2026 September 11/ 06:00: 45pm

    बनेपा/वागमती टिपर ब्यवसायी संघ काभ्रेको १२ औं बार्षिक साधारण सभा नेपाल ट्रक ब्यवसायी महासंघका केन्द्रीय अध्यक्ष राजेन्द्रविक्रम बाँनियाको प्रमुख आतिथ्यता तथा संघका अध्यक्ष सुरेश खत्रीको अध्यक्षतामा सम्पन्न भएको छ । 
    कार्यक्रममा बोल्दै प्रमुख अतिथी बाँनियाले देशभरका यातायात मजदुरहरु सामाजिक सुरक्षामा समावेश हुनु पर्ने बताए । ब्यवसायीहरुले यातायात मजदुरलाई आईपर्ने तमाम समस्याका लागि सामाजिक सुरक्षा कोषमा समावेश गराउँदा सहज हुने भएकाले त्यस तर्फ ध्यान दिन अनुरोध गरे । सोहि सभामा बोल्दै उनले ब्यवसायीहरुको हितका लागि ऐन तथा कानून संशोधन, ब्यवसायीहरुको एकता र सडक क्षमता अनुसारको भार बोक्ने अनुमति पाएका सवारी साधनहरुको निर्वाध संचालनमा सरकारको ध्यानाकर्षण गराए । साथै मजदुरहरुको नियमित स्वास्थ्य परिक्षणमा सामान्य किट समेत नरहेको राज्यको अवस्थाको स्मरण गराउँदै ब्यवसायीहरुको हितका लागि एकता आवश्यक रहेको बताए । 
      बागमती टिपर ब्यवसायी संघका सल्लाहकार एवं नेपाल उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष सुरकृष्ण बैद्यले ब्यवसायीहरु हरेक क्षेत्रबाट मारमा परिरहेको बताए । बाढी पहिरोका कारण विस्थापित उद्योगी ब्यवसायी, सर्वसाधारण तथा नागरिकहरु प्रति संघका तर्फबाट सहजिकरणको प्रयत्न भईरहेको उनले बताए । ब्यवसायीहरुले झेल्दै आएका तमाम समस्याहरुको समाधानका लागि नेपाल उद्योग बाणिज्य महासंघ सक्रिय रहेको उनले बताए । संघका अध्यक्ष सुरेश खत्रीले बागमती टिपर ब्यवसायी संघको संस्थागत विकास, क्षमता बृद्धी, सडक दुर्घटना न्यूनीकरण, दुर्घटना नगराउने टिपर चालकहरुलाई सम्मान र पुरस्कार लगायतका कार्यक्रमहरु प्रभावकारी भएको बताए । ओभरलोड बोक्न रोक्ने अभियान संघबाटै शुरु भएको बताउँदै उनले ब्यवसायीहरुको हितका लागि संघले विभिन्न सुविधाहरु कार्यान्वयनमा ल्याएको बताए । त्यसका लागि नियमित नविकरण तथा आवद्धताका लागि ब्यवसायीहरुलाई अनुरोध गरे । कार्यकाल अवधीभर भएका महत्वपूर्ण निर्णय तथा कार्यक्रमहरु, भवन निर्माण तथा ब्यवस्थित कार्यालय, ब्यवसायीहरुलाई राहत तथा उपचार सुविधा, महासंघमा आवद्धता हुँदा बीमा लगायतका क्षेत्रमा भएको सहजिकरणका बारेमा अध्यक्ष खत्रीले जानकारी गराएका थिए । 
