2026 March 11/ 10:33: 50am

         धुलिखेल/रोजगारदाता र बेरोजगारबीच समन्वय गराउन धुलिखेल नगरपालिकाले रोजगार मेला आयोजना गर्ने भएको छ । 
असार तेस्रो साता धुलिखेल नगरपालिकामा हुने मेलामा, रोजगारदाता, बेरोजगार युवा, व्यवसायी, उद्यमी लगायतको उपस्थिती रहने रोजगार संयोजक सम्झना शर्मा नेपालले जानकारी दिइन् । 
        नगरपालिकाका प्रमुख प्रशासीय अधिकृत मोहन प्रसाद मरासिनीले विश्वविद्यालय, अस्पताल, होटल, व्यवसाय, लगायतका क्षेत्रका सीप, कृषि उपज सहितका विभिन्न स्टल रहने बताए । करियर काउन्सेलिङ, सीप विकास, परामर्श, नगरक्षेत्रमा उत्पादित उपज र रोजगारी सर्जनाका लागि भइरहेका प्रयास समेत मेलामा राखिने उनको भनाई छ । धुलिखेल नगरपालिकाका नगर प्रमुख अशोक ब्याञ्जुले मेलाले रोजगारी सिर्जना, क्षमता पहिचान, रोजगारदाता र बेरोजगारको तथ्यांक संकलन, अन्तर निकाय समन्वय र सहजीकरणमा सघाउने बताए । 
        सोही अवसरमा नगरपालिकाले व्यवसायिक योजना बनाउने पनि उनले जानकारी दिएका छन् । हाट बजार सञ्चालन, रैथाने खानाको ब्राण्डिङ, कोसेली घर सञ्चालनबाट पनि रोजगारी सिर्जना गर्न सकिने बताए । रोजगारीका नयाँ नयाँ क्षेत्र पहिचानका लागि मेला महत्वूर्ण हुने उनको भनाई छ । कार्यक्रममा वडा अध्यक्षहरु, उद्योग वाणिज्य संघ, होटल व्यवसायी, उद्यमी महिला, पत्रकार लगायत सरोकारवालको उपस्थिती रहेको थियो । नेपाल सरकारले धुलिखेल नगरपालिकालाई नमुना रोजगार सेवा केन्द्रका रुपमा समेत छनौट गरेको छ ।