तो कुनै खबर आएको छैन । जिल्ला प्रशासन कार्यालय काभ्रेमा प्राप्त विवरणअनुसार रामशरण घट्टेखोला आसपासबाट सम्पर्कविहीन भएका हुन् । उनी मात्र होइनन् । रसुवा र नुवाकोट क्षेत्रमा पुगेका काभ्रेका ४६ जना अझै सम्पर्कविहीन छन् । कसैका श्रीमान् हराएका छन् । कसैका छोरा । कसैका बाबु । कसैका दाजुभाइ । कसैका जीवनसाथी । हरेक घरमा अहिले एउटै प्रश्न छ–‘कहिले आउँछ खबर ?’
    तर खबर आउन ढिला भइरहेको छ । र समय भने कसैका लागि रोकिएको छैन । बाढीले बाटो बगाएको होला । पहिरोले बाटो छेकेको होला । भग्नावशेषले मानिस पुरिएका होलान् । तर परिवारको मनमा उब्जिएको शंका कसले रोक्ने ? अम्बिकाको मन पनि त्यही शंकाले घेरिएको छ । तर उनी आफूलाई सम्झाउँछिन्– ‘रामशरण आउनुहुन्छ ।’ किनकी मृत्युको कुनै प्रमाण छैन । शव भेटिएको छैन । अन्तिमपटक देखेको प्रमाण छैन । त्यसैले उनी कसरी मानून—रामशरण अब छैनन् भनेर ? बेपत्ता मानिसका परिवारका लागि सबैभन्दा कठोर अवस्था यही हो । शव भेटिएको छैन । तर मृत्युको डर दिनदिनै गहिरिँदै गएको छ । शव भेटियो भने कम्तीमा आफन्तले अन्तिमपटक अनुहार हेर्न पाउँछन् । आफ्नो मान्छे हो भनेर पहिचान गर्न पाउँछन् । अँगालो हालेर रुन पाउँछन् । अन्तिम संस्कार गर्न पाउँछन् । तर शव नै नभेटिएपछि ? मृत्यु कसरी स्वीकार गर्ने ? अन्त्येष्टि कसरी गर्ने ? अझै फर्केर आउने आशा हुँदाहुँदै कसरी चितामा आगो लगाउने ? यही प्रश्न अम्बिकाको मनमा छ । ‘कसरी कुसको शव बनाएर अन्त्येष्टि गरूँ ? उहाँ फर्केर आउनुहुन्छ कि !’ यो प्रश्नभित्र एउटी श्रीमतीको विश्वास छ । एउटी आमाको डर छ । एउटा परिवारको आशा छ । र एउटा राज्यसँग गरिएको मौन प्रश्न पनि छ । यदि रामशरण जीवित छन् भने ? यदि उनी कतै उद्धारको प्रतीक्षामा छन् भने ? यदि उनी घाइते अवस्थामा कतै छन् भने ? यदि अझै खोजी गर्न बाँकी ठाउँमा उनी छन् भने ? अम्बिका भन्छिन्–‘जीवित हुनुहुन्छ भने खोजेर ल्याइदिनुस् । होइन भने पनि हामीलाई सत्य थाहा चाहियो ।’ परिवारलाई अनुमान होइन, उत्तर चाहिएको छ । आश्वासन मात्र होइन, खोजीको परिणाम चाहिएको छ ।
    अम्बिका रामशरणलाई सम्झन्छिन् । सुखमासँगै । दुःखमासँगै । घरपरिवारका जिम्मेवारीमा सँगै । जीवनका कठिन मोडमा एकअर्कालाई सम्हाल्दै आएको त्यो सम्बन्ध अहिले अचानक एउटा नदीको बाढीले बीचमै रोकेको छ । उनी श्रीमान्लाई सम्झाउँदै भन्छिन्–‘याद छ नि हजुरलाई ? सधैँ हजुरले मात्र पाल्नुपर्छ भन्ने छैन, समय परे म पनि हजुरलाई सम्हाल्न र पाल्न सक्छु भनेर मैले भनेको कुरा ?’ आज त्यही कुरा सम्झिएर उनी आफैँलाई बलियो बनाइरहेकी छन् । ‘आज म हजुरको त्यही बलियो रक्षक बनेर उभिएकी छु ।’ श्रीमान् हराएका छन् । तर अम्बिका आफैँ हराउन चाहन्नन् । उनलाई थाहा छ–परिवारलाई सम्हाल्नुपर्छ । साना नानीबाबुलाई सम्हाल्नुपर्छ । रामशरण फर्किएर आए भने उनलाई भन्नुपर्छ–‘हेर्नुस्, म तपाईंलाई पर्खिरहेकी थिएँ ।’ त्यसैले उनी भन्छिन्– ‘हजुर मेरो हिम्मत हुनुहुन्थ्यो । अब म हजुरको सहारा बन्ने छु । म छु नि हजुरको साथमा !’ उनको यो वाक्यमा एउटा असाधारण आशा छ । 
    श्रीमान् नभए पनि उनी उनको प्रतीक्षामा उभिएकी छन् । उनी कमजोर हुन चाहन्नन् । किनकी उनलाई लाग्छ– रामशरण कतैबाट फर्केर आउँदै छन् । रसुवाको बाढीले ठूलो जनधनको क्षति गरेको छ । खोजी तथा उद्धारका लागि सुरक्षा निकाय परिचालन भएका छन् । तर बेपत्ता भएका मानिसका परिवारका लागि हरेक घण्टा भारी भइरहेको छ । काभ्रेबाट मात्रै ४६ जना सम्पर्कविहीन भएको विवरण प्रशासनमा पुगेको छ । यी ४६ नाम केवल सूचीका नाम होइनन् । यी ४६ परिवारका आशा हुन् । यी ४६ घरका प्रतीक्षा हुन् । यी ४६ परिवारका अधुरा कथा हुन् । कसैको घरमा आमा छिन्, छोरा आउने बाटो हेरेर । कसैकी श्रीमती श्रीमान्को फोनको प्रतीक्षामा छिन् । कसैका छोराछोरी बाबु फर्केर आउने आशामा छन् । अम्बिकाको प्रश्न पनि यही हो–सरकारले उनीहरूको अवस्था कहिले यकिन गर्छ ? ‘यति धेरै दिन भइसक्यो,’ उनी भन्छिन्, ‘न श्वासको कुरा आएको छ, न लाशको । हामीले के मान्ने ?’ 
    बाँचिरहेका छन् भने सरकारले खोज्नुपर्छ । मृत्यु भएको हो भने परिवारलाई सत्य बताउनुपर्छ । तर जीवन र मृत्युको बीचमा परिवारलाई अनिश्चिततामा राख्नु सबैभन्दा ठूलो पीडा हो । दुई जनाको शव प्राप्त भएको खबर आएको छ । पाँचखालका दिलबहादुर कायस्थ र रोशीका शंखबुद्ध लामाको शव प्राप्त भएको छ । तर बाँकी परिवारको प्रतीक्षा अझै सकिएको छैन । उनिहरुको अन्त्येष्टी पनि गरिएको छ । परिवारले संस्कार अनुसार काजक्रिया शुरु गरेका छन् । तर हामीले के गर्ने ? केहि आफन्तले कुशको शव बनाएर अन्त्येष्टी गरेको खबर पनि सुनें । अम्बिकाको प्रतीक्षा पनि सकिएको छैन । उनले अन्त्येष्टिको तयारी गर्न चाहँदिनन् । उनी श्रीमान्को मृत्यु स्वीकार गर्न चाहँदिनन् । किनकी उनीसँग अझै एउटा आशा छ–रामशरण फर्केर आउन सक्छन् । त्यसैले उनी सरकारसँग एउटै आग्रह गर्छिन्–‘जहाँ हुनुहुन्छ, जस्तो अवस्थामा हुनुहुन्छ, हजुर आज राति मेरो सपनामै आएर भए पनि ठेगाना भनिदिनुस् न । म आफ्ना सबै शक्ति, सामथ्र्य र संयन्त्र प्रयोग गरेर हजुरलाई खोज्न त्यहीँ पुग्ने छु ।’
