आकांक्षीहरु रस्साकस्सीमा, माघ ६ गते मनोनयन दर्ता
मोतीराम तिमल्सिना
धुलिखेल
जिल्ला निर्वाचन कार्यालय काभ्रेपलाञ्चोकले माघ ११ गते हुने राष्ट्रिय सभा र फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको सन्दर्भमा भएका गतिविधिहरुको प्रगति, सुरक्षा ब्यवस्थापन तथा अन्य तयारीका बारेमा सरोकारवालाहरुसँग समन्वयात्मक छलफल गरेको छ । जिल्ला निर्वाचन अधिकारी दिनेश शिवाकोटीले निर्वाचनका लागि आवश्यक तयारी र अवस्थाका बारेमा जानकारी गराए ।
‘राष्ट्रिय सभा निर्वाचनका लागि काभ्रेपलाञ्चोक जिल्लाबाट १३ पालिकाका प्रमुख, उपप्रमुख सहित २६ जना र प्रदेश सभाका ६ जना मतदाता रहेका छन् । मतदाताले प्रदेशको राजधानी हेटौडा पुगेर मतदान गर्नुपर्नेछ’–जिल्ला निर्वाचन अधिकारी शिवाकोटीले भने–‘फागुन २१ गतेको निर्वाचनका लागि निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरुको नियुक्ति पछि पौष २८ र २९ गते विराटनगर, काठमाडौ, चितवन र नेपालगञ्जमा निर्वाचन सञ्चालन तथा ब्यवस्थापन सम्वन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।’ काभ्रेका लागि न्यायाधीश प्रेमप्रसाद न्यौपाने मुख्य निर्वाचन अधिकृत सहित निर्वाचन क्षेत्र नम्वर २ का निर्वाचन अधिकृत रहेका छन् भने जिल्ला न्यायाधिवक्ता टिकाभुषण घिमिरे निर्वाचन क्षेत्र नम्वर १ का लागि निर्वाचन अधिकृत नियुक्ति भएका छन् ।
निर्वाचन कार्यक्रम अनुसार भोलि माघ २ गते मुख्य निर्वाचन कार्यालयको उद्घाटन गरिनेछ । निर्वाचन कार्यक्रम अनुसार प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन पत्रको दर्ता ६ माघमा तोकिएको छ । निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म उम्मेदवारको मनोनयन पत्र दर्ता गरिने आयोगले जनाएको छ । सोही दिन बेलुका ५ बजेदेखि ७ बजेको अवधिमा उम्मेदवारको सूची प्रकाशित गरिनेछ । ७ माघमा उम्मेदवारको विरोधमा उजुरी दिने गरी बिहान १० बजेदेखि ३ बजेसम्मको समय निर्धारित छ । उजुरीमाथि जाँचबुझपछि ८ माघमा बेलुका ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशित गरिनेछ । उम्मेदवारीबाट नाम फिर्ता लिनका लागि ९ माघका दिन बिहान १० बजेदेखि १ बजेसम्मको समय तोकिएको छ । सोही दिन लगत्तै ३ बजेभित्र उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिन्ह प्रदान गरिने छ ।
