2026 January 17/ 04:50: 18pm

    एक वर्षको अवधिमा जिल्लाका विभिन्न विद्यालयमा कार्यरत ५६ शिक्षकले राजिनामा दिएका छन् भने ६० जना शिक्षक अनिवार्य अवकाशमा गएका छन् । राजिनामा दिने मध्ये अधिकांश विदेश गएको तथ्यांकले देखाएको छ । 

मोतीराम तिमल्सिना
धुलिखेल

    माध्यमिक तहमा कार्यरत दुई शिक्षकले राजिनामा दिए । कानपुर मावि नमोबुद्ध ५ कानपुरका नेपाली शिक्षक तीर्थप्रसाद भट्टराईले २०८१ चैत्र २२ गते राजिनामा दिए भने सञ्जीवनी मावि धुलिखेलमा कार्यरत लोकेन्द्र ढकालले २०८१ पुष २१ गते राजिनामा दिए । चक्रज्योती मावि बनेपा १३ मा कार्यरत अंग्रेजी विषयका दुई शिक्षक निमावि तहका कविप्रसाद दाहाल र माधवप्रसाद तिमल्सिनाले पनि राजिनामा दिए । दाहालले २०८२ बैशाख ७ गते र तिमल्सिनाले २०८२ कार्तिक २ गते राजिनामा दिए । ५२ जना प्राथमिक तहमा कार्यरत शिक्षकहरुले समय अगावै राजिनामा दिएका छन् । राजिनामा दिने शिक्षकको संख्या २०८१ साउन देखि २०८२ कार्तिकसम्म ५६ पुगेको छ ।
    अवकाश पाउनेहरुमा एक वर्षको अवधीमा ६० शिक्षक छन् । मावि तहका चार शिक्षक, निमावि तहका चार शिक्षक अनिवार्य अवकाशमा विदा भएका छन् । ५२ जना प्राथमिक तहका शिक्षक अनिवार्य अवकाशमा परेका छन् । 

आयोगमा माग भएका शिक्षकहरु
    माध्यमिक तह तृतीय श्रेणीमा १८ जना, निमावि तहमा २२ जना र प्राथमिक तहका ९९ जना छन् । माध्यमिक तहका १८ जनाको पोस्टिङ्ग भईसकेको छ । निमावि तहका शिक्षकहरु आउने क्रममा छन् भने प्रावि तहका ९९ जनाको शिक्षक सेवा आयोगले विज्ञापन नै गरेको छैन । यो अघिल्लो आर्थिक वर्ष २०८१ साउन १५ गते माग गरिएको संख्या हो भने चालु वर्षमा माग गरिएको संख्या मध्ये माध्यमिक तहमा शुन्य छ । निमाविमा ४ र प्राथमिक तहका लागि २२ जना माग गरिएको छ । दुई आर्थिक वर्षमा गरी काभ्रेपलाञ्चोक जिल्लाका लागि १ सय ६५ जना शिक्षक आवश्यक देखिन्छ । जसमा १८ जना मात्रै पदपूर्ति भएको छ । 
    शिक्षा विकास तथा समन्वय इकाई काभ्रेले प्राथमिक तहका लागि द्वितीय श्रेणीमा ३ जना, निम्न माध्यमिक तहको द्वितीय श्रेणीका लागि २ जना र माध्यमिक तहका लागि प्रथममा १ र द्वितीय श्रेणीमा ३ जना बढुवाका लागि पठाएको छ । यो वर्ष ९ जना शिक्षकहरु काभ्रेबाट बढुवा हुनेछन् ।

