धुलिखेल/अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा धुलिखेल लज रिसोर्टमा विशेष कार्यक्रम आयोजना गरी युवाको नेतृत्व, उद्यमशीलता, नवप्रवर्तन तथा आतिथ्य क्षेत्रमा भविष्य निर्माणका सम्भावनाबारे विद्यार्थीहरूसँग अन्तरक्रिया गरिएको छ ।
कार्यक्रममा केयु ग्लेसियर विपिएचका विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो । कार्यक्रममा नेपाल युवा उद्यमी मञ्च काभ्रेका विशिष्ट अतिथि तथा प्यानल वक्ताहरूले विद्यार्थीहरूसँग प्रत्यक्ष संवाद गर्दै उद्यमशीलता, स्टार्टअपका अवसर, व्यवसाय सञ्चालनका चुनौती तथा उद्योगमा उपलब्ध सम्भावनाहरूबारे महत्वपूर्ण विचार प्रस्तुत गरे । वक्ताहरूले युवाहरूले परम्परागत करियर विकल्पमा मात्र सीमित नभई आफ्नै व्यवसाय तथा सिर्जनात्मक परियोजना सुरु गर्न सक्ने सम्भावनाबारे प्रकाश पारेका थिए ।
विशेषगरी आतिथ्य तथा पर्यटन क्षेत्र नेपालमा युवाहरूका लागि रोजगारीसँगै उद्यमशीलताको महत्वपूर्ण क्षेत्र बन्न सक्ने बताउँदै वक्ताहरूले होटल व्यवस्थापन, पर्यटन, फुड एन्ड बेभरेज, इभेन्ट म्यानेजमेन्ट तथा नयाँ प्रविधिको प्रयोगमार्फत यस क्षेत्रमा नयाँ अवसर सिर्जना गर्न सकिने धारणा राखे । विद्यार्थीहरूलाई बजारको आवश्यकता पहिचान गर्दै नवीन सोच, व्यावसायिक सीप र नेतृत्व क्षमताको विकास गर्न पनि सुझाव दिइएको थियो । कार्यक्रमका क्रममा विद्यार्थीहरूले व्यवसायिक क्षेत्रमा उद्यमी बन्ने अवसर, आतिथ्य उद्योगमा करियर निर्माणका सम्भावना तथा आफ्ना रुचि र सीपलाई व्यवसायमा रूपान्तरण गर्ने विषयमा जिज्ञासा राखेका थिए । प्यानल वक्ताहरूले विद्यार्थीका प्रश्नहरूको जवाफ दिँदै सफल उद्यमशीलताका लागि ज्ञानसँगै निरन्तर सिकाइ, जोखिम लिन सक्ने क्षमता, नेटवर्किङ, अनुशासन र व्यवहारिक अनुभव आवश्यक रहेको बताए ।
अन्तर्राष्ट्रिय युवा दिवसलाई केवल उत्सवका रूपमा नभई युवाको क्षमता, सम्भावना र जिम्मेवारीबारे छलफल गर्ने अवसरका रूपमा प्रस्तुत गरिएको थियो । विद्यार्थीहरूले पनि कार्यक्रममा सक्रिय रूपमा सहभागी हुँदै आफ्ना विचार तथा जिज्ञासा प्रस्तुत गरेका थिए । यसले उनीहरूमा आत्मविश्वास बढाउनुका साथै भविष्यमा व्यवसाय तथा आतिथ्य क्षेत्रमा केही नयाँ गर्ने प्रेरणा प्रदान गरेको सहभागीहरूको भनाइ थियो । बेलर इन्टरनेशनल एकेडेमी र युवा उद्यमी मञ्च काभ्रेको सहकार्यमा सम्पन्न कार्यक्रमले शिक्षा र व्यावसायिक क्षेत्रबीचको सम्बन्धलाई थप सुदृढ गर्ने उद्देश्यसमेत बोकेको थियो। विद्यार्थीहरूलाई कक्षाकोठामा प्राप्त ज्ञानलाई व्यवहारिक क्षेत्रमा प्रयोग गर्दै भविष्यमा नेतृत्वदायी भूमिका निर्वाह गर्न प्रोत्साहित गरिएको विपिएच कार्यक्रम संयोजक अनुप विष्टले जानकारी दिए ।