फागुन ३ देखि १८ गतेसम्म निर्वाचन प्रचारप्रसार हुने र तत्पश्चात् प्रचारप्रसार निषेधको अवधि रहनेछ । फागुन २१ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान हुने र दुवै निर्वाचन प्रणालीतर्फको मतपेटिका संकलन भएपछि मतगणना प्रारम्भ गरिने कार्यक्रम रहेको छ । समानुपातिक तर्फको निर्वाचन कार्यक्रम पौष २८ गते उम्मेदवारी फिर्तासँगै सकिएको छ । १३ र १४ पुसमा बिहान १० देखि ४ बजेसम्म राजनीतिक दलहरुले समानुपातिकतर्फका उम्मेदवारको बन्द सूची पेस गरेका थिए । सोहि नामावलीमा चित्त नबुझ्नेहरुले उम्मेदवारी फिर्ता लिएका छन् ।
उम्मेदवारलाई ३३ लाख खर्चको हद
प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवारका लागि खर्चको हद निर्धारण गरिएको छ । काठमाडौंका ५ वटा क्षेत्रका उम्मेदवारका लागि २५ लाख रुपैयाँसम्म खर्च गर्न पाउने ब्यवस्था छ । काठमाडौ १, ३, ६, ७ र ८ निर्वाचनका लागि उक्त सिमा तोकिएको हो । १७ वटा निर्वाचनका लागि २७ लाख रुपैयाँसम्म खर्चको सीमा निर्धारण गरिएको छ । ६५ वटा निर्वाचन क्षेत्रका लागि २९ लाखसम्म तोकिएको छ । ३१ लाख खर्च गर्न सक्ने निर्वाचन क्षेत्र ५२ वटा छन् । ३३ लाख खर्च गर्न पाउने निर्वाचन क्षेत्र २६ वटा छन् । जसमा काभ्रेपलाञ्चोक जिल्लाका दुबै निर्वाचन क्षेत्र पर्छन । यो मतदाता र भुगोलका आधारमा निर्धारण गरिएको हो । समानुपातिक उम्मेदवारहरुका लागि पनि निर्वाचन प्रयोजनमा खर्च गर्न पाउने सिमा निर्धारण गरिएको छ ।
७ वटा मतदान स्थल परिवर्तन
काभ्रेपलाञ्चोक जिल्लामा रहेका साविकका मतदान स्थलहरु मध्ये ७ वटा परिवर्तन गरिएको छ । खानीखोला गाउँपालिका वडा नम्बर ७ मा रहेको सरस्वती निमावि मिल्चेको मतदान स्थललाई जनहित मावि महाँंकालमा स्थानान्तरण गरिएको छ । मतदाताहरुको गुनासोका आधारमा उक्त केन्द्र स्थानान्तरण गरिएको हो । साविकको मतदान स्थलमा पुग्न मतदाताहरुका लागि ३ घण्टासम्म लाग्ने गरेको थियो ।
त्यस्तै चौरीदेउराली गाउँपालिका वडा नम्वर ७ मा रहेको स्वस्थानी मावि घ्याङडाँडालाई वडा कार्यालयमा स्थानान्तरण गरिएको छ । उक्त विद्यालय अन्य विद्यालयसँग गाभिएको र भवन समेत जिर्ण भएकाले वडा कार्यालयमा स्थानान्तरण गरिएको हो । तेमाल गाउँपालिका वडा नम्वर १ मा रहेको मल्लवि देवी आधारभुत विद्यालय लामागाउँको मतदान स्थल जनचेतना माविमा स्थानान्तरण गरिएको छ । साविकको विद्यालयमा पूर्वाधारको कमी, साँघुरो स्थान र वडाको केन्द्रमा समेत नभएकाले स्थानान्तरण गरिएको हो ।
