आर्थिक वर्ष २०८२/०८३ काभ्रेपलाञ्चोक जिल्ला प्रहरीका लागि सामान्य वर्ष रहेन । ‘जेनजी’ आन्दोलनका क्रममा प्रहरीका आफ्नै संरचना र सवारीसाधन निशानामा परे, कार्यालयहरूमा आगजनी भयो, प्रहरी कर्मचारी असुरक्षित बने । तर त्यही अस्थिर परिस्थितिका बीच सार्वजनिक शान्ति कायम गर्ने, अपराध नियन्त्रण र अनुसन्धान अघि बढाउने तथा निर्वाचन सुरक्षाको जिम्मेवारी पनि प्रहरीकै काँधमा रह्यो । त्यसैले यो वर्षको काभ्रे प्रहरीको मूल्यांकन केवल पक्राउ, मुद्दा र कारबाहीको तथ्यांकबाट गर्न मिल्दैन । यो वर्ष प्रहरी स्वयं सुरक्षाको चुनौतीमा परेको र त्यही चुनौतीबीच नागरिक सुरक्षाको जिम्मेवारी निर्वाह गरेको वर्ष हो ।
जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय बनेपा, प्रहरी चौकी पाँचखाल, हिगुवापाटी तथा जिल्ला ट्राफिक प्रहरी कार्यालयमा आगजनी हुँदा प्रहरी संरचनामा ठूलो क्षति पुग्यो। प्रहरी चौकी पनौतीमा ढुंगामुढा भयो । सार्वजनिक तथा निजी सम्पत्तिमा तोडफोड, आगजनी र लुटपाटका घटना पनि भए। राजनीतिक दलका कार्यालयदेखि जनप्रतिनिधि तथा सार्वजनिक व्यक्तिका निजी संरचनासम्म प्रभावित भए। आन्दोलनका क्रममा प्रहरीका सवारीसाधनसमेत क्षतिग्रस्त भए । २०८२ भदौ २३ र २४ गतेको आन्दोलन व्यवस्थापनमा प्रहरीले एसएलआरका जंगी राउण्ड १३, ब्याङ्क राउण्ड ४०, सर्टगनका रबर बुलेट ११ राउण्ड तथा ग्यास सेल ४६ राउण्ड प्रयोग गरेको तथ्यांक छ । त्यस क्रममा ६६१ जना प्रहरी परिचालन भएका थिए । यस्ता तथ्यांकले आन्दोलन व्यवस्थापन कति चुनौतीपूर्ण थियो भन्ने देखाउँछ । तर यहाँ एउटा महत्वपूर्ण प्रश्न पनि उठ्छ–प्रहरीमाथि आक्रमण हुँदा राज्यले प्रहरीको भौतिक तथा मानसिक सुरक्षाका लागि कस्तो तयारी गरेको थियो र भविष्यमा यस्ता परिस्थितिका लागि के सिकाई हासिल गरियो ? आन्दोलनको अर्को महत्वपूर्ण पक्ष निर्वाचन सुरक्षा थियो । असुरक्षा र भौतिक क्षतिको सामना गरिरहेको प्रहरी नै निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गराउने प्रमुख सुरक्षा संयन्त्रमध्ये एक बन्यो । यसले संगठनमाथि दबाब भए पनि सार्वजनिक जिम्मेवारीबाट पछि नहटेको देखाउँछ । तर आन्दोलन समाप्त भएपछि सुरक्षा चुनौती सकिएन । बनेपामा टिपरको ठक्करबाट युवकको मृत्यु भएपछि उत्पन्न परिस्थितिमा प्रहरीले पुनः ग्याँस राउण्ड प्रयोग गर्नुप¥यो । धुलिखेलमा एसएलआरको एक राउण्ड गोली बरामद हुनुले हतियार व्यवस्थापन र सुरक्षा निगरानीका प्रश्नलाई पनि जीवित राख्यो । वर्षभरी तोडफोड, आगजनी, विरोध ¥याली, धर्ना, सभा तथा विभिन्न सार्वजनिक कार्यक्रम व्यवस्थापनमा प्रहरी परिचालित भइरह्यो । यसले काभ्रेमा प्रहरीको काम अपराध अनुसन्धानमा मात्र सीमित नभएको स्पष्ट पार्छ ।
सडक सुरक्षा भने अझै गम्भीर चुनौतीका रूपमा रहेको छ । आर्थिक वर्षमा १३८ वटा सवारी दुर्घटना भए, जसमा २९ जनाको मृत्यु र २९१ जना घाइते भए । १० हजार ९०९ वटा सवारीसाधनमाथि कारबाही गरी ९७ लाख २६ हजार रुपैयाँ राजश्व दाखिला भएको छ । कारबाहीको संख्या ठूलो भए पनि दुर्घटना र मानवीय क्षतिको तथ्यांकले सडक सुरक्षा रणनीतिलाई अझ प्रभावकारी बनाउनुपर्ने देखाउँछ । ट्राफिक नियम उल्लंघनमा जरिवाना मात्र पर्याप्त हुँदैन । चालकको व्यवहार, सडक पूर्वाधार, सार्वजनिक यातायातको अवस्था र निरन्तर ट्राफिक सचेतना पनि उत्तिकै महत्वपूर्ण छन् । अपराधको स्वरूप हेर्दा बैंकिङ कसुर सबैभन्दा ठूलो चुनौतीका रूपमा देखिएको छ । वर्षभरि १७२ वटा बैंकिङ कसुरका मुद्दा दर्ता भए। तीमध्ये १३५ वटा फछ्र्यौट भए भने ३७ वटा बाँकी छन् । यसले काभ्रेको अपराध परिदृश्यमा परम्परागत चोरी, कुटपिट वा हिंसासँगै आर्थिक तथा वित्तीय अपराधको विस्तार भइरहेको संकेत गर्छ । ठगी, सहकारी ठगी र अनलाइन ठगीका घटनाले प्रविधि र वित्तीय कारोबारसँग जोडिएका अपराध नियन्त्रणमा प्रहरीको क्षमता थप सुदृढ गर्नुपर्ने आवश्यकता देखिन्छ । काभ्रे प्रहरीका लागि आगामी चुनौती यही हो—आन्दोलन र अस्थिरतामा सुरक्षा दिनु मात्र होइन, बदलिँदो समाजमा बदलिँदै गएको अपराधको स्वरूप बुझ्नु, नागरिकसँग विश्वासको सम्बन्ध बलियो बनाउनु र सुरक्षा सेवालाई थप व्यावसायिक, जवाफदेही तथा नागरिकमैत्री बनाउनु । भौतिक संरचनामाथि आएको धक्काबाट संगठन पुनः उभिन सक्छ; तर नागरिकको विश्वासमा आएको धक्का भने अझ कठिन हुन्छ । त्यसैले आगामी वर्षको प्राथमिकता ‘कति पक्राउ परे’ भन्ने प्रश्नमा होइन, ‘कति अपराध रोकिए, कति नागरिक सुरक्षित महसुस गरे र कति पीडितले न्याय पाए’ भन्ने प्रश्नमा केन्द्रित हुनुपर्छ ।









