2026 June 05/ 01:20: 26am

क्लव फुट भएका १८ हजारभन्दा बढी बालबालिकाले पाए उपचार तथा पुनस्र्थापना
    बनेपा/अपाङ्ग बाल अस्पताल तथा पुनस्र्थापना केन्द्र, बनेपाले विश्व क्लव फुट दिवस (जुन ३) को अवसरमा बुधबार विशेष कार्यक्रम आयोजना गरी क्लव फुट दिवस मनाएको छ ।
    अस्पतालका संस्थापक डा. अशोक बाँस्कोटाको परिकल्पनाअनुसार ४२ वर्षअघि स्थापना भएको अस्पतालले हालसम्म १ लाख २५ हजारभन्दा बढी बालबालिकाको उपचार गरिसकेको जनाएको छ । तीमध्ये क्लव फुट समस्या भएका १८ हजारभन्दा बढी बालबालिकाले उपचार तथा पुनस्र्थापना सेवा प्राप्त गरिसकेका छन् ।
    उपचारपछि पनि ९२ प्रतिशत बालबालिका नियमित सम्पर्कमा छन् । अस्पतालका अनुसार उपचारपछि पुनस्र्थापना भइसकेका ९२ प्रतिशत बालबालिका अझै पनि अस्पतालको नियमित सम्पर्कमा रहेका छन् । तीमध्ये अधिकांश नेपालका भए पनि करिब ८ प्रतिशत बालबालिका छिमेकी देश भारतका रहेका छन् । कार्यक्रममा बोल्दै संस्थापक डा. अशोक बाँस्कोटाले शारीरिक अपाङ्गता भएका बालबालिकालाई उपचारसँगै समुदायमा पुनस्र्थापित गराउने अस्पतालको लक्ष्य क्रमशः पूरा हुँदै गएको बताए । उनले बालबालिकाको सर्वाङ्गीण विकासका लागि अस्पतालले निरन्तर काम गरिरहेको उल्लेख गरे ।
क्लव फुट पूर्ण रूपमा निको हुने रोग ः डा. विवेक बाँस्कोटा
    अस्पतालका कार्यकारी निर्देशक डा. विवेक बाँस्कोटाले क्लव फुट समयमै उपचार सुरु गरे पूर्ण रूपमा निको हुने समस्या भएको बताए । ‘क्लव फुट भएका बालबालिकाको समयमै उपचार सुरु गरियो भने उनीहरू पूर्ण रूपमा स्वस्थ हुन सक्छन्’– उनले भने – ‘देशका पाँचवटा क्षेत्रमा सञ्चालनमा रहेका अस्पतालका क्लिनिकमार्फत उपचारसहित पुनस्र्थापना सेवा निरन्तर प्रदान भइरहेको छ ।’ प्रारम्भिक अध्ययनअनुसार नेपालमा वार्षिक करिब ८ सयभन्दा बढी बालबालिकामा क्लव फुटको समस्या देखिने गरेको छ । अपाङ्ग बाल अस्पताल तथा पुनस्र्थापना केन्द्रले मात्रै प्रत्येक वर्ष ५  सयभन्दा बढी बालबालिकाको उपचार गर्दै आएको जनाएको छ । डा. बाँस्कोटाले क्लव फुटबारे जनचेतना अभिवृद्धिको आवश्यकता औँल्याउँदै उपचारपछि अभिभावकको भूमिकासमेत महत्वपूर्ण हुने बताए ।
    ‘उपचारपछि चिकित्सकले सिफारिस गरेको विशेष जुत्ता नियमित लगाउनुका साथै फिजियोथेरापीमा ध्यान दिनुपर्छ’–उनले भने – ‘अभिभावकको निरन्तर निगरानी र सहयोगले मात्रै उपचारको पूर्ण सफलता सुनिश्चित हुन्छ ।’ उपचार तथा पुनस्र्थापनाबाट लाभान्वित कैलालीको टिकापुरकी बालिका उर्मिला विश्वकर्माले अपाङ्गता भएका बालबालिकामा आएको खुशी, आत्मविश्वास र नयाँ जीवनले आफूलाई प्रेरणा दिएको बताइन् । उनले जन्मिएलगत्तै उपचारको अवसर पाए बालबालिकाको समयमै पुनस्र्थापना सम्भव हुने उल्लेख गरिन् । 
    दिवसको अवसरमा आयोजित हाजिरजवाफ प्रतियोगितामा उर्मिला विश्वकर्मा प्रथम, रोशनी विक द्वितीय र योजना दर्जी तृतीय भएका थिए। विजेताहरूलाई अस्पतालका संस्थापक अध्यक्ष डा. दीपक बाँस्कोटा, कार्यकारी निर्देशक डा. विवेक बाँस्कोटालगायतले पुरस्कार वितरण गरेका थिए ।
    कार्यक्रममा फिजियोथेरापी विभागका प्रमुख श्यामबहादुर महर्जनले क्लव फुट र फिजियोथेरापी उपचार प्रक्रियाबारे जानकारी गराएका थिए । कार्यक्रमको सञ्चालन सुमिता श्रेष्ठले गरेकी थिइन् । 
क्लवफुट के हो ?
    क्लबफुट एक जन्मजात अवस्था हो । जसमा बच्चाको खुट्टा तल झुकेर भित्रतिर फर्किएको हुन्छ । हरेक १००० जना जन्मेका बच्चाहरुमा करीब ३ जना जतिमा क्लब फुट भएको हुन्छ । कहिलेकाहीँ यो समस्या एउटै परिवारमा धेरै बच्चाहरुमा हुनसक्छ । केटाहरु केटीहरु भन्दा बढि प्रभावित छन् । क्लब फुटको उपचार बच्चा जन्मेपछि जति सक्यो चाँडो ग¥यो त्यति नै राम्रो परिणाम देखिन्छ । भर्खर जन्मेका बच्चाका हाडहरु नरम नै हुन्छन्, तर समय बित्दै गएपछि ती हाडहरु कडा हुँदै जान्छन् र सामान्य बनाउन गा¥हो हुन्छ ।
     विश्वभरि परिचित पोन्सेटी कास्ट पद्धतिबाट जति सक्दो चाँडो उपचार गरेमा खुट्टाको विकृति सामान्य अवस्था ल्याउन सकिन्छ । जुन पद्धति प्रत्येक ५ देखि ७ दिनमा सिरियल कास्टिङ्ग लगाएर क्रमिक रुपमा विकृतिलाई मिलाउदै जान्छ । यस किसिमले ५ देखि ७ पटक सम्म सिरियल कास्टिङ्ग गर्नुपर्ने हुन्छ तर कुर्कुच्चाको माँसपेशीलाई प्लास्टरले पुरै मिलाउन नसकिने भएकोले सानो शल्यक्रिया गर्नु आवस्यक छ । शल्यक्रिया गरिसकेपछि विशेष खालको उपकरण दिन्छ । जसलाई डेनिस ब्राउन (डि.बि.) स्प्लिन्ट भनिन्छ । आवश्यकतानुसार बच्चा हिड्न थालेपछि क्लब सुज दिनुपर्दछ ।