2026 July 31/ 04:29: 32pm

    बनेपा/काभ्रे जेसीज, काभ्रे लेडी जेसीज र बनेपा जुनियर जेसीजको संयुक्त पद हस्तान्तरण कार्यक्रम बागमति प्रदेशका सामाजिक विकास मन्त्री कञ्चन चन्द्र वादेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । कार्यक्रममा बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्य, जेसीज राष्ट्रिय अध्यक्ष सिनेटर जीवन कार्की, पत्रकार महासंघ काभ्रेका अधयक्ष विनोद कुमार न्यौपाने, बनेपा जुनियर जेसीज वर्ष २०२५ की अध्यक्ष श्रीया मानन्धर, काभ्रे लेडी जेसीज अध्यक्ष रबिना सेवाचार्य, काभ्रे जेसीज अध्यक्ष सिनेटर पुजन महर्जन लगायत जेसीका विभिन्न जिम्मेवारीमा रहेका व्यक्तिहरुको उपस्थिती रहेको थियो ।
    वर्ष २०२६ का लागि काभ्रे जेसीज अध्यक्ष स्वरुप शाक्य, काभ्रे लेडी अध्यक्ष मनिका शाक्य, काभ्रे जुनियर जेसीज अध्यक्ष श्रीजल रंजितलाई वर्ष २०२५ का अध्यक्ष मार्फत सपथ ग्रहण, माला हस्तान्तरण, कदरपत्र, मायाको चिनो वितरण गरिएको थियो । कार्यक्रममा समाजका विभिन्न क्षेत्रमा योगदान गर्ने विभिन्न व्यक्तित्वहरुलाई पुरस्कार घोषणा तथा सम्मान गरिएको छ ।
    कार्यक्रममा प्रमुख अतिथी सामाजिक विकास मन्त्री कञ्चन चन्द्र वादे श्रेष्ठले जेसीज नेतृत्व विकासका लागि महत्वपूर्ण थलोको रुपमा स्थापित भएको बताए । जेसीजमा आबद्ध युवा समाज परिवर्तनमा अग्रपंक्तिमा रहेको उनले बताए । समाज रुपान्तरण, सकारात्मक सोच विकास, अनुशासन र सेवाभाव विकास गर्न जेसीजले महत्वपूर्ण भूमिका खेलेको उनले बताए । नगर प्रमुख शान्तिरत्न शाक्यले जेसीज विकासको साझेदारको रुपमा रहेको उल्लेख गर्दै युवा सशक्तिकरणमा महत्वपूर्ण काम गरिरहेको बताए ।
    कार्यक्रममा वर्ष २०२५ का अध्यक्षहरुले जेसीज मार्फत नेतृत्व विकास, सामाजिक उत्तरदायित्व र देश निर्माणमा खेलेको भूमिकाका बारेमा आफ्नो धारणा राखेका थिए । कार्यक्रममा सहभागीहरुले शुभकामना मन्तव्य व्यक्त गर्दै जेसीजले समाज रुपान्तरणमा खेलेको भूकाका बारेमा बताएका थिए ।