धुलिखेल/जिल्ला निर्वाचन कार्यालय काभ्रेपलाञ्चोकले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन र माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि भएको तयारीका सन्र्दभमा सरोकारवाला निकायसँग अन्र्तक्रिया गरेको छ ।
प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा निर्वाचन अधिकारी दिनेश शिवाकोटीले निर्वाचन तयारी र अवस्थाका बारेमा जानकारी गराएका थिए । मुख्य निर्वाचन अधिकृत प्रेमप्रसाद न्यौपानेले निर्वाचन कार्यालय स्थापना, उम्मेदवारी मनोनयन तालिका र मनोनयन पत्र, मतदान र मतगणनामा प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणाली, उम्मेदवारको योग्यता लगायतका विषयमा जानकारी गराएका थिए । माघ २ गते मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना हुनेछ । शिक्षा तालिम केन्द्र धुलिखेलमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन क्षेत्र नम्वर २ को कार्यालय स्थापना हुनेछ भने पनौती नगरपालिका कार्यालयमा निर्वाचन क्षेत्र नम्वर १ को कार्यालय स्थापना हुनेछ । माघ ६ गते विहान १० बजे देखि ५ बजेसम्म उम्मेदवारी दर्ता हुने कार्यतालिका छ ।
जिल्ला प्रहरी प्रमुख एसपी कोमल शाहले निर्वाचनमा खटिने सुरक्षा, एकीकृत सुरक्षा योजना तथा निर्वाचन प्रहरीको परिचालन, निर्वाचन अघि, निर्वाचनको समयमा र निर्वाचन सकिए पछिको अवस्थालाई एकीकृत निर्वाचन सुरक्षा योजना निर्माण गरी कार्यान्वयन शुरु गरिएको बताए । जिल्लामा ११ सय १५ नेपाल प्रहरी, ३ सय ५० शशस्त्र प्रहरी र २२ सय ६९ निर्वाचन प्रहरी प्रत्यक्ष परिचालन हुनेछन् भने नेपाली सेना आवश्यकताका आधारमा परिचालन हुनेछ ।
नेकपा एमालेका अध्यक्ष राजन भुर्तेलले आचार संहिताको पूर्ण पालना र स्वच्छ तथा निश्पक्षता सहितको निर्वाचनको वातावरण बनाउन अनुरोध गरे । निर्वाचनका लागि जेल फोडेर भागेका कैदीहरु, लुटिएका हतियारहरु र अराजक समुह सुरक्षा चुनौती रहेको बताउँदै त्यसको प्रत्याभूतीका लागि मतदाता, उम्मेदवार र राजनीतिक दलहरु विश्वस्त हुनु पर्ने अध्यक्ष भुर्तेलले बताए । कार्यक्रममा रास्वपाका जिएन सापकोटाले निर्वाचन धाँधली रहित र निश्पक्ष हुनु पर्नेमा जोड दिए । सहभागी राजनीतिक दलका अन्य प्रतिनिधिहरुले आचार संहिताको पूर्ण पालनामा जोड दिए ।
मुख्य निर्वाचन अधिकृत प्रेमप्रसाद न्यौपानले विगतका निर्वाचनहरुमा भन्दा यो पटकको निर्वाचनमा निर्वाचन आचार संहिता कडाईका साथ पालना गरिने बताए । कार्यक्रममा निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीबक्ता टिकाभुषण घिमिरे, सुरक्षा निकायका प्रमुखहरु, राजनीतिक दलका प्रतिनिधिहरु, जनप्रतिनिधिहरु, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष विनोद न्यौपाने लगायतको सहभागिता रहेको थियो । प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारीले सबै पक्षको समन्वय र सहकार्यमा निर्वाचन निश्पक्ष र शान्तिपूर्ण हुनेमा विश्वस्त रहन आग्रह गरे । काभ्रेपलाञ्चोक जिल्लामा २ वटा निर्वाचन क्षेत्रमा ३ लाख २६ हजार ६ सय ११ मतदाता छन् । क्षेत्र नम्वर १ मा १ लाख ६१ हजार १ सय र क्षेत्र नम्वर २ मा १ लाख ६५ हजार ५ सय ११ मतदाता कायम छन् ।





