2026 July 29/ 02:12: 40am

    नाला/आईएसओ प्रमाणपत्र प्राप्त बनेपा नगरपालिका वडा नम्वर ४ नालामा रहेको सामुदायिक विद्यालय चण्डेश्वरी सृष्टिकान्त माध्यमिक विद्यालयले २०८२ सालको एसईई परीक्षामा दुई जना विद्यार्थी चार जिपिए सहित शतप्रतिशत उर्तिण गराउन सफल भएकोमा प्रभातफेरी कार्यक्रम आयोजना गरेको छ । 
    जिल्लाको एक मात्र सामुदायिक विद्यालयका रुपमा चण्डेश्वरी सृष्टिकान्त विद्यालयले दुई जना विद्यार्थी ४ जिपिएमा उत्तिर्ण गराएको छ । विद्यालयका शिक्षक, अभिभावक, विद्यार्थीका साथै बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्य, उपप्रमुख विमला सापकोटा, वडा अध्यक्ष एवं विद्यालय ब्यवस्थापन समिति अध्यक्ष श्यामसुन्दर श्रेष्ठ, प्रधानाध्यापक श्यामप्रसाद पाण्डेय, सहायक प्रधानाध्यापक भिमसेन हुमागाई लगायतले विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि स्थानीय सरकार, अभिभावक, सरोकारवाला निकाय, शिक्षक विद्यार्थीको अथक मेहनत रहेको बताए । ‘निरन्तरको मेहनत र उच्च ब्यवस्थापनका कारण विद्यालयले निरन्तर सफलता प्राप्त गरिरहेको छ’–अध्यक्ष श्यामसुन्दर श्रेष्ठले भने । प्रभातफेरी कार्यक्रममा पूर्व प्रधानाध्यापक तथा शिक्षकहरुको पनि सक्रिय सहभागिता रहेको थियो । विद्यालय ब्यवस्थापन समितिका पदाधिकारीहरु, सल्लाहकारहरु तथा जनप्रतिनिधि र वडाका कर्मचारीहरुको पनि कार्यक्रममा सहभागिता रहेको थियो । 
    विद्यालयका प्रधानाध्यापक श्यामप्रसाद पाण्डेयले विद्यालयले शुरु गरेको गुणस्तरीय शिक्षा प्रदान गर्ने अभियान तथा प्रतिबद्धतालाई समग्र शिक्षक र विद्यार्थीहरुका अलावा स्थानीय समुदाय र सरकारको सहयोग रहेकाले प्रतिफल प्राप्त भएको बताए । केहि वर्ष देखि प्राप्त गरेको नतिजाले विद्यालयलाई हौसला मिलेको उनले बताए । 
    नगर प्रमुख शान्तिरत्न शाक्यले विद्यालयलाई राष्ट्रिय रुपमा चिनाउन स्थानीय सरकारको तर्फबाट गर्नुपर्ने सहयोग निरन्तर रहने बताए । पूर्वाधार, शिक्षक तथा कर्मचारी ब्यवस्थापन, विद्यालय बस लगायत उपलब्ध गराउन स्थानीय सरकार समन्वय गरिरहने उनले बताए । प्रभातफेरी कार्यक्रममा विद्यालयबाट उत्कृष्ट जिपिए ल्याउने एन्जल तामाङ र रोहन गौतमलाई विशेष बधाई तथा शुभकामना ब्यक्त गरिएको थियो । 
    विद्यालयबाट सहभागी ७० जना विद्यार्थी मध्ये २ जना चार जिपिए, १३ जना ३ं.६० जिपिए भन्दा माथी ४ जिपिए भन्दा कम, २७ जना ३.२० जिपिए भन्दा माथी र ३.६० जिपिए भन्दा कम, २४ जना २.८० जिपिए भन्दा धेरै र ३.२० जिपिए भन्दा कम र ४ जना विद्यार्थीले २.४० जिपिए भन्दा धेरै नम्वर ल्याई उत्तिर्ण भएका थिए । विद्यालयको कुल औसत प्रतिशत ३.३१ रहेको प्रधानाध्यापक श्यामसुन्दर श्रेष्ठले बताए ।
    शैक्षिक सत्र २०८३ का लागि २ सय १४ जना नयाँ विद्यार्थी भर्ना भएका छन् । कक्षाकोठा र शिक्षक ब्यवस्थापन हुन नसकेका कारण थप विद्यार्थी भर्ना बन्द गरिएको अध्यक्ष श्यामसुन्दर श्रेष्ठले बताए । विद्यालय संचालनका लागि स्थानीय चन्दादाताहरुले ५० लाख भन्दा धेरै रकम कोषमा जम्मा गरिदिएका छन् । उक्त कोष १ करोड भन्दा धेरै पु¥याउने विद्यालयले लक्ष्य रहेको छ । करिब ११ सय भन्दा धेरै विद्यार्थी उक्त विद्यालयमा अध्ययन गरिरहेका छन् ।