    अनि अन्त्यमा फेरि उही आवाज आउँछ–‘यो जिन्दगीमा कहिल्यै हार्नु परेन । यो पटक पनि मलाई हार्ने अवस्था नबनाइदेऊ है राजा ।’ ‘प्लिज ढिला नगरी फर्किएर आइदिनुस् न है ।’ अम्बिका अझै पर्खिरहेकी छन् । ढोकामा । मोबाइलमा । समाचारमा । बाटोमा । हरेक अपरिचित आवाजमा । हरेक हेलिकोप्टरको आवाजमा । हरेक फोनको घण्टीमा । उनी रामशरणको खबर खोजिरहेकी छन् । र उनको मनले अझै एउटै कुरा भनिरहेको छ–‘शव नभेटिएसम्म म कसरी मानूँ–मेरो मान्छे रहेनन् भनेर ?’ त्यसैले अम्बिकाको प्रतीक्षा अझै जारी छ । सम्पर्कविहीन हुनेमा चालक, सहचालक, हाइड्रोपावरमा कार्यरत कर्मचारी, ट्रेकिङ गाइड, होटल व्यवसायी, व्यापारी तथा विभिन्न पेशामा संलग्न व्यक्तिहरू रहेका छन् । सूचीमा भुम्लु–१ दोलालघाटका महेश पन्त मानसरोवर जाने तीर्थयात्री लिएर गएको उल्लेख छ । त्यस्तै चौरीदेउराली–५ का हेमन्त चौलागाईं काब्य बिजनेस क्यारिङको काममा, पनौती–५ का दिनेश श्रेष्ठ व्यापारका क्रममा र रोशी–९ मंगलटारका शंखबुद्ध तामाङ होटल व्यवसायका सिलसिलामा गएको विवरण छ । त्यसैगरी बनेपा–९ का उद्धव सापकोटा भेन चालक, तेमाल–६ का सुमन तामाङ ट्रेकिङ गाइड तथा सोही स्थानका मिलन तामाङ, सुजित तामाङ, डुप्साङ तामाङ र ज्ञानबहादुर राना मगर पनि सम्पर्कविहीन सूचीमा छन् । चौरीदेउराली–७ माइती भएकी सम्झना मोक्तान पतिसँगै गएको विवरण प्रशासनमा टिपाइएको छ ।
    सूचीमा बनेपा–१० का बालकृष्ण रञ्जित डब्बा भेन चालक, सिताराम श्रेष्ठ चालक, रिकेश बस्नेत सहचालक तथा धुलिखेल–८ का महेश तामाङ पनि रहेका छन् । धुलिखेल–२ का उद्धव न्यौपाने सान्जेन हाइड्रो कम्पनीमा कार्यरत रहेको, बेथानचोक–४ का राजकुमार लोप्चन, रोजिना लोप्चन त्रिशूली बजारमा होटल व्यवसाय गर्दै आएको तथा सोही स्थानका आइते तामाङ हाइड्रोपावरमा कार्यरत रहेको विवरण छ । बनेपा–८ का एगेश श्रेष्ठ स्कर्पियो चालक, चौरीदेउराली–२ हाल कलंकी बस्ने राजेन्द्र प्रधान क्लासिकटेकको सामान लिन गएको तथा सिपाघाट ठेगाना भई हाल धुलिखेल बस्ने रामशरण तिमल्सिना घट्टेखोला आसपासबाट सम्पर्कविहीन भएको जनाइएको छ । धुलिखेल–२ का संगम चौलागाईं लाङटाङ खोला हाइड्रो कम्पनीमा सब–इन्जिनियर, तेमाल–७ का विशाल तामाङ अपर हाइड्रोपावरमा स्काभेटर चालक तथा पनौती–३ का अच्युतम सापकोटा रसुवा भन्सारमा सामान क्यारी गर्ने काममा संलग्न रहेको विवरण प्रशासनमा पुगेको छ । त्यस्तै भुम्लु–१ रिठ्ठेठेका मिलन श्रेष्ठ भन्सार छुट भएको जानकारी गराउँदै अन्तिमपटक घरमा सम्पर्कमा आएको र त्यसपछि सम्पर्कविहीन भएको जनाइएको छ। बनेपाका आषिष गुभाजु, तेमाल–८ का गणेश लामा, पाँचखाल–१२ का मिलन खरेल, बनेपा–१० का प्रल्हाद गिरी र भुम्लु–१ रिठ्ठेका प्रकाश श्रेष्ठ पनि सूचीमा छन् । बनेपा–८ का भोगेन्द्रकुमार खत्री मेलुङ स्थित अपर त्रिशुली हाईड्रोपावर प्राजेक्टमामा कार्यरत रहेको, धुलिखेल नगरपालिका–२ का सुकुमान तामाङ हाइड्रोपावरमा कार्यरत तथा सोही स्थानका विकास तामाङ पनि सम्पर्कविहीन सूचीमा रहेको प्रशासनले जनाएको छ ।
    धुलिखेल नगरपालिका–२ का राजु थापा कन्टेनर लिएर गएको, भुम्लु–५ जोरपिपलका राजकुमार रिजाल स्कार्पियो चालक, बनेपा–१३ साँगाकी प्रकृति डङ्गोल त्रिशूली बट्टारस्थित माइत गएको र त्यसपछि सम्पर्कमा नआएको विवरण छ । त्यसैगरी पाँचखाल–१२ का राजकुमार गौतम क्यारीको काम गर्ने, मण्डनदेउपुर–२ का कुलबहादुर तामाङ कामको सिलसिलामा गएको तथा पनौती–९ का अर्जुन खत्री केसी भेन चालक रहेको प्रशासनमा टिपाइएको विवरणमा उल्लेख छ । भोटेकोशी नदीमा आएको आकस्मिक बाढीपछि रसुवा र नुवाकोट क्षेत्रमा ठूलो क्षति भएको छ । बाढीपछि सम्पर्कविहीन भएका व्यक्तिहरूको खोजी तथा उद्धारका लागि सुरक्षा निकाय परिचालन भइरहेका छन् । जिल्ला प्रशासन कार्यालय काभ्रेमा प्राप्त विवरणमा थपघट हुन सक्ने भएकाले प्रशासनले सम्पर्कविहीन व्यक्तिको अवस्था यकिन गर्न सम्बन्धित परिवार तथा निकायसँग समन्वय गरिरहेको छ । धुलिखेल नगरपालिका वडा नं. ३ स्थायी घर भई हाल काठमाडौं बस्दै आएका १८ वर्षीय मनिष भुजेल पनि सम्पर्क विहिन छन् । पासाङ ल्हामु ट्राभल्स मार्फत गोसाइँकुण्ड यात्रामा गएको र हालसम्म परिवार तथा आफन्तको सम्पर्क बिहिन भएकोले सम्पर्कका लागि आफन्तले वडा कार्यालय र प्रशासनमा जानकारी गराएको वडा अध्यक्ष गणेश आचार्यले जानकारी दिए । 
    त्यस्तै काठमाडौ विश्वविद्यालयबाट स्कुल अफ इन्जिनियरिङमा अध्ययनरत समीर पौडेल, सृष्टि बास्तोला, शिशिर गिरी इन्टर्नसिपमा गएका थिए । त्रिशुली थ्री बी हाईड्रोको प्रोजेक्ट साईट तथा फिल्ड अफिस पुरिएको तथा बगेको हुनाले भग्नावशेष समेत हालसम्म भेटिएको छैन । तीन विद्यार्थी सोहि प्रोजेक्टमा इन्टर्नसिपमा कार्यरत थिए । हाल बेपत्ता छन् । त्यस्तै स्कुल अफ लमा अध्ययनरत विद्यार्थी मनिल कायश्थ त्रिशुली बजारबाट सोहि दिन विहान ८.३० देखि सम्पर्क विहिन भएका छन् । सबै बेपत्ताका आफन्तको एउटै स्वर छ श्वास वा लास ? कसरी पाउन सकिन्छ ? सरकारको सक्रियता, सहयोगीहरुको समन्वय र सान्त्वना जति भए पनि आफन्तलाई उनिहरुको अन्तिम पटक देख्न चाहिने अनुहार पनि त हो नि ? अन्त्येष्टी हो नि ? त्यसैले कामना गरौं उनिहरु सबै सकुशल रहुन् । 

बेपत्ताका आफन्तहरु
काभ्रेपलाञ्चोक