बनेपा/अरनिको राजमार्गअन्तर्गत बनेपाको तीनदोबाटोदेखि चारदोबाटो चोकसम्मको सडक विस्तारका क्रममा स्थानीय बासिन्दाले सडकको डिजाइन, ढल निकास, चोक व्यवस्थापन तथा ऐतिहासिक सम्पदाको संरक्षणमा विशेष ध्यान दिन माग गरेका छन् ।
स्थानीय बासिन्दाले सडक विस्तार आयोजनाका प्रमुख तथा सम्बन्धित निकायलाई ध्यानाकर्षणपत्र बुझाउँदै प्रस्तावित सडकखण्ड निर्माण गर्दा विद्यमान सडकको सतह कायम गर्नुपर्ने, प्राकृतिक पानीको बहाव नरोकिने गरी निकासको व्यवस्था गर्नुपर्ने र स्थानीय बस्ती तथा सांस्कृतिक सम्पदामाथि प्रतिकूल असर नपर्ने गरी आयोजना अघि बढाउन आग्रह गरेको स्थानीय भुवन मानन्धरले बताए । ध्यानाकर्षणपत्रमा तीनदोबाटो–चारदोबाटो खण्ड पूर्ण रूपमा सपाट र बाक्लो बस्ती भएको क्षेत्र भएकाले सडकको उचाइ बढाउँदा स्थानीय घर तथा व्यवसायमा समस्या आउन सक्ने उल्लेख छ । सडक विस्तारका क्रममा बनेपाको मौलिक सौन्दर्य र स्थानीय व्यापार–व्यवसायसमेत प्रभावित नहुने गरी ‘एक्जिस्टिङ लेभल’ कायम गर्न माग गरिएको छ ।
स्थानीयले विशेषगरी ढल तथा सतहको पानी निकासलाई गम्भीर विषयका रूपमा उठाएका छन्। ध्यानाकर्षणपत्रअनुसार परापूर्वकालदेखि बनेपाको प्राकृतिक पानी उत्तर–दक्षिण हुँदै पुण्यमाता खोलामा मिसिने गरेको छ । तर सडकको सतह बढाएर निर्माण गर्दा पानी थुनिने तथा विभिन्न क्षेत्रमा डुबान र पोखरी बन्ने जोखिम रहेको भन्दै हालको डिजाइन पुनरावलोकन गर्न माग गरिएको छ ।
स्थानीयले चारदोबाटोबाट धनेश्वरको रातो पुलतर्फ, चाँदनी चोकबाट पुण्यमाता खोलातर्फ, टेलिकम चोकबाट ल्याण्डफिल्ड क्षेत्र हुँदै पुण्यमाता खोलातर्फ तथा तीनदोबाटोबाट दक्षिणतर्फ पानी निकासको उचित व्यवस्था गर्न सुझाव दिएका छन्। सडक निर्माण गर्दा उत्तर–दक्षिण क्रमअनुसार पर्याप्त क्षमताको ड्रेनेज संरचना निर्माण गरी सडकको सतह पुरानै उचाइमा कायम गर्नुपर्ने उनीहरूको माग छ । त्यस्तै, चाँदनी चोक र टेलिकम चोक क्षेत्रमा प्रस्तावित इन्टरसेक्सन डिजाइनप्रति पनि स्थानीयले प्रश्न उठाएका छन् । घना बस्ती र मुख्य बजार रहेको उत्तरतर्फको बाटो बन्द हुने गरी तथा दक्षिणतर्फ मात्र इन्टरसेक्सन राख्ने डिजाइन न्यायसंगत नभएको भन्दै राजमार्ग सुरक्षाको मापदण्ड दुवैतर्फ समान रूपमा लागू गर्न माग गरिएको छ ।
स्थानीयले बनेपा प्राचीन एवं ऐतिहासिक सहर भएकाले सडक विस्तारका नाममा यसको धार्मिक तथा सांस्कृतिक निरन्तरता नटुटाउन पनि आग्रह गरेका छन् । चाँदनी चोक र टेलिकम चोक आसपासका परम्परागत जात्रा, चाडपर्व, धार्मिक अनुष्ठान तथा परम्परागत बाटो संरक्षण गर्नुपर्ने उनीहरूको माग छ । ध्यानाकर्षणपत्रमा चारदोबाटो र तीनदोबाटोबीच पर्ने चाँदनी चोक तथा टेलिकम चोकमा उत्तरतर्फ समेत इन्टरसेक्सन राख्नुपर्ने, सडक विस्तार गर्दा स्थानीयको आवतजावत सहज बनाउनुपर्ने र भविष्यको ट्राफिक व्यवस्थापनलाई समेत ध्यान दिनुपर्ने उल्लेख छ । चारदोबाटो–पाँचखाल र तीनदोबाटो–नाला सडक स्तरोन्नतिपछि थपिने यातायातको चापलाई ध्यानमा राख्दै चोक व्यवस्थापन आवश्यक रहेको स्थानीयको भनाइ छ ।
अरनिको राजमार्गको सूर्यविनायक–धुलिखेल खण्ड ६ लेनमा विस्तार भइरहेको छ । सडक विभागका अनुसार आयोजनामा चार लेन मुख्य सडकसँगै दुवैतर्फ सर्भिस लेन निर्माणको योजना रहेको छ । यसअघि पनि बनेपा क्षेत्रमा सडक विस्तारका क्रममा स्थानीय अवरोध, सेन्टर लाइन, घर–टहरा तथा विद्युत् पोल व्यवस्थापनलगायतका विषयमा समस्या देखिएको थियो। सडक विस्तारको काम ढिलाइ भइरहेको विषयमा जनप्रतिनिधिले समेत आयोजना र निर्माण व्यवसायीसँग चासो राख्दै कामलाई गति दिन आग्रह गरेका थिए । स्थानीय बासिन्दाले विकास आवश्यक भए पनि बनेपाको भूगोल, प्राकृतिक बहाव, ऐतिहासिक पहिचान र विद्यमान बस्तीलाई बेवास्ता गरेर सडक निर्माण गरिए भविष्यमा ठूलो समस्या निम्तिन सक्ने भन्दै ‘सडक विस्तार गरौं, तर बनेपाको प्राकृतिक र साँस्कृतिक संरचना नबिगारौं’ भन्ने धारणा अघि सारेका छन् ।