    कार्यक्रममा नेपाल ट्रक ब्यवसायी महासंघका केन्द्रीय महासचिव बद्रिप्रसाद चौलागाई, नेपाल हेभिइक्पिमेन्ट ब्यवसायी महासंघका अध्यक्ष उमाकान्त शर्मा, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष विनोद न्यौपाने, संघका बरिष्ठ उपाध्यक्ष नविन बैद्य लगायतले बागमती टिपर ब्यवसायी संघले ब्यवसायीहरुका लागि खेलेको भूमिकाका बारेमा धारणा राख्दै साधारण सभाको सफलताको कामना गरेका थिए । कार्यक्रममा पुर्व कार्यालय प्रमुख प्रकाश कायश्थलाई विदाई गरिएको थियो । कार्यक्रम डा.कृष्ण ओझाले संचालन गरेका थिए । कार्यक्रममा संस्थापक अध्यक्ष राजभक्त प्रधान, पुर्व अध्यक्ष शेरबहादुर कुँवर, निर्वतमान अध्यक्ष प्रेम लामा, विभिन्न यातायात सेवा समितिका अध्यक्ष तथा प्रतिनिधिहरु, कार्यालय प्रमुखहरु, ब्यवसायीहरुको उद्घाटन सत्रमा आतिथ्यता रहेको कार्यालय प्रमुख सुदन थापाले जानकारी दिए 

प्रतिवेदन सर्वसम्मत, नयाँ नेतृत्व चयन
    साधारण सभाको बन्द सत्रमा अध्यक्ष सुरेश खत्री, बरिष्ठ उपाध्यक्ष नविन बैद्य, सह सचिव राजन पौडेल, कोषाध्यक्ष नारायणकृष्ण श्रेष्ठ लगायतले प्रस्तुत गरेको प्रतिवेदन सर्वसम्वतले पास भएको छ । संघमा १ हजार २० वटा सवारी साधन आवद्ध भए पछि नियमित नविकरण भने ८ सय ५० मात्रै हुने गरेको छ । दुर्घटना न्यूनीकरण, ओभरलोड नियन्त्रण, गाडी दुर्घटना हुँदा ब्यक्तिको मृत्यु पश्चात संचालन नभएको अवस्थाको गाडीलाई दैनिक भत्ता, एकाघरको परिवारको निधन भएको अवस्थामा गाडी धनीहरुलाई २५ हजारका दरले आर्थिक सहयोग, अप्रेसन तथा गम्भिर प्रकृतिको उपचार गराउँदा गाडी धनीहरुलाई उपचार खर्च उपलब्ध गराउने गरिएको अध्यक्ष सुरेश खत्रीले बताए । २०८० साउन ६ गते भवन उद्घाटन गरी कार्यालय ब्यवस्थापन गरिएको छ । ५ आना जग्गामा भवन निर्माण गरिएको छ । 
    आर्थिक वर्ष २०७९÷२०८० मा १ सय १७ वटा, २०८०÷२०८१ मा १ सय १२ वटा, २०८१÷२०८२ मा १ सय ११ वटा र २०८२÷२०८३ मा ६४ वटा सवारी साधन दुर्घटनामा परे । आर्थिक वर्ष २०७९÷२०८० मा २ करोड १८ लाख ३० हजार आम्दानी भयो भने २ करोड २१ लाख ३२ हजार खर्च हुँदा संघ घाटामा गएको थियो । २०८०÷२०८१ मा २ करोड २५ लाख २५ लाख७३ हजार आम्दानी भई १ करोड ९२ लाख ६० हजार खर्च भएको छ । २०८१÷२०८२ मा २ करोड ३९ लाख ४१ हजार आमम्दानी भई १ करोड ७९ लाख ९३ हजार खर्च भएको छ । २०८२÷२०८३ मा २ करोड ६३ लाख ५८ हजार आम्दानी भई १ करोड ५४ लाख ५१ हजार रुपैया खर्च भएको छ । अधिबेशनको बन्द सत्रले अध्यक्ष नविन बैद्य, बरिष्ठ उपाध्यक्ष नरेन्द्र बादे श्रेष्ठ, उपाध्यक्षहरु ठाकुर गौतम र विमलकुमार श्रेष्ठ, सचिव पूर्णबहादुर श्रेष्ठ र कोषाध्यक्ष जुलियस खड्का, सह सचिव अजय कार्की निर्विरोध भए ।