2026 April 30/ 10:11: 47am

विकास तिमल्सिना
बनेपा

    ४२ वर्ष ६ महिना एउटै विद्यालयमा सेवा गरी उमेरहदका कारण अनिवार्य अवकाश प्राप्त गरेका शिक्षक हरिप्रसाद घिमिरेलाई १२ घण्टा लगाएर भव्य रूपमा सम्मान तथा विदाई गरिएको छ। विद्यालयमा आफूले गरेको योगदान अझै अपूरो रहेको सम्झँदै पूर्व प्रधानाध्यापक घिमिरेले विद्यालयका लागि ५ आना ३ दाम जग्गा समेत दान गरेका छन्।
    बेथान्चोक गाउँपालिका वडा नम्बर १, साविक च्याम्राङबेशीस्थित चक्रेश्वर माध्यमिक विद्यालयमा २०४० साउन १६ गते नियुक्त भएका घिमिरे २०८२ माघ ३ गते अवकाश भएका थिए। अवकाश प्राप्त पूर्व प्रधानाध्यापक घिमिरेलाई आइतबार बिहान ६ बजेदेखि सम्मान तथा विदाई कार्यक्रम सुरु गरिएको थियो । निरन्तर चलेको कार्यक्रम साँझ ६ बजे उहाँको निवास बनेपामा पुगेर समापन गरिएको थियो।
    च्याम्राङबेशीस्थित विद्यालयबाट ३३ किलोमिटर टाढा बनेपामा रहेको निवाससम्म बस रिजर्भ गरी वडा अध्यक्ष मधुसुदन तिमल्सिनाको नेतृत्वमा बाजागाजासहित स्थानीयहरू विदाईमा सहभागी भएका थिए। बनेपाको नाला दोबाटोदेखि करिब १ किलोमिटर सडक यात्रामा बाजागाजासहित पूर्व प्रधानाध्यापक घिमिरेको सम्मानमा ¥याली निकालिएको थियो। भव्य ¥यालीसहित घिमिरेलाई गृह प्रवेश गराइएको थियो।
    च्याम्राङबेशीका विभिन्न स्थानमा उहाँलाई बाजागाजासहित परिक्रमा गराइएको थियो। उहाँको विदाई समारोहमा बेथान्चोकका विभिन्न विद्यालयहरूले समेत सहभागिता जनाउँदै विद्यालय परिसर क्षेत्रमा भव्य सम्मानसहित विदाई गरेका थिए। पार्वती मावि, श्रीकृष्ण गोपाल मावि र सरस्वती माविका शिक्षक, अभिभावक तथा विद्यार्थीहरूले समेत उहाँलाई भव्य विदाईसहित सम्मान गरेका थिए। पूर्व विद्यार्थीहरू, स्थानीय संघसंस्था, वडा सरकार तथा विभिन्न क्षेत्रका व्यक्तिहरू उहाँको विदाई र सम्मानमा भावुक बनेका थिए।
    ‘शिक्षाको ज्योती फैलाउन निरन्तर चार दशकभन्दा लामो समय एउटै विद्यालयमा सेवा प्रदान गर्नु भएका आदरणीय गुरुलाई सम्मान र विदाई गर्न पाउँदा बेथान्चोकवासी नै भावुक भएका छौँ,’ वडा अध्यक्षसमेत रहेका पूर्व विद्यार्थी मधुसुदन तिमल्सिनाले भने, ‘शिक्षक र शिक्षा प्रतिको बढ्दो वितृष्णा घटाउँदै शिक्षकहरूप्रतिको सम्मान बढाउन चक्रेश्वर माध्यमिक विद्यालयले भव्य सम्मान तथा विदाई कार्यक्रम आयोजना गरेको हो।’
    तिमल्सिनाका अनुसार घिमिरेले अक्षर सिकाएका कैयौँ विद्यार्थी देश तथा विदेशका विभिन्न स्थानमा उच्च ओहदामा पुगेका छन् । विद्यालयको प्रगति, उन्नति र स्थानीयलाई ज्ञानको ज्योती फैलाउन अहोरात्र खटिँदै आएका पूर्व प्रधानाध्यापक घिमिरेको विदाईले स्थानीयहरू भावुक भएको उनले बताए । १२ घण्टा लामो विदाई तथा सम्मान कार्यक्रमपछि भावुक हुँदै पूर्व प्रधानाध्यापक हरिप्रसाद घिमिरेले भने, ‘विद्यालयलाई अझै योगदान गर्न बाँकी छ । मेरो बलबुताले भ्याएसम्म निरन्तर विद्यालयको सेवामा समर्पित रहनेछु ।’ विद्यालय तथा पूर्व विद्यार्थीहरूको सम्मानले आफू भावुक भएको बताउँदै उनले भने, ‘शिक्षाको उज्यालो ज्योती छर्ने अभियानमा विभिन्न कोणबाट निरन्तर चक्रेश्वर माध्यमिक विद्यालयलाई सहयोग पु¥याउनेहरूप्रति आभारी छु । ऋणी छु । भावविभोर छु ।’ विद्यालयलाई निरन्तर सहयोग र समन्वय गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे ।
    गृह प्रवेश गराउन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुमन दाहाल, निमित्त प्रधानाध्यापक माधवप्रसाद दाहाल, शिक्षकहरू, अभिभावकहरू तथा पूर्व विद्यार्थीहरू सहभागी थिए । सहभागीहरूले च्याम्राङबेशीमा शिक्षाको ज्योती बाल्ने हरिप्रसाद घिमिरेको सधैँ सम्मान रहने र उहाँको अभाव सधैँ खट्किरहने बताएका थिए ।