धुलिखेल/समृद्ध धुलिखेलका लागि रोजगार मेला धुलिखेलमा शुरु भएको छ । धुलिखेल नगरपालिकाको आयोजनामा आयोजित मेलामा दुई हजार भन्दा धेरैले अवलोकन गरेका छन् । अवलोकन गरेकाहरु मध्ये २ सय भन्दा धेरैलाई रोजगारको ग्यारेन्टी गरिएको छ । रोजगारदाता कम्पनीहरुले क्षमता, योग्यता र आवश्कताका आधारमा सहभागिहरुको रुची अनुसार रोजगारको ग्यारेन्टी गरेका छन् ।
जिल्लामा पहिलो पटक रोजगार मेलाको आयोजना गरिएको हो । धुलिखेल शुन्य गरिवी भएको पालिका घोषणाको तयारीमा जुटेको छ । विशेषगरी पर्यटन, कृषि, पशुपालन, शिक्षा र स्वास्थ्यका क्षेत्रमा धुलिखेलले आम नागरिकहरुलाई समृद्ध बनाउने र आर्थिक रुपले शशक्त बनाउने गरी विभिन्न कार्यक्रमहरु संचालन गरिरहेको छ । सोहि क्रममा रोजगार मेलालाई अवसरको रुपमा लिएको नगरपालिकाले जनाएको छ । रोजगार मेलाको पहिलो दिन स्वस्थ शहर धुलिखेलका सन्र्दभमा स्वास्थ्य क्षेत्रका प्रगति र भावी मार्गदर्शनका विषयमा स्वास्थ्य कार्यालय काभ्रेका पुर्व प्रमुख डा.पुरुषोतम सेढाँई, धुलिखेल अस्पतालका डा.बलराम मल्ल, डा.आभा श्रेष्ठसँग दीर्घराज बरुण श्रेष्ठले प्यानलगत छलफल गरेका थिए ।
दोश्रो चरणमा गन्तब्य धुलिखेल ः पर्यटन मार्फत अवसरहरुको खोजी विषयमा धुलिखेल नगरपालिकाका अधिकृत पुजा काफ्ले, नेपालिज युथ फोरमका आशीष हुमागाई, होटल नेपाल संघ धुलिखेल च्याप्टरका ज्योत्सना सैंजु, नेपाल पर्यटन बोर्डका रोहिणी खनालसँग रोशन घिमिरेले प्यानलगत छलफल गरेका थिए । रोजगार मेलाको दोश्रो दिन आर्थिक विकासको प्रयासः समृद्ध धुलिखेल निर्माणको आधार विषयमा धुलिखेल नगरपालिकाका अधिकृत विदुर गौतम, कृषि विज्ञ हसेरा फार्मका गोविन्द शर्मा घिताल, धुलिखेल उद्योग बाणिज्य संघका अध्यक्ष कोमलसुन्दर श्रेष्ठ, घरेलु तथा साना उद्योग महासंघ महिला समितिका केन्द्रिय अध्यक्ष रोशनी उपाध्याय, अर्थशास्त्री भोजराज पौडेलसँग पत्रकार महासंघका पुर्व अध्यक्ष मोतीराम तिमल्सिनाले प्यानलगत छलफल गरेका थिए । त्यस्तै समृद्ध धुलिखेलका लागि गुणस्तरीय शिक्षा ः साझा दृष्टिकोणका लागि बहस नगरपालिकाका शिक्षा शाखा प्रमुख डिकबहादुर राई, सेतिदेवी मावीका प्रधानाध्यापक राजकुमार सारु मगर, प्याब्सनका मुक्ति रिजाल, शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख सविता दंगाल, शिक्षाविद डा.विद्यानाथ कोईरालासँग सानुकाजी महतले प्यानलगत बहस गरेका थिए ।
पहिलो दिन नै एक सय भन्दा धेरै ब्यक्तिहरुलाई रोजगार दिन रोजगारदाता कम्पनीहरु तयार भएका थिए । रोजगार आवश्यक पर्ने र रोजगार दिने बीचको प्रत्यक्ष कुराकानी तथा आवश्यक सम्पर्क समन्वयका लागि धुलिखेल नगरपालिका रोजगार सेवा केन्द्रले दुई दिने रोजगार मेला आयोजना गरेको हो । दोश्रो दिन थप एक सयलाई रोजगारको ग्यारेन्टि गरिएको छ । ५ सय भन्दा धेरैले रोजगारका लागि सम्र्पक छाडेका छन् । नगरपालिका प्रमुख अशोक ब्याञ्जुले