2026 January 17/ 03:24: 53pm

    बनेपा/शनिबार भक्तपुरको सल्लाघारीमा उद्घाटन पछि बन्द सत्र शुरु हुने नेकपा एमालेको महाधिबेशनलाई यो पटक चासोका साथ हेरिएको छ । पार्टी भित्र र बाहिरबाट समेत संर्घष चलिरहेका बखत हुन लागिरहेको यो महाधिबेशनले पार्टीको मात्रै नभई मुलुककै नेतृत्वका लागि गतिलो सन्देश प्रवाह गर्नेछ । 
    महाधिबेशनमा बागमती प्रदेशबाट सचिव बन्ने गरी पोलिटब्युरो सदस्य गोकुल बास्कोटाले तयारी शुरु गरेका छन् । विधानले पार्टी पदाधिकारीहरुको संख्या घटाएको छ । आकाँक्षी धेरै भएकाले ब्यवस्थापनमा कठिनाई हुने बताए पनि बास्कोटा सचिव पदमा उम्मेदवारी दिने गरी महाधिबेशन प्रतिनिधिहरु विच वातावरण बनाउन सक्रिय भएका छन् । राष्ट्रिय तथा अन्तराष्ट्रिय मुद्दामा समेत स्पष्ट विचार राख्दै आएका बास्कोटाले पछिल्लो समय संविधान दिवसका दिन बनेपामा आयोजित पार्टीको कार्यक्रममा ब्यक्त धारणा लोकप्रिय बनेको थियो । बास्कोटा केन्द्रिय सदस्य हुँदै पोलिटब्युरो सदस्य भएका हुन् । जिल्ला कमिटी अध्यक्ष, पार्टी विधान अनुसार त्यसअघि जिल्ला सचिव, उपसचिव हुँदै विभिन्न मोर्चामा सक्रिय बास्कोटा भूमिगतकाल देखि विद्यार्थी राजनीतिमा सक्रिय थिए । पछि पत्रकारिता हुँदै राजनीतिमा पुनः सक्रिय भएका थिए । प्रतिनिधि सभा क्षेत्र नम्वर २ बाट बास्कोटाले २०७९ र २०७४ को निर्वाचनमा अत्याधिक मत प्राप्त गरेका थिए । उनकै कार्यकालमा जिल्लामा महत्वपूर्ण र राष्ट्रिय गौरवका आयोजना संचालनमा छन् । केहि आयोजना सम्पन्न भईसकेका छन् । 

केन्द्रीय सदस्यमा आकांक्षी धेरै 
    काभ्रेपलाञ्चोक जिल्लाबाट यसअघि नेकपा एमालेको पोलिटब्युरो सदस्य गोकुल बास्कोटा थिए । उनी काभ्रेपलाञ्चोक जिल्लाका इन्चार्ज पनि थिए । केन्द्रीय सदस्यमा रेशम लामा, नविना लामा र रुक्मिणी बराईली कार्यरत थिए । बास्कोटा सचिव पदमा प्रतिस्पर्धा गर्ने भएका छन् भने अन्य पुनः केन्द्रीय सदस्यमा दोहोरिने मनस्थितिमा छन् । पहिलोपल्ट जिल्लाबाट केन्द्रीय सदस्य पदका लागि अशोक ब्याञ्जु, कुमार थापा, भिम न्यौपाने, रिता ढकाल, चन्द्र लामा, ज्ञानबहादुर लामा, अमित लामा, इन्द्र तामाङ उठ्ने मनस्थितिमा छन् । यद्यपि कसैले पनि उम्मेदवारी भने घोषणा गरिसकेका छैनन् । 
    दुईपटक नेपाल नगरपालिका संघको केन्द्रीय अध्यक्ष भएर स्थानीय तह तथा निकायसँग राम्रो समन्वय गरिसकेका हिसाबले अशोक ब्याञ्जु उम्मेदवार बन्ने गरी तयारीमा जुटेका छन् । उनी दोश्रो पटक धुलिखेल नगरपालिकाको प्रमुख पदमा कार्यरत छन् । यसअघि अन्तर सरकारी समन्वय निकायको सदस्य तथा नेपाल सरकारका विभिन्न समितिहरुमा पदेन सदस्यका रुपमा नेपाल नगरपालिका संघका तर्फबाट प्रतिनिधित्व गर्दै आएका थिए । स्थानीय तहको सरकारका रुपमा नमुना र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा चर्चा परिचर्चा हुने गरी कार्य गरेका ब्याञ्जुलाई पार्टी अध्यक्षले केन्द्रीय सदस्य पदका लागि प्रतिस्पर्धामा सहभागी हुन निर्देशन दिएका छन् । 
    आकांक्षी मध्ये अन्य प्रतिनिधिहरुले पनि केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिन बलियो दावी प्रस्तुत गरिसकेका छन् । अमित लामा र चन्द्र लामाले युवाको तर्फबाट प्रतिनिधित्व गर्दैछन् भने रिता ढकाल लगायतले महिला तर्फबाट प्रतिस्पर्धाको तयारी गरेका छन् । ढकाल पूर्व माओवादीबाट नेकपा हुँदै समायोजनमा नेकपा एमालेमा सक्रिय छिन् । सक्रिय र शशक्त ब्यक्तिका रुपमा ढकाललाई चिनिन्छ । त्यस्तै स्थानीय निकाय र तहमा समेत नमुना कार्य गरेका भिम न्यौपाने पनि केन्द्रीय सदस्यका लागि प्रतिस्पर्धाको तयारीमा जुटेका छन् । उनी इमान्दार कार्यकर्ताका रुपमा पार्टी भित्र स्थापित छन् । कुमार थापा पार्टी स्थापना देखि निरन्तर सक्रिय र पुराना राजनीतिज्ञका रुपमा चिनिन्छन् । ज्ञानबहादुर लामा बागमती प्रदेश सभा सदस्य छन् । उनी स्थानीयस्तरमा कम सक्रिय मानिन्छन् । इन्द्र तामाङ सुकुम्बासीहरुको क्षेत्रमा सक्रिय नेता हुन् । जिल्ला र स्थानीय तहमा सक्रिय भई सशक्त रुपमा कार्यरत छन् । अन्य प्रतिनिधिहरुले पनि केन्द्रीय सदस्य हुने इच्छा ब्यक्त गरेका छन् । महाधिबेशन प्रतिनिधिमा छनौट भएकाहरु अधिकांश केन्द्रीय सदस्यका लागि योग्य भएको प्रतिक्रिया दिएका छन् । 

यी हुन् छनौट भएका प्रतिनिधिहरु
    प्रतिनिधि सभा क्षेत्र नं. १ बाट खुल्ला तर्फका प्रतिनिधिहरु ः अमित लामा (अमि), चन्द्र लामा, ठाकुर बास्कोटा, राजन भुर्तेल, ज्ञानबहादुर तामाङ, देवसागर लामा । महिलातर्फ ः उमा थापा, गिता बन्जारा, गीता तामाङ, पवित्रा भुर्तेल । द जेनिश (जेन) लामा । 
प्रतिनिधि सभा क्षेत्र नं. २ खुल्लातर्फ ः अशोक व्याञ्जु, कन्चन अधिकारी, कुमार थापा, पे्रेम लामा, भिम न्यौपाने, रत्नकुश रंजितकार, हरिशरण दाहाल । महिलातर्फ ः उन्नति केसी, जिवनदेवी रायमाझी (सरिता), निर्मला शाही, रिता गौतम ढकाल । युवातर्फ ः ईश्वर सापकोटा । 
दलिततर्फ ः मदन विश्वकर्मा ।