बनेपा/चण्डेश्वरी सृष्टिकान्त माध्यमिक विद्यालयमा शैक्षिक प्रदर्शनी आयोजना गरिएको छ ।
सिकाईलाई व्यवहारिक र दिगो बनाउने उद्देश्यका साथ आयोजना गरिएको शैक्षिक प्रदर्शनी बनेपा नगरपालिकाका नगर प्रमुख शान्तिरत्न शाक्य, उप–प्रमुख विमला सापकोटा दाहाल, बनेपा–४ का वडा अध्यक्ष एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्यामसुन्दर श्रेष्ठ लगायत छिमेकी विद्यालयका शिक्षक, विद्यार्थीहरुले अवलोकन गरेका छन् ।
शैक्षिक प्रदर्शनी अवलोकन गर्दै नगर प्रमुख शाक्यले विद्यार्थीको सिर्जनशीलता, व्यवहारिक ज्ञान र अनुसन्धानमुलक सोचको विकासमा प्रदर्शनी महत्वपूर्ण रहेको बताए । उनले उक्त सिर्जनात्मक कार्यक्रमलाई निरन्तरता दिन पनि आग्रह गरेका छन् । चण्डेश्वरी सृष्टिकान्त मावि आइएसओ मान्यता प्राप्त देशकै पहिलो विद्यालय बन्न सफल भएकोमा उनले विद्यालय परिवारलाई बधाई ज्ञापन गर्दै गुणस्तरीय शिक्षाका लागि निरन्तर लाग्न अनुरोध गरे । नगरपालिकाले पनि गुणस्तरीय, प्रविधिमैत्री र व्यवहारिक शिक्षमा जोड दिएको भनाई छ । उप–प्रमुख विमला सापकोटा दाहालले पुस्तकको ज्ञानलाई सीपसँग जोडेर प्रदर्शन गर्दा ज्ञानको तह फराकिलो बन्ने बताइन् । शिक्षक, विद्यार्थी, अभिभावक र स्थानीयबीचको सम्बन्धलाई प्रगाढ बनाउन पनि शैक्षिक प्रदर्शनी महत्वपूर्ण हुने उनले बताइन् । वडा अध्यक्ष एवं विद्यालय व्यवस्थापन समिति अध्यक्ष श्यामसुन्दर श्रेष्ठले कक्षाकोठाभित्र पुस्तकमा सिकेको ज्ञानलाई व्यवहारिक रुपमा समुदायसम्म पुर्याउन प्रदर्शनीले सघाएको बताए । प्रधानाध्यापक श्यामप्रसाद पाण्डेले विद्यार्थीको सिकाई उपलब्धि, प्रतिभा र सिर्जनात्मक क्षमता प्रस्फुटनका लागि शैक्षिक प्रदर्शनी आयोजना गरेको जानकारी दिए । शैक्षिक उपलब्धि वृद्धिमा शैक्षिक प्रदर्शनीको महत्वपूर्ण भूमिका रहने उनको भनाई थियो ।
प्रदर्शनीमा विज्ञान, गणित, नेपाली, सामाजिक विषयसँग सम्बन्धित विविध क्रियाकलाप समेटिएको सहायक प्रधानाध्यापक भीमसेन हुँमागाँईले बताए । साँस्कृतिक परम्परा, दैनिक जीवन र समसामयिक विषयसँग सम्बन्धित विषय पनि विद्यार्थीले प्रस्तुत गरेका छन् । धिमे बाजा, नेपालमा प्रचलित बजाहरु मुरली, बाँसुरी, सारंगी, मादल, परम्परागत पहिरनहरु, हातहतियार, स्थानीय उत्पादनबाट बनेका परम्परागत सामाग्री डोको, नाम्लो, प्रदर्शनीमा राखिएको थियो । रैथाले खाद्यान्न बालीहरु पनि विद्यार्थीले प्राथमिकताका साथ प्रदर्शनीमा राखेका थिए ।
कक्षा ८ मा अध्ययनरत विद्यार्थीहरुले समसामयिक घटनाहरुसँग सम्बन्धित विषय बारे जानकारी गराएका छन् । जेनजी आन्दोलन अघिको संसद् भवन र पछि जलेको भवनलाईसँगै राखेर उनीहरुले आन्दोलनको व्याख्या गरेका छन् । संसद् नियम, कानुन बनाउने थलो भएकाले प्राथमिकतामा राखिएको र परिवर्तनको आन्दोलन भएकाले जेनजी आन्दोलनलाई जोडिएको उनीहरुले बताए ।





