२०८२ भदौ २४ पछि सुस्ताएको काँग्रेस अन्ततः चार महिना पछि फुटेको छ । मुलुकका प्रमुख संरचना जलेसँगै नेतृत्व माथी भएको अमानवीय ब्यवहार, स्वयम् नेताहरुको सम्पत्तिमा भएको आगजनीका बारेमा समेत मुख खोल्न नसकेको काँग्रेस नियमित कि विशेष महाधिबेशन भन्ने एजेण्डामा सहमत हुन नसक्दा फुटेको हो ।
पार्टीको बैठक नै महिनौ बसेर निकास निकाल्न नसकेको काँग्रेसले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा र सह–महामन्त्री फर्मुल्लाह मन्सुरलाई पाँच वर्षका लागि कारवाही गरेको छ । विशेष महाधिवेशनले भने सभापतिमा गगन थापालाई सर्वसम्मत सभापतिमा चयन गरेको घोषणा गरेको छ । देउवाको नेतृत्वमा चुनावमा जान नसकिने भन्दै विशेष महाधिवेशन पक्षधर नेताहरूले पटक–पटक माग गरेका थिए । देउवाले पद छोड्न तयार नभएपछि पार्टी फुटेको हो ।
नियमित महाधिवेशनका लागि वैशाखको अन्तिम साता मिति तय गरेको थियो । कांग्रेसका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूंले यसअघि नै विशेष महाधिवेशनको माग गरेका थिए । नियमित महाधिवेशनको मिति तय भएपछि विशेष महाधिवेशन हुननसक्ने भन्दै संस्थापन पक्षले अडान लिएको थियो । विशेष महाधिवेशन पक्षधरहरूले भने विधानमा व्यवस्था भएकाले यसलाई नजरअन्दाज गर्न नहुने अडान राखेका थिए । सोहि कारण काँग्रेस फुटेको हो । फुटको असर घोषित फागुन २१ को निर्वाचन र नेपालको लोकतान्त्रिक प्रणालीमा समेत पर्ने विश्लेषकहरुले बताएका छन् । नेपाली काँग्रेसको इतिहासमा यो तेश्रो फुट हो । २०१० सालमा कांग्रेस विभाजनमा बीपी र मातृकाको टकराव थियो । २०५९ गिरिजाप्रसाद कोइराला र शेरबहादुर देउवाको टकराव थियो । अहिलेको विवादमा पनि शेरबहादुर देउवा, महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा जोडिन पुगे ।





