बनेपा/२०८२ भदौ २३ गते २२ जना प्रदर्शनकारी मारिएको जेन्जी आन्दोलनमा ३ जना प्रहरी मारिएका छन् । १० जना कैदी जेल तोडेर भाग्ने क्रममा मारिए । ४१ जना लुटपाट, आगजनी र तोडफोडमा संलग्न हुँदा भदौ २४ गते मारिए । देशभर एकै पटक ४ सय ८४ स्थानमा भएको आन्दोलनमा ७६ जनाले ज्यान गुमाए ।
आन्दोलनका नाममा देशभरका कारागारबाट १५ हजार ५ सय ८८ कैदी फरार भए । करिब १० हजार कैदी फिर्ता वा पक्राउ परेका भए पनि अझै ५ हजार भन्दा धेरै कैदीबन्दी फरार छन् । जसमा चर्चित र गम्भीर अपराधमा संलग्नहरु धेरै छन् । काभ्रेपलाञ्चोक जिल्लामा एउटा सरकारी कार्यालय पूर्णत ध्वस्त भयो । देशभर ६ सय ८८ सरकारी कार्यालय ध्वस्त भए । देशभर ३०७ वटा प्रहरी कार्यालय धवस्त हुँदा काभ्रेमा चारवटा ध्वस्त भए । केहि क्षतिग्रस्त भए । २ सय ५९ वटा निजी निवासमा क्षति पुग्दा जिल्लामा ९ घर परिवारमा क्षति पु¥याए । १ सय २८ ब्यपारिक प्रतिष्ठान तथा १ सय ९८ वटा राजनीतिक दलका कार्यालय ध्वस्त हुँदा जिल्लामा नेपाली काँग्रेस र नेकपा एमालेको कार्यालयमा क्षति पु¥याए ।
आन्दोलनका नाममा लुटिएका हतियार गाउँमा खुलेआम प्रदर्शन हुन थालेका छन् । ९ सय ७८ वटा हतियार लुटिएका मध्ये आधा मात्रै फिर्ता भएका छन् । अझै ५ सय भन्दा धेरै हतियार समुदायस्तरमा छन् । सरकारले तोकिएको मिति फागुन २१ गते निर्वाचन गर्छु भने पनि कैदी बन्दी र हतियारलाई छ्याप्छ्याप्ती राखेर शान्तिपूर्ण र निष्पक्ष निर्वाचन सम्भव हुन सक्छ ? नागरिकहरुले प्रश्न उठाएका छन् । अझ आगजनी र तोडफोडमा प्रत्यक्ष संलग्न भई खुलमखुला चुनौती दिएकाहरुलाई कानूनी कठघरामा नल्याई नागरिकहरुले मतदान गर्ने वातावरण बन्न सक्छ ?









