2026 August 02/ 12:15: 10am

विकास तिमल्सिना
च्याम्राङ्गबेशी, बेथान्चोक

    दक्षिण पडाडी भू–भागका बेथान्चोक, खानीखोला, महांकाल र बागमती गाउँपालिका भित्र बसोबास गर्ने कृषि तथा पशुपालन पेशामा निर्भर स्थानीयहरुलाई आर्थिक समृद्धी हासिल गराउने उदेश्यले बेथान्चोक गाउँपालिका वडा नम्वर १ मा स्थापना गरिएको मदानी डेरीले संचालनको तेश्रो वर्ष पुरा गरेको छ । तेश्रो बार्षिक साधारण सभाका अवसरमा कम्पनीले कृषकहरुलाई उपलब्ध गराएको सेवा, आगामी योजना, कम्पनीको अवस्था, सम्भावना, अवसर र चुनौतीका सन्दर्भमा जानकारी गराएको थियो । 
    ७ सय ५० लिटर दैनिक दुध संकलन गरी प्रारम्भ भएको मदानी डेरीले हाल ४२ वटा संकलन केन्द्र मार्फत दैनिक ८ हजार लिटर दुध संकलन गरिरहेको छ । आगामी पाँच वर्षमा दैनिक ४० हजार लिटर दुध संकलन गर्ने महत्वकाँक्षी योजना समेत अघि सारेको छ । कृषकहरुलाई ब्यवसायीकरण, न्यून लागतमा धेरै उत्पादन लगायतका विविध योजनाका साथ मदानी डेरीले कृषि क्षेत्रमा पशुपालनबाट आर्थिक समृद्धी सम्भव छ भन्ने प्रमाणीत गर्ने गरी कार्य गरेको अध्यक्ष माधव दाहालले बताए । ८५ जना शेयर सदस्यहरुको लगानीमा संचालन भएको मदानी डेरीले तेश्रो वर्षमा प्रवेश गरिरहँदा आर्थिक वर्ष २०८१÷०८२ को अन्त्यसम्ममा २५ करोड ९९ लाख ५५ हजार ४४ रुपैयाँका दुध र दुग्धजन्य पदार्थ विक्री गरेको छ । आयकर २१ लाख ५० हजार बुझाएको छ । २०८०÷०८१ मा मरेका पशुहरुका लागि पशु मृत्यु राहत कोष मार्फत ६ लाख ५० हजार भुक्तानी गरिएको छ । विमा गरिएका पशुहरुका हकमा कृषकहरुलाई थप राहत हुने गरी कम्पनीले भैसीका लागि ५० हजार र गाईका लागि ३० हजार रकम उपलब्ध गराउँदै आएको छ । १७ जना कृषकले उक्त राहत प्राप्त गरेका छन् । 
    ‘देशभर सरकारी दुग्ध विकास संस्थानले कृषकहरुको दुध खरिद गरेको रकम भुक्तानी गर्न सकिरहेको थिएन । मिल्क होलिडे शुरु भएको थियो । त्यो अवस्थामा कृषकहरुको एक दिन पनि मिल्क होलिडे नगरी समयमा नै रकम भुक्तानी गर्न सक्षम भयौं’–अध्यक्ष माधव दाहालले भने–‘कृषकहरुसँग गरिएका केहि वाचा पुरा भएका छैनन । क्रमशः पुरा हुने अवस्थामा छन् । पहिले तोकिएको मुल्यमा केहि कमी हुन गएको छ । क्रमशः बजारको सुदृढीकरणसँगै कृषकहरुलाई उचित मुल्य, कम लागत र धेरै उत्पादनका लागि योजना निर्माण गरेका छौं ।’ ‘किसानले उत्पादन गरेको दूधलाई उचित मुल्यमा संकलन गर्ने, गुणस्तरीय दुग्धजन्य पदार्थ उत्पादन र बजार विस्तार गर्ने कार्यमा प्रगति भएको छ’–अध्यक्ष दाहालले भने–‘यो सफलता केवल ब्यवस्थापन वा प्रविधिका कारण मात्रै नभई स्थानीय सरकारको पूर्ण सहयोग, कृषकहरुको समर्पण र विश्वास, कर्मचारीहरुको मेहनत र शेयरधनीहरुको धैर्यता सहितको विश्वास हो ।’ 
    ‘खेतिपाती भन्दा पशुपालन गरी दुध उत्पादन मार्फत जीविकोपार्जन गरिरहेका स्थानीय कृषकहरुका लागि भौगोलिक विकटताका कारण नियमित दुध संकलन तथा विक्री वितरण हुन सकेको थिएन । यातायात अवरुद्ध हुँदा बोकेर बजारसम्म दुध र दुग्धजन्य पदार्थ लैजान कठिन थियो’–कृषक रमण बञ्जाराले भने–‘ढिलो बजार पु¥याउँदा गुणस्तर खस्कने र बजारसम्म सहजै पु¥याउन नसक्दा कृषकहरु पीडामा थिए । लागत समेत उठ्दैन थियो । कृषकहरु पेशाबाट पलायन हुन बाध्य थिए । बैकल्पिक पेशा ब्यवसायका लागि विदेशिनु पर्ने अर्थात थातथलो छाड्नु पर्ने बाध्यतामा थिए ।’ ऋणको बोझमा परेका, पेशाबाट पलायन हुन थालेका र पशुपालनबाट भविश्य नदेखेका स्थानीयहरु मदानी डेरीको संस्थागत शुरुवातीले खुशी भएको उनले बताए । तेश्रो बार्षिक साधारण सभाका अवसरमा डेरीले उत्कृष्ट र धेरै दुध संकलन गरी विक्री गर्ने कृषकहरुलाई सम्मान गरेको थियो । कोभिड १९ को महामारी, त्यस पछिका निरन्तरका आर्थिक मन्दी लगायतका विपदका कारण दुध क्षेत्रका कृषकहरु र लगानीकर्ताहरु समेत संकटमा परेका थिए । स्थानीय र अन्य गरी कम्पनीले प्रत्यक्ष रुपमा ३८ जनालाई रोजगार प्रदान गरेको संचालक सदस्य राजाराम लुईटेलले बताए ।
    संचालक सदस्य रामहरी बजगाईले कृषकहरुलाई क्रमशः ब्यवसायीकतातर्फ लगिएको बताए । आयआर्जन बृद्धि गर्न भएका पशुहरुलाई ब्यवसायीकता तर्फ उन्मुख गराउने गरी घाँस खेती, तालिम तथा कम लागतमा धेरै उत्पादन, पशुहरुलाई गुणस्तरीय खाना र उत्पादन, बजार मुल्य अनुसार समायोजन, नियमित भुक्तानी, पशु विमा तथा राहत लगायतका कार्यहरु मार्फत दैनिक दुध उत्पादनलाई बढाउने र कम्पनीले प्राप्त गरेको दुध र दुग्धजन्य पदार्थलाई अन्तराष्ट्रिय स्तरसम्म पु¥याउने कार्यको थालनी भएको बताए । ‘रावजधानी र आसपासका जिल्लाहरुमा बाहेक अहिले विराटनगर, पोखरा र बुटवलका प्रमुख शहरमा मदानी डेरीका उत्पादन पुगेका छन् । यो क्षेत्र विस्तार गर्दै आयातित दुग्धजन्य पदार्थलाई कम गराउने र विदेशमा निर्यात गर्न सक्ने गरी गुणस्तरीयता कायम गर्ने योजनामा छौंं’–संचालक सदस्य रामहरी बजगाईले भने–‘राजधानी डेरी लगायतका कम्पनीसँगको सहकार्य तथा स्वीस प्रतिनिधिलाई नेपालमा नै झिकाएर उत्पादन गरिरहेको चीजका परिकार र अन्य उत्पादनलाई झनै गुणस्तरीय बनाउने गरी सक्रिय भएका छौं ।’ कृषकहरुलाई घाँस धेरै हुने समयमा त्यसलाई काटेर भण्डारण गर्ने प्रविधि र ब्यवस्थापनमा पनि मदानी डेरीले कार्य प्रारम्भ गरेको उनले बताए । 
    साधारण सभामा बेथान्चोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो । स्थानीय स्तरमा आयआर्जन बृद्धी हुने गरी स्थापना भएको उद्योगलाई स्थानीय सरकारले पर्याप्त सहयोग, समन्वय गरिरहेको बताए । अन्तर्राष्ट्रिय स्तरमा समेत निर्यात हुने गरी गुणस्तरीय उत्पादन शुरु गरेको उद्योगका माध्यमबाट आन्तरिक र बाह्य पर्यटकहरु समेत बृद्धी हुने उनले बताए । महाँकाल गाउँपालिकाका अध्यक्ष गणेशबहादुर केसीले बेथान्चोकमा जस्तै महांकाल गाउँपालिकामा पनि यस्तै उद्योगको कल्पना गरिएको बताए । खानीखोला गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङ्ग छिन्ताङले स्थानीय स्तरमा रोजगार र आयआर्जन बृद्धि नगरिदासम्म सुखी नेपाली समृद्ध नेपालको कल्पना गर्न नसकिने बतए बेथान्चोक गाउँपालिका उपाध्यक्ष तारा राना तिमल्सिना, पूर्व अध्यक्ष प्रेमबहादुर तिमल्सिना, बेथान्चोक गाउँपालिका वडा नम्वर १ का अध्यक्ष मधुसुदन तिमल्सिना, महांकाल गाउँपालिकाका वडा अध्यक्ष, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष विनोद न्यौपाने, निर्वतमान अध्यक्ष बद्रिराज तिमल्सिना, पूर्व अध्यक्ष मोतीराम तिमल्सिना, लेखापरिक्षक रविन श्रेष्ठ, क्याटरिङ तथा पार्टी प्यालेस संघका अध्यक्ष शिवप्रसाद तिमल्सिना, कृषि पत्रकार समाजका अध्यक्ष किरण आचार्य, होटल ब्यवसायीहरु हाईल्याण्ड रिसोर्टका रामसुन्दर बंखे, क्लव हिमालयका चन्द्र श्रेष्ठ, होटल रत्नागिरीका गोपाल नेपाल, कृषक रमण बञ्जारा लगायतले मदानी डेरीले सोहि क्षेत्रमा पु¥याएको योगदानका बारेमा चर्चा गर्दै शुभकामना ब्यक्त गरेका थिए ।