बनेपा/नेपाल पूर्व प्रहरी संगठन काभ्रेको बार्षिक साधारण सभा, आजिवन सदस्य, नयाँ वर्षको शुभकामना आदान प्रदान कार्यक्रम बनेपामा सम्पन्न भएको छ । संगठनका केन्द्रिय कार्यवाहक अध्यक्ष अवकाश प्राप्त प्रहरी अतिरिक्त महानिरिक्षक विनोद सिंहको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको अध्यक्ष जिल्ला अध्यक्ष मनोरथ आचार्यको अध्यक्षता रहेको थियो ।
कार्यक्रममा बोल्दै संगठनका कार्यवाहक अध्यक्ष नेपाल प्रहरीले प्राप्त निर्देशन र जिम्मेवारीलाई सफलतापूर्वक सम्पन्न गर्ने गरेको बताए । पुर्व प्रहरी हुनुका नाताले संगठनले पूर्व प्रहरीहरुको हक हितका लागि आवश्यक प्रवन्ध गर्न माग गरिरहेको उनले बताए । ‘औषधोउपचार, संगठित भएर सामाजिक अभियानमा सक्रिय हुन र नागरिकहरुको मन जित्ने अभियानमा संगठन सक्रिय छ’–प्रमुख अतिथी सिंहले भने–‘प्रहरीमा कार्यरत रहँदाको अनुभव, ज्ञान र सीपलाई राष्ट्र निर्माणमा लगाउन आवश्यक छ ।’ संगठनलाई अझै सक्रिय बनाउन युवाहरुलाई संगठनमा सक्रिय बनाउनु आवश्यक रहेको उनले बताए । संगठनमा २२ हजार भन्दा धेरै सदस्य रहेको उनले बताए ।
कार्यक्रमका विशिष्ठ अतिथी तथा नेपाल प्रहरीका पूर्व एआईजी रविन्द्र केसीले राष्ट्र र सरकार प्रति प्रतिबद्ध रहेको बताए । ‘नेपाल प्रहरी जहिले पनि राष्ट्र र सरकार प्रति प्रतिबद्ध छ’–उनले भने–‘सरकार बदलियो तर नेपाल प्रहरी बदलिएनौं ।’ प्रहरी कुनै दल र पार्टीको संगठन नभएकाले जहिले पनि प्रहरीले राष्ट्रको पहरेदार बनेको केसीले बताए । ‘विकासको आधार शर्त नै शान्ति सुरक्षा हो, त्यो नेपाल प्रहरीले कायम गरिरहेको छ’–उनले भने–‘पूर्व प्रहरीले नेपाल प्रहरीसँग समन्वय, सहकार्य गर्न आवश्यक छ । उनिहरुको बानी ब्यवहार र आचारणले वर्तमान संगठनलाई हेर्ने दृष्टिकोणमा असर पर्न सक्छ ।’ संगठित हुँदै प्राप्त ज्ञान र अनुभवलाई राष्ट्र निर्माणमा लगाउन केसीले पूर्व प्रहरीलाई अनुरोध गरे ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रे शाखाका पूर्व अध्यक्ष मोतीराम तिमल्सिनाले नेपाल प्रहरीले समाजका सबै क्षेत्रलाई बुझेकाले पूर्व प्रहरी संगठन मार्फत त्यसको अनुसरण र कार्यान्वयन गर्न आवश्यक रहेको बताए । पूर्व हुने वित्तिक्कै वर्तमान अवस्थामा प्राप्त जिम्मेवारी, संगठन भित्रका विविध विषयका बारेमा कायम राख्नुपर्ने गोपनियतामा कमी हुँदै गएको बताउँदै तिमल्सिनाले त्यसलाई ध्यानमा राख्न अनुरोध गरे । अध्यक्ष मनोरथ आचार्यले जिल्लामा १ सय ६० भन्दा धेरै सदस्यहरु सक्रिय रहेको र तीनवटा पालिकामा संगठन निर्माण भएको बताए । सामाजिक उत्तरदायित्व बहन गर्दै संगठनलाई सक्रिय बनाएको बताउँदै उनले राष्ट्रका लागि पूर्व प्रहरीहरु सक्रिय हुने स्पष्ट पारे ।
सह–सचिव कुलप्रसाद बजगाईले संचालन गरेको कार्यक्रममा इलाका प्रहरी कार्यालय बनेपाका डिएस्पी रामेश्वर त्वाँती, संगठनका महाचिव रोवर केसी, बागमती प्रदेशका सह कोषाध्यक्ष रामचन्द्र नेपाल लगायतको सहभागिता रहेको थियो । साधारण सभाको बन्द सत्रले संगठनको बार्षिक प्रतिवेदनहरु सर्वसम्मतले पास गरेको छ । भलाई कोषको गठन र निरन्तरता, त्यसका उद्देश्य र योजना तथा सांगठनिक संरचनाको सक्रियता लगायतका विषयमा साधारण सभामा छलफल भएको थियो ।