शिक्षण संस्था कति?
    काभ्रेमा कुल ६ सय २० वटा विद्यालय रहेका छन् । जसमध्ये सामुदायिक ५ सय १८ र संस्थागत १ सय २ वटा रहेका छन् । वालविकास केन्द्र ४ सय ९० वटा रहेका छन् । सामुदायिकतर्फ आधारतभूत माध्यमिक विद्यालय ३ सय ६९ र माध्यमिक तहका १ सय ४९ वटा रहेका छन् । संस्थागततर्फ २६ वटा आधारभूत विद्यालय र ७६ वटा माध्यमिक तहका छन् । १६ वटा सामुदायिक क्याम्पस र ३ वटा निजी क्याम्पस छन् । १६ वटा प्राविधिक विद्यालयहरु मध्ये ८ वटा सिटिईभिटीको मान्यता प्राप्त र ८ वटा सेहर्डको अनुमतिमा ८ वटा संचालनमा छन् । २५ वटा सामुदायि सिकाई केन्द्र छन् । जिल्लामा कुल ६ सय ५५ वटा शिक्षण संस्था संचालनमा रहेका छन् ।

यति छन् शिक्षक
    काभ्रेका विभिन्न पालिकामा प्राथमिक तहमा १ हजार ७ सय ११ दरबन्दी र ३ सय ८१ जना राहतमा कार्यरत शिक्षक छन् । निमावि तहमा २ सय ७८ दरबन्दी र २ सय ९६ जना राहतमा कार्यरत छन् । मावि ९ र १० मा २ सय ९२ दरबन्दी र १ सय ६१ जना राहतमा छन् । मावि ११ र १२ मा ४१ जना दरबन्दी र ८५ जना अस्थायी छन् । यसका अलावा निजी श्रोतमा कार्यरत शिक्षकहरुको संख्या पनि उल्लेख्य छ । ३२ सय ४५ जना शिक्षकले नेपाल सरकारबाट तलब प्राप्त गरिरहेका छन् । 

कति छन् विद्यार्थी 
    शैक्षिक सत्र २०८१ को अन्त्यमा जिल्लामा सामुदायिक विद्यालयमा प्रारम्भिक बालविकास देखि कक्षा १२ सम्म अध्ययन गर्ने विद्यार्थीहरुको संख्या ५२ हजार ४ सय १९ थियो । जसमा छात्रा २६ हजार ८ सय ८४ र छात्र २५ हजार ५ सय ३५ जना थिए । संस्थागततर्फ प्रारम्भिक बाल विकास देखि कक्षा १२ सम्म ४० हजार ५७ जना विद्यार्थी भर्ना भएका थिए । जसमध्ये छात्रा १७ हजार १ सय ९७ र छात्र २२ हजार ८ सय ६० जना रहेका थिए । जिल्लामा ९२ हजार ४ सय ७६ जना बालबालिकाहरु उक्त शैक्षिक सत्रमा अध्ययन गरिरहेका थिए । 
    सामुदायिक र संस्थागततर्फ गरी ब्राम्हण क्षेत्री २७ हजार ३ सय ५२, आदिवासी जनजाती ५३ हजार ८ सय ९, दलित ६ हजार ९ सय २७ जना र अन्य तर्फ ४ हजार ३ सय ८८ जना बालबालिकाहरु अध्ययन गरिरहेका छन् । जिल्लाका १३ पालिका मध्ये सबैभन्दा धेरै बनेपा नगरपालिका भित्र २३ हजार ४ सय ४२ विद्यार्थी अध्ययन गरिरहेका छन् । 
    तथ्यांक अनुसार धुलिखेलमा ६ हजार २ सय ८३, पनौतीमा १० हजार ८ सय ८२, पाँचखालमा ६ हजार ७ सय ९४, नमोबुद्धमा ४ हजार ५ सय ५४, मण्डनदेउपुरमा ४ हजार ५ सय ४३, बेथान्चोकमा २ हजार ७ सय, भुम्लुमा २ हजार ८२, चौरीदेउरालीमा २ हजार ९ सय ३६, महाभारतमा ३ हजार ९ सय ७०, रोशीमा ४ हजार ८ सय २७ र तेमालमा २ हजार २ सय ५४ विद्यार्थी अध्ययन गरिरहेका छन् ।