2026 April 20/ 07:15: 17am

           बेथान्चोक/बेथान्चोक गाउँपालिकामा खानी तथा क्रसरजन्य चारवटा उद्योग संचालनमा रहेका छन् । अनुमति नभई संचालनमा आएको एउटा उद्योग बन्द अवस्थामा छ । संचालनमा रहेका उद्योगहरुले खोला किनारमा थुपारेको प्रयोगमा नआउने सामाग्री एक महिना भित्र हटाउने प्रतिबद्धता ब्यक्त गरेका छन् । 
    ‘बेथान्चोकमा संचालनमा रहेका खानी तथा क्रसर उद्योगहरुले सार्वजनिक जग्गा, वन तथा खोला क्षेत्र अतिक्रमण गरिरहेको गुनासो आए पछि वन, स्थानीय सरकार र सरोकारवाला निकायले अनुगमन गरेको थियो’–जिल्ला समन्वय समिति काभ्रेका प्रमुख एवं अनुगमन समितिका संयोजक दिपककुमार गौतमले भने–‘अनुगमन समितिका तर्फबाट प्राप्त प्रतिवेदन उपर छलफल गरी आवश्यक निर्णय गरिएको छ ।’ 
    बेथान्चोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीको अध्यक्षतामा सम्पन्न बैठकले उद्योगहरुले खोला किनारमा थुपारेको खेर जाने सामाग्री एक महिना भित्र हटाउने निर्णय गरेको छ । ‘खोला क्षेत्रमा रहेको खेर जाने सामाग्री हटाउने, घेराबार, बस्ति संरक्षण, वातावरण संरक्षणमा ध्यान दिने निर्णय भएको छ’–अध्यक्ष अधिकारीले भने–‘खानी र उद्योगका कारण वर्षातको समयमा क्षति हुन नदिन स्थानीय सरकार र ब्यवसायी सचेत छौं । निर्णय तत्काल कार्यान्वन हुनेछ ।’ 
    समन्वय समिति प्रमुख दिपककुमार गौतमले दर्ता अनुमति भएका बाहेक अन्य उद्योगहरु संचालन नहुने बताए । उद्योगहरुले अनुमति लिँदा ब्यक्त गरेका शर्तहरुको पूर्ण पालना गर्न तथा धुलो र खेर जाने सामाग्रीको उचित ब्यवस्थापनका लागि ध्यान दिन प्रमुख गौतमले अनुरोध गरे । 
    प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले खोला क्षेत्रमा भएको अवरोध तत्काल हटाउन निर्देशन दिए । वातावरणलाई स्वच्छ राख्न, खोला क्षेत्र ओगटेर राखिएको सामाग्री हटाउन तथा ब्यवसायीहरुले पुरा गर्नु पर्ने शर्तहरु पालना गर्न प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले निर्देशन दिए । 
    गाउँपालिका उपाध्यक्ष तारा राना तिमल्सिनाले उद्योगहरुले स्थानीय सरकारलाई विपदमा सहयोग गरेको स्मरण गराउँदै उद्योगहरुले पालना गर्नु पर्ने शर्तहरु पुरा गर्न, वातावरण संरक्षण गर्न र खोला क्षेत्र तथा सार्वजनिक क्षेत्रको संरक्षणमा ध्यान दिन अनुरोध गरिन् । 
    गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारीले उद्योग संचालनका लागि लिएको अनुमति, उत्पादनका लागि प्राप्त क्षेत्रफल, उत्पादित सामाग्रीको ठेक्का तथा दररेट, वातावरण संरक्षणका लागि स्थानीय सरकारले गरेको प्रयासका बारेमा जानकारी गराएका थिए । 
    सव डिभिजन वन कार्यालय खोपासी प्रमुख पवित्रा तिमल्सिनाले जिल्ला अनुगमन समिति र गाउँपालिकाको समन्वयमा बेथान्चोकमा रहेका पाँचवटा उद्योगको अनुगमन गरिएको बताईन् । उद्योगहरुले चर्चेको जमिन, उत्पादनका लागि अनुमति पाएको क्षेत्रफल र खोला तथा सार्वजनिक स्थानको अवस्थाका बारेमा अध्ययन गरेको प्रतिवेदन प्रस्तुत गरेकी थिईन् । 
    वातवरण परिक्षण प्रतिवेदनले तोके बमोजिमको मापदण्ड अक्षरस पालना गर्न अनुरोध गरेकी थिईन् । प्रारम्भिक अनुसन्धान तथा फिल्ड जाँचबुझबाट काभ्रेपलाञ्चोक जिल्ला बेथानचोक गा.पा.वडा नं. ४ (साविक चलाल गणेस्थान गा.वि.स. वडा नं २, ६ , ८ र ९) मा संचालित उद्योगहरुले उद्योग संचालन गर्ने क्रममा खोला र दर्ता नभएको जग्गामा समेत उद्योग सचालन गरिरहेको उनले बताईन् । बैठकले दर्ता नभएको जग्गामा उद्योग संचालन नगर्न निर्देशन दिएको छ । उद्योगले भने २०३४ सालसम्म तिरो तिरेको जग्गा छुट दर्ताका लागि आवेदन दिएकाले दर्ता प्रकृयामा रहेको बताए । 
    चलाल गणेशस्थान खनिज उद्योग प्रा. लि., रामकृष्ण निर्माण सेवा, चलाल गणेश रोडा ढुंगा उद्योग प्रा. लि., आर एस चलाल ईण्डष्ट्रिज प्रा. लि., चण्डेश्वरी क्रसर उद्योगको अनुगमन गरिएको थियो । ब्यवसायीहरुले आफ्नो तर्फबाट भएका कमजोरिहरु सच्याउनको लागि ३ (तिन) महिना समय माग गरेका थिए । तर प्रशासन र स्थानीय सरकारले एक महिनाको समयवाधी दिएको छ । सम्बन्धित निकायले दिएको निर्देशन तथा मापदण्ड पालना गर्न प्रतिबद्ध रहेको र खोला क्षेत्रको काम नलाग्ने सामाग्री तत्काल हटाउन तयार रहेको प्रतिवद्धता ब्यक्त गरेका थिए । 
अनुगमन पछि कुन उद्योगको अवस्था कस्तो ? 