त्यस्तै धुलिखेल २ मा रहेको सेतीदेवी मावि माँझथुमबाट हालको वडा कार्यालयमा कायम गरिएको छ । साविकको मतदान स्थलमा वडा कार्यालय रहेकोले साविकको मतदान स्थलको नाम परिवर्तन गरिएको हो । धुलिखेल ५ को श्रीखण्डपुर मावि खड्पुमा र नारायणस्थान मन्दिर श्रीखण्डपुरमा रहेको मतदानस्थल गाभिएको छ । दुबै गाभेर एउटा मात्र मतदानस्थल श्रीखण्डपुर माविमा कायम गरिएको छ । पाँचखाल नगरपालिका वडा नम्वर ५ मा रहेको प्रतिभा प्रावि पिपलडाँडाको मतदान स्थललाई वडा नम्वर ५ को कार्यालयमा स्थानान्तरण गरिएको छ । सोहि विद्यालय अन्य विद्यालयमा गाभिएको र सोहि स्थानमा हाल प्रहरी चौकी खावा रहेकाले स्थानान्तरण गरिएको हो ।
भुम्लु गाउँपालिका वडा नम्वर ५ मा रहेको सार्वजनिक प्रावि साउनेको मतदान स्थलको नाममा भएको त्रुटी सच्याई सार्वजनिक आधारभुत विद्यालय मानेडाँडा कायम गरिएको छ । जिल्लामा १ सय ८९ वटा मतदान स्थल र ४ सयवटा मतदान केन्द्र कायम भएका छन् ।
२४ सय कर्मचारी, १२ सय स्वंयसेवक
२ वटा निर्वाचन क्षेत्र, १ सय ८९ वटा मतदान स्थल, ४ सय वटा मतदान केन्द्रमा मतदान गर्ने ३ लाख २६ हजार ६ सय ११ मतदाताका लागि २४ सय कर्मचारी र १२ सय स्वंवयसेवक खटिने भएका छन् । प्रत्येक मतदान केन्द्रमा एकजना मतदान अधिकृत, एकजना सहायक निर्वाचन अधिकृत, ३ जना सहायक निर्वाचन अधिकारी र सहयोगी १ जना रहनेछन् भने ३ जना स्वयंसेवक स्थानीय स्तरमा मतदान अधिकृतले नियुक्ति गर्नेछन् । ५ सय भन्दा धेरै मतदान केन्द्र भएका स्थानमा ३ जना स्वंसेवक र कम भएका मनदान केन्द्रमा २ जना स्वयंसेवक नियुक्ति गर्ने मापदण्ड कायम गरिएको छ । मतदान अधिकृतहरुको नियुक्ति र तालिम पछि हुनेछ । यो पटक पनि शिक्षकहरु निर्वाचनमा खटिने छैनन् ।
निर्वाचनका लागि नेपाल प्रहरी र मातहत रहने निर्वाचन प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना खटिनेछन् । २४ सै घण्टा मतदाता, मतदानस्थल र मतदान केन्द्रको निर्वाचनका लागि गस्ति हुनेछ भने निर्वाचन प्रहरी विशेष गरी मतदान स्थल र केन्द्रमा खटिनेछन् । जिल्लामा २ हजार २ सय ६९ जना निर्वाचन प्रहरी खटिनेछन् । काभ्रेमा १ लाख ६७ हजार ४ सय ९९ पुरुष, १ लाख ५९ हजार १ सय १० महिला, अन्य २ मतदाता छन् ।
सिफारिस भएका सम्भावित उम्मेदवार
माघ ६ गते उम्मेदवारी दर्ता गर्न राजनीतिक दलहरुले जिल्ला जिल्लाबाट उम्मेदवार सिफारिसका लागि गरेको आब्हानसँगै हरेक दलले उम्मेदवार सिफारिस गरेका छन् । कुनै पनि दलले एकल सिफारिस गरेनन् । उम्मेदवार सिफारिसका क्रममा नेकपा एमालेमा विवाद देखिएको भए पनि प्रदेश कमिटीले विवाद सुल्झाउँदै नामावली सिफारिस गरेको छ । रास्वपा लगायतका दलहरुले उम्मेदवार सिफारिस गरेका छैनन । हालसम्म नेकपा एमाले, नेपाली काँग्रेस, नेपाली कम्युनिष्ट पार्टी र राप्रपाले उम्मेदवार सिफारिस गरेका छन् ।
नेकपा एमाले
