बनेपा/जिल्ला बचत संघ काभ्रे पुनः उदयराम कायश्थ निर्विरोध भएका छन् । विशेष साधारण सभाबाट अध्यक्ष भएका कायश्थ दोश्रो कार्यकालका लागि अध्यक्षतामा निर्वाचित भएका हुन् । उपाध्यक्षमा भने सहमति जुट्न सकेन । यस अघि दुबैजना उपाध्यक्षमा कार्यरत निर्मला श्रेष्ठ र सागर कपाली विच प्रतिस्पर्धा हुने भएको छ ।
पौष ५ गते शनिबार उम्मेदावरी दर्ता गरिएको थियो । आज पौष १० गते विहिबार हुने साधारण सभा पछि निर्वाचितहरुलाई सपथ तथा पदस्थापन गराईनेछ । सचिव राजन अधिकारी, कोषाध्यक्ष जीवन श्रेष्ठ, लेखा समिति संयोजक शिवप्रसाद आचार्य निर्विरोध भएका छन् । संचालक समिति सदस्यहरुमा विनोद सापकोटा,जान्दवी अधिकारी, श्रीकृष्ण न्यौपाने, चन्दा श्रेष्ठ, राजन सापकोटा निर्विरोध भएका छन् । लेखा समितिमा नवराज केसी र राजकुमार आचार्य निर्विरोध भएका छन् । राजकुमार आचार्य शिक्षक हुन् । विद्यानत उनी उम्मेदवार हुन पाउने छैनन । उनले राजिनामा पनि दिएका छैनन । कानून र नैतिकता दुबै कारण उनी पदमा रहन मिल्दैन ।
बचत संघमा तीन दलले संचालक र लेखा समितिमा भागवण्डा गरेका हुन् । एमालेलाई अध्यक्ष सहित ४, नेपाली काँग्रेसलाई उपाध्यक्ष, कोषाध्यक्ष सहित ५ र साविक नेकपा माओवादीलाई सचिव सहित ३ पद लिने गरी सहमति गरेका थिए । नेकपा माओवादीले पार्टी एकीकरण पछि समाहित भएको समाजवादीलाई भने एक सिट पनि दिएन । प्राप्त तीन सिटमा नै साविक नेकपा माओवादीका उम्मेदवार सहभागि भएका छन् । भागवण्डा अनुसार संचालक समितिको अध्यक्ष सहित दुई सदस्य र लेखा समितिमा एक सदस्य नेकपा एमालेको तर्फबाट प्रतिनिधित्व गर्ने दलहरु बीच सहमति भएको थियो । जस अन्र्तगत अध्यक्षमा उदयराम कायश्थ, लेखा समिति संयोजक शिवप्रसाद आचार्य, संचालक सदस्यमा विनोद सापकोटा र जान्दवी अधिकारीले प्रतिनिधित्व गरेका छन् । नेपाली काँग्रेसका तर्फबाट उपाध्यक्ष सहित कोषाध्यक्ष र दुई संचालक सदस्य तथा एक लेखा समिति सदस्यमा सहमति भएको थियो । उपाध्यक्षमा निर्मला श्रेष्ठ, कोषाध्यक्ष जीवन श्रेष्ठ, संचालक सदस्य श्रीकृष्ण न्यौपाने र चन्दा श्रेष्ठ, लेखा समिति सदस्यमा राजकुमार आचार्य रहेका छन् । एमालेकै सागर कपालीले उपाध्यक्षमा उम्मेदवारी दिए पछि निर्वाचन हुन लागेको हो । पौष ८ गतेसम्म उम्मेदवारी फिर्ता लिने समय भित्र कपालीले उम्मेदवारी फिर्ता लिएनन् । सदस्यमा उम्मेदवारी दिएका रमेश न्यौपानेले भने उम्मेदवारी फिर्ता लिएका छन् ।
नेपाली कम्युनिष्ट पार्टी साविकको नेकपा माओवादीका तर्फबाट सचिव, एक संचालक र एक लेखा समिति सदस्य लिने सहमति भएको थियो । जसमा सचिव राजन अधिकारी, संचालक सदस्य राजन सापकोटा र लेखा समिति सदस्य नवराज केसी निर्विरोध भएका छन् । सहकारी क्षेत्रमा पछिल्लो समय नागरिकहरुको विश्वास बढाउन विभिन्न सचेतनामुलक कार्यक्रम आयोजना गर्ने नव निर्वाचित अध्यक्ष कायश्थले बताए ।









