धुलिखेल/धुलिखेल नगरपालिकाले स्थापनाको ४० औं स्थापना दिवस सम्पन्न भएको छ । नगरपालिकाका कार्यवाहक प्रमुख निराजन जंगमको अध्यक्षतामा सम्पन्न कार्यक्रमको शुभारम्भ पञ्चकन्याहरुले गरेका थिए । स्वास्थ्य शाखा प्रमुख सन्दिप केसीको संचालनमा सम्पन्न कार्यक्रममा सामाजिक शाखा संयोजक तथा वडा अध्यक्ष गणेश आचार्यले स्वागत गरेका थिए । आचार्यले निर्वाचन लगायतका विषम परिस्थितीका कारण स्थापना दिवसलाई भब्य बनाउन नसके पनि नगरपालिकाको स्थापना देखि हालसम्म विभिन्न ढंगबाट योगदान पु¥याउनेहरुको स्मरण गरे । नगरपालिकाका पुर्व प्रमुख अशोक ब्याञ्जुको कार्यकालमा राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा प्राप्त पुरस्कार तथा सम्मानहरुको स्मरण गराउँदै संस्थापक नगर प्रमुख बेलप्रसाद श्रेष्ठ लगायतका संस्थापकहरुको स्मरण गराए ।
कार्यक्रममा कार्यवाहक नगर प्रमुख निराजन जंगमले धुलिखेलको इतिहास कायम राख्न आफु सक्दो प्रयत्न गर्ने बताए । स्थापना दिवसको अवसर पारी जनसेवा श्री सम्मानबाट कालिका मावीका रञ्जितकुमार राई र कृषि शाखा प्रमुख रविना घिमिरे तिमल्सिना सम्मानित भए । दीर्घ सेवा सम्मानबाट डिकबहादुर राई, भवानीकुमारी मिश्र र अम्बिका ओझा दाहाल सम्मानित भए । साथै निवन्ध प्रतियोगितामा उत्कृष्ट भएका विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो । कार्यक्रमममा प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद मरासिनीले धुलिखेलको इतिहासलाई कायम राख्न निरन्तर सक्रिय रहनु पर्ने बताए । कार्यक्रममा वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, कर्मचारीहरु, विद्यालयका शिक्षक तथा कर्मचारीहरुको सहभागिता रहेको थियो ।