चलाल गणेशस्थान खनिज उद्योग
– हालसम्म निजि हकभोगको कित्ताहरुमा मात्र उत्खनन् कार्य भएको तर उक्त कार्यबाट निस्किएको डस्ट खोलाको किनारामा थुपारि खोला अतिक्रमण गरेको ।
– उत्खनन् गरिएका कित्ताहरु : साविक चलालगणेश वडा नं २ काः  १३, १४ र १६
– डस्ट थुपारेर अतिक्रमण गरिएका खोलाका कित्ताहरुः १५ र ५३
– अतिक्रमित क्षेत्र लगभग ०.५ हेक्टर
 

रामकृष्ण निर्माण सेवा उद्योग
– हालसम्म निजि हक भोगको कित्ताहरुमा मात्र उत्खनन् कार्य भएको तर उक्त कार्यबाट निस्किएको डस्ट खोलाको किनारामा थुपारि खोला अतिक्रमण गरेको ।
–हाल उत्खनन् गरिएका कित्ताहरु : साविक चलालगणेशथान वडा नं ८खः  १२०, १२१ , १२३ ,१२५ , १२६, १२८ , ५१७ , ६७७ , ६७८  ६७९ र ७२०
– डस्ट थुपारेर अतिक्रमण गरिएका खोलाका कित्ताहरु ः १ र १३१ 
– अतिक्रमित क्षेत्र लगभग ०.२६ हेक्टर

चलालगणेश रोडा ढुंगा उद्योग 
– उद्योगको हालसम्मको उत्खनन् अवस्था हेर्दा निजि हकभोगको कित्ताहरु र बुट्यान क्षेत्रमा भएको र उक्त कार्यबाट निस्किएको डस्ट खोलाको किनारामा थुपारि खोला समेत अतिक्रमण गरेको ।
– हाल उत्खनन् गरिएका कित्ताहरु ः साविक चलालगणेशथान ८ ख का ः ३१,३२, ८३ , ८७ , ८८ , ८९, ३१६, ३४१, ३४२, २४३, ३४४, ३४७, ५१६ र ५९९ 
– डस्ट थुपारेर अतिक्रमण गरिएको खोला कित्ता न ः १८२
– फिल्ड बुकमा बुट्यान लेखिएको अतिक्रमित क्षेत्र लगभग ५.५ हेक्टर

चण्डेश्वरी क्रसर उद्योग 
– क्रसर मेसिन जडान निजि हकभोगको कित्ताहरुमा मात्र भएको तर उक्त क्रसर मेसिनमा प्रयोग गरिएको जस्ताको पाताले खोलाको केहि भाग ओगटेको र क्रसरको सामान ढुवानी गर्ने सवारी साधन टिपरले खोला र बाटो अतिक्रमण गरेको ।
– हाल प्रयोग गरिएका कित्ताहरु ः साविक चलालगणेशथान ८ख काः ७ र ८ र वडा नं २ कोः ४५७
– डस्ट थुपारेर अतिक्रमण गरिएको खोला कित्ता न ः ५३
– अतिक्रमित वन क्षेत्रको कित्ता ः ४५७ 
– अतिक्रमित क्षेत्रफल लगभग ०.५ हेक्टर

आर एस खानी तथा उद्योग (हाल बन्द) 
– क्रसर र खानी हालसम्म निजि हकभोगको कित्ताहरुमा मात्र भएको तर उक्त कार्यबाट निस्किएको डस्ट खोलाको किनारामा थुपारि खोला अतिक्रमण गरीएको ।
– डस्ट थुपारेर अतिक्रमण गरिएको खोलाको कित्ता न ः १८२
– अतिक्रमित क्षेत्रफल लगभग ०.३६ हेक्टर