– २४ सय कर्मचारी, १२ सय स्वंयसेवक
धुलिखेल/फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि धमाधम तयारी भईरहेको छ । कर्मचारी छनौटको अन्तिम तयारी गरिएको छ । छनौट भएका कर्मचारीहरुलाई तालिम सहित कार्यक्षेत्रमा खटाउने गरी तालिका बनाईएको छ ।
मतदानको ४८ घण्टा अघि नै मतदान स्थलमा कर्मचारी पुग्ने गरी आवश्यक तालिम र सामाग्री ब्यवस्थापनको तयारी गरिएको छ । निर्वाचन सम्बन्धि आचार संहिता पालनाका लागि छलफल र अन्र्तक्रिया सहित अनुगमन पनि जारी छ । सुरक्षा संवेदनशीलताका आधारमा अनुगमन र तयारी पनि गरिएको छ । नेपाली सेना पनि परिचालन भएको छ । सेनालाई सुरक्षा सम्बन्धीको जिम्मेवारी प्रदान गरिएको छ ।
जिल्लामा २ वटा निर्वाचन क्षेत्र, १ सय ८९ वटा मतदान स्थल, ४ सय वटा मतदान केन्द्रमा मतदान गर्ने ३ लाख २६ हजार ६ सय ११ मतदाताका लागि २४ सय कर्मचारी र १२ सय स्वयंसेवक खटिने छन् । प्रत्येक मतदान केन्द्रमा एक जना मतदान अधिकृत, एकजना सहायक निर्वाचन अधिकृत, ३ जना सहायक निर्वाचन अधिकारी र सहयोगी १ जना रहनेछन् भने ३ जना स्वयंसेवक स्थानीय स्तरमा मतदान अधिकृतले नियुक्ति गर्नेछन् । ५ सय भन्दा धेरै मतदान केन्द्र भएका स्थानमा ३ जना स्वयंसेवक र कम भएका मनदान केन्द्रम २ जना स्वयंसेवक नियुक्ति गर्ने मापदण्ड कायम गरिएको छ ।
निर्वाचनका लागि नेपाल प्रहरी र मातहत रहने निर्वाचन प्रहरी, शशस्त्र प्रहरी र नेपाली सेना खटिनेछन् । २४ सै घण्टा मतदाता, मतदानस्थल र मतदान केन्द्रको निर्वाचनका लागि गस्ति हुनेछ भने निर्वाचन प्रहरी विशेष गरी मतदान स्थल र केन्द्रमा खटिनेछन् । जिल्लामा २ हजार २ सय ६९ जना निर्वाचन प्रहरी खटिनेछन् । ११ सय २२ नेपाल प्रहरी र ५ सय भन्दा धेरै शशस्त्र प्रहरी खटिने छन् । जिल्ला प्रहरी प्रमुख एसपी कोमल शाहले निर्वाचनमा खटिने सुरक्षा, एकीकृत सुरक्षा योजना तथा निर्वाचन प्रहरीको परिचालन, निर्वाचन अघि, निर्वाचनको समयमा र निर्वाचन सकिए पछिको अवस्थालाई एकीकृत निर्वाचन सुरक्षा योजना निर्माण गरी कार्यान्वयन शुरु गरिएको बताए । काभ्रेमा १ लाख ६७ हजार ४ सय ९९ पुरुष, १ लाख ५९ हजार १ सय १० महिला, अन्य २ मतदाता छन् ।
निर्वाचन सामाग्री तयारी
निर्वाचनका लागि आवश्यक पर्ने निर्वाचन सामाग्री तयारी गरिएको छ । जिल्ला निर्वाचन कार्यालय काभ्रेले तयार गर्ने सामाग्रीको पोको बनाउने कार्य शुरु भएको छ । ३७ प्रकारका सामाग्री मध्ये ७ प्रकारका अस्थायी र २९ प्रकारका स्थायी खालका सामाग्री तयार गरिएको छ । २९ प्रकारका सामाग्री खरिदका लागि खाद्य संस्थानसँग सम्झौता गरिएको छ । निर्वाचनमा कर्मचारी खटिने क्रममा उक्त सामाग्रीको पोको सँगै लैजाने छन् ।





