2026 April 30/ 04:02: 57pm

    धुलिखेल/सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले स्थानीय सरकारका प्रमुख तथा कर्मचारीहरुलाई शैली बदल्न निर्देशन दिएका छन् ।
     जिल्ला स्तरीय समिक्षा तथा तेश्रो जिल्ला सभा बैठक एक वर्षे कामको समिक्षा गर्दै मंगलबार धुलिखेलमा सम्पन्न भएको छ । स्थानीय सरकार जनताको घर दैलोमा रहेकाले तत्काल सेवा प्रभाव गर्नु पर्नेमा मन्त्री बास्कोटाले ध्यानाकर्षण गराएका थिए । जिल्ला स्तरीय समिक्षा तथा तेश्रो जिल्ला सभा बैठकलाई सम्बोधन गर्दै मन्त्री बास्कोटाले जिल्लामा महत्वपूर्ण परियोजना संचालन गर्न १३ वटै स्थानीय तहलाई अनुरोध गरेका थिए । । ‘खुद्राखाद्री काम स्थानीय सरकारको बजेटबाट गर्नुस’–मन्त्री बास्कोटाले भने –‘गौरवका योजनाहरु तय गर्नुस जसमा प्रदेश र संघ सरकारको सहयोग रहनेछ ।’ स्थान अनुसारका योजना प्रत्येक तहले बनाउन र पुस्ताका लागि समेत सम्झनलायक कार्यमा समय खर्चिन मन्त्री बास्कोटाले अनुरोध गरे । मुलुकमा तिब्र विकासको गति शुरु भएकाले काम ढिलाई गरेर बद्नाम गर्ने नियत नराख्न सबै पक्षलाई मन्त्री बास्कोटाले आग्रह गरे । ‘सरकारले झण्डै ३० अर्ब बराबरको प्रस्ताव प्राप्त हुने लक्ष्यका साथ प्रस्तुत गरिएका आयोजनाहरुमा लगानी सम्मेलनबाट २७ अर्ब प्रस्ताव परिसकेको छ’–मन्त्री बास्कोटाले भने –‘सरकार चुप लागेर बसेको छैन अझै ५ वर्षमा धेरै लगानीको वातावरण बनाउने छ ।’ तीनै तहका सरकारले नीतिगत, कानुनी र ब्यवस्थापनका केहि कार्यहरु सम्पन्न गरिसकेकाले जनप्रतिनिधिको परिक्षा भईरहेको मन्त्री बास्कोटाले बताए । जनप्रतिनिधिलाई चुनौती थपिएको बताउँदै मन्त्री बास्कोटाले परिस्थिती सँग्लदै गएकाले पुर्वाधार निर्माणमा स्थानीय सरकार प्रभावकारी हुनु पर्नेमा जोड दिए । सेवा प्रभावलाई गुणात्मकता तर्फ लैजान जोड दिदै उनले भने –‘समस्या छन्, द्वन्द्व र आरोप प्रत्यारोप भन्दा पनि समृद्धतातर्फ अगाडी बढ्नु पर्छ ।’ 
    ईतिहासले रछ्यानमा फालेको कुँडा कर्कटहरुलाई सिरानीमा राखेर बसेका केहि राजनीतिक दलहरु त्यसलाई समातेर आन्दोलनको घोषणा गरिरहेको मन्त्री बास्कोटाले बताए । ‘राजतन्त्र फर्कदैन, धर्म निरपेक्ष राज्य कायम हुन्छ’–उनले भने –‘प्रतिगामी, प्रतिक्रियाबादी, पुर्नरुत्थानबादीहरुले चर्काे कुरा गर्दैमा केहि हुनेवाला छैन ।’ मुलुकमा हिंसा, हत्या र प्रतिगमनसँगग राउण्ड टेबुलमा छलफल हुन नसक्ने उनले बताए । जिल्लामा महत्वपूर्ण योजनाहरु शुरु भएको बताउँदै मन्त्री बास्कोटाले लगानी सम्मेलनमा समेत काभ्रेपलाञ्चोक जिल्ला प्राथमिकतामा परेको बताए ।  जिल्ला समन्वय समितिका प्रमुख उद्धव केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्लाका संघिय सांसदहरु गंगाबहादुर दोङ्ग, नविना लामा, प्रदेश सभा सांसदहरु रत्न ढकाल, चन्द्र लामा, लक्ष्मण लम्साल, बसुन्धरा हुमागाई, गोमा भुर्तेल, जिल्ला सभाका सदस्यहरु स्थानीय तहका प्रमुख उपप्रुखहरु, कार्यालय प्रमुखहरु, स्थानीय सरकारमा कार्यरत प्रमुख प्रशासकिय प्रमुखहरुको सहभागिता रहेको थियो । सभामा २५ वटा कार्यालयको प्रगति विवरण प्रस्तुत गरिएको थियो । उपप्रमुख मञ्जु गौतमले जिल्ला सभाको औचित्यका बारेमा जानकारी गराईन भने समन्वय अधिकारी आनन्दकेशरी पोखरेलले कार्यक्रमको उदेश्यमाथी प्रकाश पारेका थिए ।