निर्वाचन क्षेत्र नं. १ मा नविना लामा, अमित लामा, चन्द्र बहादुर लामा, दिपक चौलागाई, रामहरी सुवेदी, रेशम बहादुर लामा, टुल्कु लामा, कान्छामान तामाङ (रक्तिम), कुलचन्द्र अधिकारी रहेका छन् । निर्वाचन क्षेत्र नं. २ मा गोकुल प्रसाद बाँस्कोटा, अशोक व्याञ्जु, विमला शर्मा चौलागाई र हरिशरण दाहाल रहेका छन् ।
नेपाली कम्युनिष्ट पार्टी
निर्वाचन क्षेत्र नम्वर १ मा सुर्यमान दोङ, दिनानाथ गौतम, मुकुन्द गौतम, टासी लामा र अबिरल जिम्बा रहेका छन् भने निर्वाचन क्षेत्र नम्वर २मा बसुन्धरा हुमागाई, कृष्ण भण्डारी, आइत सिं तामाङ, उषा शिबभक्ति अर्याल र केशव तिमल्सिना रहेका छन् ।
नेपाली काँग्रेस
निर्वाचन क्षेत्र नम्वर १ मा गणेश लामा, गुणराज मुक्तान, तीर्थ बहादुर पसखल, बिदुर बस्नेत र रसिला खनाल । निर्वाचन क्षेत्र नम्वर २ मा मधु आचार्य, शिवप्रसाद हुमागाईं, अच्चुतप्रसाद पौडेल, ठाकुरप्रसाद न्यौपाने, होमराज चौलागाईं, माधव ढकाल, सुन्दरमणि आचार्य, रामजी पन्त, हेमकुमार तामाङ, राजन कार्की, रोशन लामा, इन्दिरा बुढाथोकी, नन्दु दुलाल ।
राप्रपा
निर्वाचन क्षेत्र नम्वर १ मा नवराज सत्याल, दिलकुमार लामा, लाल बहादुर लामा र जित बहादुर कुँवर । निर्वाचन क्षेत्र नम्बर २ मा रन्जिब श्रेष्ठ, बिनोद पौड्याल, पुण्यप्रसाद रिमाल, भिमसेन घिमिरे र यसु आलेमगर ।
निर्वाचन सामाग्री तयारी
निर्वाचनका लागि आवश्यक पर्ने निर्वाचन सामाग्री तयारी गरिएको छ । जिल्ला निर्वाचन कार्यालय काभ्रेले तयार गर्ने सामाग्रीको पोको बनाउने कार्य बाँकी छ । कार्यालयहरुमा कर्मचारीको विवरण लिने र छनौट गर्ने कार्य हुँदैछ । ५ हजार भन्दा धेरै कर्मचारीको विवरण प्राप्त भएको छ । जिल्लाबाट छनौट गरिएका कर्मचारीहरुलाई आवश्यकताका आधारमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले नियुक्ति गर्नेछ ।
३७ प्रकारका सामाग्री मध्ये ७ प्रकारका अस्थायी र २९ प्रकारका स्थायी खालका सामाग्री तयार गरिदैछ । २९ प्रकारका सामाग्री खरिदका लागि खाद्य संस्थानसँग सम्झौता गरिएको छ । निर्वाचनमा कर्मचारी खटिने क्रममा उक्त सामाग्रीको पोकोसँगै लैजाने छन् ।
४ हजार सुरक्षाकर्मी
जिल्ला प्रहरी प्रमुख एसपी कोमल शाहले निर्वाचनमा खटिने सुरक्षा, एकीकृत सुरक्षा योजना तथा निर्वाचन प्रहरीको परिचालन, निर्वाचन अघि, निर्वाचनको समयमा र निर्वाचन सकिए पछिको अवस्थालाई एकीकृत निर्वाचन सुरक्षा योजना निर्माण गरी कार्यान्वयन शुरु गरिएको बताए । जिल्लामा ११ सय १५ नेपाल प्रहरी, ३ सय ५० शशस्त्र प्रहरी र २२ सय ६९ निर्वाचन प्रहरी प्रत्यक्ष परिचालन हुनेछन् भने नेपाली सेना आवश्यकताका आधारमा परिचालन हुनेछ ।





