धुलिखेल/प्राङ्गारिक खेती सम्वन्धी जिल्ला स्तरीय कार्यशाला गोष्ठीमा सरोकारवालाहरुले समस्या र समाधानका उपायका बारेमा छलफल गरेका छन् । कृषि ज्ञान केन्द्र, काभ्रेले प्राङ्गगारिक खेतिलाई बढावा दिन जिल्लामा कार्यक्रम शुरु गरेको छ ।
‘संघीय सरकार मार्फत प्रदेश ३ र ४ का जिल्लाहरुमा प्राङ्गगारिक उत्पादन प्रर्वद्धन मिसन कार्यक्रम शुरु भएको छ’–राष्ट्रिय आलु तरकारी तथा मसला बाली केन्द्रका प्रमुख डा. हरिबहादुर केसीले भने–‘नेपाल सरकार र युरोपियन युनियनको सहयोगमा यो कार्यक्रम पहिलो चरणमा परिक्षणका रुपमा दुई वटा प्रदेशमा शुरु भएको छ ।’ काभ्रे जिल्लाका लागि प्राङ्गगारिक खेतिका लागि आवेदन माग गरिएकोमा २३ जना छनौट भएका छन् । छनौटमा परेका कृषकहरुलाई प्राङ्गगारिक खेति र अनुदानका बारेमा जानकारी गराईएको छ । कृषकहरुलाई प्राङ्गगारिक खेतिका बारेमा जानकारी गराउँदै डा. हरिबहादुर केसीले तरकारी खेतिलाई ब्यापार वा नाफाका लागि खाद्य कि ? जीवनका लागि खाद्य भन्ने बहस शुरु भएको बताए । ‘परनिर्भरता, वातावरणीय समस्या, विग्रदो माटोको अवस्था, जैविक विविधतामा ह्रास, स्थानीय प्रविधिको ह्रास, हरित गृह ग्याँस उत्र्सजन बृद्धि, रोग किराको प्रकोपका कारण प्राङ्गगारिक खेतिमा समस्या भएको छ’–उनले भने ।
नेपालमा ९ हजार ४ सय ९३ हेक्टर जमिनमा प्राङ्गगारिक खेति भईरहेको छ । पछिल्लो समय प्राङ्गगारिक खेतिमा आकर्षण मात्रै होईन उपभोग गर्ने उपभोक्ताहरुको संख्या पनि बृद्धि भएको उनले बताए । नेपालमा सन् १९५२ मा अमेरिकाबाट औंलो नियन्त्रणका लागि भित्रिएको विषादी नै पहिलो विषादीका रुपमा लिईएको छ । त्यहाँबाट शुरु भएको विषादी प्रयोग गर्ने चलन अहिले ह्वात्तै बढेको छ । निर्वाहमुखी, टुक्रे र मौैसमी खेति भएकाले उत्पादनमा हस आएको छ । प्राङ्गगारिक खेती गर्दा उत्पादनको गुणस्तर बढाउने, उपभोक्तामा जागरुकता, रैथाने कृषि उत्पादनको माग, पोषणतत्वको महत्व, स्वास्थ्य प्रतिको सजगता, पर्यावरणीय सजगता र बैकल्पिक प्रविधिहरुको बढ्दो उपलब्धता हुनेछ । बार्षिक नेपालमा झण्डै ५ अरबको मल नेपाल सरकारले खरिद गरिरहेको छ । खरिद भएको मध्ये ८५ प्रतिशत मल तरकारीका लागि खपत भएको छ । विषादीको आयात बढिरहेको छ । प्राङ्गगारिक उत्पादन प्रर्वद्धनका लागि सरकारले मिसन बनाएरै कार्यक्रम शुरु गरिएको डा. हरि केसीले बताए ।
परिक्षण कार्यक्रम खुल्ला जमिन भएका क्षेत्रमा तथा संरक्षित संरचनामा उत्पादन गरेर सफल बनाईने रणनीति लिईएको छ । न्युन प्राथमिकता, बैकल्पिक प्रविधिको विकास र विस्तार, भ्रमहरुको निवारण गर्दा प्राङ्गगारिक तर्फ आर्कषण बढ्न सक्ने निश्कर्ष निकालिएको छ । कार्यक्रममा मसला बालि विकास केन्द्रका प्रमुख युवराज पाण्डे, कृषि ज्ञान केन्द्रका प्रमुख कृष्णभद्र अधिकारी, आलु सुपरजोनका प्रमुख दिपक पौड्याल, बागवानी अधिकृत उमेश सापकोटा लगायतले प्राङ्गगारिक उत्पादन बढाउन स्थानीय सरकारसँगको सहकार्य आवश्यक रहको बताएका थिए ।