रोजगार मेलाको शुभारम्भ गर्दै धुलिखेलले यस अघि अवलम्वन गरेका विभिन्न कार्यक्रमहरुले गरिवी निवारण लगायतका क्षेत्रमा उल्लेख्य प्रगति गरेकाले त्यसलाई शुन्य बनाउन र बेरोजगार नागरिकलाई रोजगार उपलब्ध गराउन तथा रोजगारदाता निकायलाई दक्ष तथा अदक्ष जनशक्ति प्राप्त गर्ने भरपर्दाे माध्यम बनाउने गरी रोजगार मेला आयोजना गरिएको बताए । रोजगार मेलाको शुभारम्भमा उपप्रमुख निराजन जंगम, प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद मरासैनी, अधिकृत पुजा काफ्ले, रोजगार संयोजक सम्झना शर्मा नेपाल लगायतले रोजगार क्षेत्रमा भएका प्रयास र अभ्यासका बारेमा जानकारी गराएका थिए । समापनका क्रममा शतप्रशित विद्यार्थी उर्तिण गराउन सफल विद्यालय र प्रधानाध्यापकहरुहरुलाई सम्मान गरिएको थियो ।
रोजगार मेलामा सहभागि हुन आएका युवा तथा विभिन्न उमेर समुहका तथा सेवा क्षेत्र अनुसारका ब्यक्तिहरुले सहज रुपमा रोजगारका लागि अनुरोध गरेका थिए । ३० वटा स्टल मार्फत नागरिकहरुलाई रोजगार तथा उत्पादनका बारेमा जानकारी गराईएको छ । पहिलो दिन पर्यटन र स्वास्थ्य सम्वन्धी विषयमा विषय विज्ञहरु सम्मिलित बहस संचालन गरिएको थियो । दोश्रो दिन शिक्षा र आर्थिक विषयमा बहस संचालन हुनेछ । शाखाहरुले नगरपालिका मार्फत भएका विभिन्न कृयाकलापका बारेमा रोजगार मेलामा जानकारी गराएका थिए । धुलिखेल नगरपालिकाका नगर प्रमुख अशोक ब्याञ्जुले मेलाले रोजगारी सिर्जना, क्षमता पहिचान, रोजगारदाता र बेरोजगारको तथ्यांक संकलन, अन्तर निकाय समन्वय र सहजीकरणमा सघाउने विश्वास व्यक्त गरेका छन् । सीप र क्षमता अनुसारको रोजगारी उपलब्ध गराउने उद्देश्यले दुई दिने रोजगार मेला आयोजना गरिएको सामाजिक विकास समिति संयोजक एवं वडा नम्बर ३ का वडा अध्यक्ष गणेश आचार्यले जानकारी दिए । धुलिखेल लज रिसोर्ट, सारथी, धुलिखेल माउण्टेन रिसोर्ट, आगन्तुक रिसोर्ट लगायतबाट विभिन्न पदमा कामदार माग भएको छ । नगरपालिकाले प्रदान गरेको सीपबाट उद्यमी बनेकाहरुको सीप समेत मेलामा प्रदर्शन भएको प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद मरासिनीले बताए ।
मेलामा रोजगारदातासँग प्रत्यक्ष कुराकानी, करियर काउन्सिलिङ लगायत स्थानीय उत्पादन, स्थानीय खानाका परिकार, स्वस्थ शहरबारे जानकारी लगायतका स्टलहरु रहेको रोजगार संयोजक सम्झना शर्मा नेपालले जानकारी दिइन् । रोजगारदाता र बेरोजगारबीच समन्वय गराउन धुलिखेल नगरपालिकाले रोजगार मेला आयोजना गरेको उनको भनाई छ । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत धुलिखेल नगरपालिका नमूना रोजगार केन्द्रको रुपमा छनौट भएको छ । छिमेकी पालिकासँगको समन्वयमा बढीभन्दा बढी रोजगारीको अवसर सिर्जना गर्ने गरि काम गरिरहेको नगरपालिकाले जनाएको छ । रोजगार मेलामा शिक्षा, स्वास्थ्य, कृषि क्षेत्रका सम्भावना बारे समुहगत छलफल समेत हुनेछ ।









