नाला, बनेपा/कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनाल ‘बलदेव’ ले नेपालमा कृषि पेशाबाट उत्पादनमा आत्मर्निभर बन्न आगामी बजेटमा युवासँग कृषि कार्यक्रम मार्फत १ हजार युवाहरुलाई कृषिमा सहभागी गराउन लागिएको बताएका छन् ।
‘एक हजार युवाहरुलाई कृषिसँग प्रत्यक्ष सरोकार राख्ने कार्यक्रम ल्याउँदै छौं’–मन्त्री खनालले भने–‘युवाहरुलाई कृषिमा ल्याउन १ अर्ब बजेट विनियोजन गरिएको छ । कृषिलाई ब्यवसायीकरण गर्न युवाहरुलाई परिचालन गरिनेछ ।’ उक्त परियोजनाले अपाङ्गता भएर पनि कृषिमा संलग्न ब्यक्तिहरुलाई विशेष प्राथमिकता दिने मन्त्री खनालले बताए । त्यस्तै महिला र विदेश गएर फर्किएका युवाहरुलाई उक्त कार्यक्रमले समेट्नेछ । अनुदान उपलब्ध गराउँदा सबै युवाहरुलाई तालिम प्रदान गरिनेछ । ‘अनुदान उपलब्ध गराउँदा कृषकहरुको बर्गिकरण गरी परिचयपत्र उपलब्ध गराईनेछ’–उनले भने–‘आउँदो बजेटले कृषि क्षेत्रमा आमुल परिवर्तनको बाटो तय गर्नेछ ।’ सरकारले पहिलो वर्ष कृषिलाई आधारवर्षका रुपमा लिदै ५८ बुँदे आधारपत्र जारी गरेको छ ।
कृषिका लागि नेपालमा जमिनको समस्या रहेको मन्त्री खनालले बताए । पहिलो वर्ष सरकारले दुधको क्षेत्रमा गुणस्तर कायम गरेको छ । ‘सडकमा पोखिने दुधको समस्यालाई निराकरण गर्न धुलो दुध आयात बन्द गरिएको छ’–मन्त्री खनालले भने–‘नेपालमै चितवनमा बन्द भएको धुलो दुध कारखाना संचालनमा ल्याईएको छ । ६० हजार लिटर क्षमताको उक्त मेशिनले १३ हजार लिटर मात्रै धुलो दुध उत्पादन गरिरहेको छ । अझै त्यसको क्षमता बढाउँदै लैजाने छौं । दुध विकास संस्थान मार्फत दुधका परिकारहरुमा आत्मनिर्भर बन्दै गएको छ ।’ ‘कागतीमा आत्मनिर्भर बन्ने अभियान अन्र्तगत १० वटा जिल्लामा ब्यवसायिक खेति शुरु गरिएको छ । स्याउ आयात रोक्न ब्यवसायीक खेति शुरु गरिएको छ । ठुला ठुला कृषि बजार निर्माण गरिएको छ । खसी बोकामा आत्मनिर्भर बन्ने क्वारेन्टाईन चेकपोस्ट शुरु गरिएको छ’–मन्त्री खनालले भने ।
बनेपा नगरपालिका वडा नम्वर ३ का कृषक योगराज दाहालले उन्नत जातका बोका र पाठी पाउन गाह्रो भएकाले सहजताका लागि मन्त्रीको ध्यानाकर्षण गराएका थिए । मण्डनदेउपुरका गोविन्दप्रसाद नेपालले तरकारी उत्पादन भए पनि बजार मुल्य र बजार नपाएको गुनासो राखे । पाँचखालका रामप्रसाद कोईरालाले उत्पादनले विचौलियाका कारण अन्र्तराष्ट्रिय क्षेत्रमा प्रतिस्पर्धा गर्न नसकेको बताए । धुलिखेलका सिताराम भट्टराईले कृषि सहकारी मार्फत अनुदान वितरण गर्न सुझाव दिए । लगानीकर्ताले भन्दा विचौलियाले उत्पादनको मुल्य प्राप्त गरेको बताए । कृषकहरुका प्रश्नको जवाफ दिदै मन्त्री खनालले जिल्लामा क्यानिङ्ग उद्योग, गोदामघरको स्थापना गर्ने प्रकृया अगाडि बढाएको बताए । कृषकहरुले कृषिलाई उत्पादनसँगै उद्योगमा जोड्न अनुरोध गरेका थिए । कृषक हरि खतिवडाले अनुदानको प्रभावकारी अनुगमन र सदुपयोग हुनुपर्ने बताए । पुष्प ब्यवसायी भोजराज तिमल्सिनाले खेतिको वीमामा ध्यान दिन अनुरोध गरे । कृषि ऋण र वीमाको समस्याले कृषकहरुले हैरानी ब्यहोर्नु परेको भोजराज तिमल्सिनाले बताए । पुष्प ब्यवसायी संघका अध्यक्ष विरेन्द्र श्रेष्ठले फुल उत्पादन नीति राम्रो नहुँदा नेपालका ब्यवसायीहरुले समस्या ब्यहोर्नु परेको बताए । आयात रोक्न कडाई नहुँदा फुल ब्यवसायीहरुले उत्पादन गरेका नेपाली फुलहरु विक्री नभएको उनले बताए । गत वर्ष आएको हावाहुरी र असिनापानीका कारण पीडित भएका कृषकहरुले राहत नपाएको बताए । अनेकोटका कृषक कृष्ण श्रेष्ठ, जसोदा सापकोटा लगायतले कृषि पेशामा भएका समस्याका बारेमा मन्त्रीलाई गुनासा राखेका थिए ।
कृषि तथा पशुपन्क्षी विकास मन्त्रालय प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन ईकाई आलु सुपरजोन ईकाई मार्फत बनेपा नगरपालिकाको वडा नम्वर ४ नालामा आयोजना गरिएको कृषकसँग कृषि मन्त्री कार्यक्रमको पहिलो श्रृंखलामा कृषि मन्त्री र कृषक बीच अन्र्तकृया भएको हो । ७ वटै प्रदेशमा आयोजना गरिने उक्त कार्यक्रम नेपाल टेलिभिजनमा साप्ताहिक रुपमा साँझको ८.५० देखि ९.३० सम्म प्रसारण हुनेछ । समृद्ध नेपाल सुखी नेपालीको परिकल्पना साकार बनाउन कृषकसँग खेतबारीमै पुगेर समस्या संकलन गरी नीति निर्माणमा परिवर्तन गर्ने प्रमुख उदेश्य रहेको संचालक विशाल गैरेले बताए ।





