2025 July 14/ 05:30: 08am

जिया र प्रकृतिको ४ जीपीए

गरिमा सामुदायिक विद्यालयमा पहिलो
बनेपा/एसईई २०८१ मा काभ्रेपलाञ्चोक जिल्लाबाट ८६.२९ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । ५ हजार ६ सय जना परीक्षामा सहभागी भएकोमा सामुदायिक विद्यालयका २ हजार ७ सय ६३ (८०.२३ प्रतिशत) जना र संस्थागत विद्यालयका २ हजार ६९ (९५.९६ प्रतिशत) जना विद्यार्थी उत्तीर्ण भएका शिक्षा विकास तथा समन्वय इकाई काभ्रेले जानकारी दिएको छ । परीक्षामा सामुदायिक १५० र संस्थागत ६३ सहित २ सय १३ विद्यालयका ५ हजार ६ सय विद्यार्थी सहभागी भएका हुन् । जसमध्ये ८४ वटा विद्यालयमा शतप्रतिशत विद्यार्थी पास भएका छन् । सामुदायिक ३९ र संस्थागत ४५ विद्यालय शतप्रतिशत नतिजा निकाल्न सफल भएका हुन् । प्राविधिक धारतर्फ भने जिल्लाका ८ वटै विद्यालयमा शतप्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । १ सय ७८ जना सहभागी भएकोमा सबै पास भए । उत्तीर्ण ४ हजार ८ सय ३२ विद्यार्थी मध्ये ४ जीपीए २ जनाले ल्याएका छन् ।
एसईईको नतिजा विवरण फोटो
प्रकाशित नतिजा अनुसार गतवर्षको तुलनामा यस वर्ष एसईईको नतिजा सुध्रिएको छ । गत वर्ष २ सय १६ विद्यालय मध्ये १८ वटा विद्यालयले मात्रै शतप्रतिशत विद्यार्थी उत्तिर्ण गराएका थिए । १३ वटा विद्यालयले एकजना पनि विद्यार्थी उत्तीर्ण गराउन सकेका थिएनन् । ४ जीपीए एक जनाको मात्रै आएको थियो । बनेपा नाला स्थित लिंकन माविकी स्मृति श्रेष्ठले चार जीपीए ल्याएकी थिइन् । यसवर्ष भने चार जीपीए दुई जनाले ल्याएका छन् । ३.२०–३.६० जीपीए प्राप्त गर्ने विद्यार्थी सबैभन्दा धेरै छन् । उक्त जीपीए १ हजार ५ सय ७४ विद्यार्थीले प्राप्त गरेका छन् । ३.६०–४.०० जीपीए ९ सय १९, ३.२०–३.६० जीपीए १ हजार ५ सय ७४, २.८०–३.२० जीपीए १ हजार ४ सय २०, २.४०–२.८० जीपीए ८ सय २९, २.००–२.४० जीपीए ८८ जनाले ल्याएका छन् । ७ सय ६८ विद्यार्थी भने अनुत्तीर्ण भए । जसमा सामुदायिक विद्यालयका ६ सय ६१ र संस्थागत विद्यालयका ८७ जना छन् ।

विकटेश्वर र ग्रेसल्याण्ड प्रथम, सामुदायिकतर्फ चण्डेश्वरी पहिलो
माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा काभ्रेबाट दुई छात्राले चार जीपीए ल्याएका छन् । राष्ट्रिय परिक्षा बोर्डले शुक्रबार प्रकाशित गरेको नतिजा अनुसार बनेपा नगरपालिका–१३ स्थित विकटेश्वर माविकी जिया खत्री र बनेपा–१४ को ग्रेसल्याण्ड अंग्रेजी विद्यालयकी प्रकृति दुलाल ४ जीपीए सहित जिल्ला प्रथम भएका छन् । ४ जीपीए प्राप्त गर्ने दुवै विद्यार्थी संस्थागत विद्यालयका हुन् । सामुदायिक विद्यालयतर्फ बनेपा–४ स्थित चण्डेश्वरी सृष्टिकान्त विद्यालयमा ३.९१ जीपीए सहित शतप्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् छन् । चण्डेश्वरी माविकी गरिमा अधिकारी ३.९१ जीपीए सहित सामुदायिक विद्यालयतर्फ प्रथम भएकी छन् । पनौती नगरपालिका–८ को भालेश्वर माविले उच्चतम जीपीए ३.८५ सहित शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल भएको छ । 
जिल्ला प्रथम जिया र प्रकृतिलाई बधाई
एसईईमा ४ जीपीए ल्याउने विकटेश्वर विद्यालयकी जिया खत्री लाई एक कार्यक्रमका विच विद्यालयले सम्मान गरेको छ । प्याब्सनका केन्द्रिय उप–महासचिब भिमसेन केसीले खत्रीलाई सम्मान गर्दे मेहनतको प्रतिफल पाएकोमा बधाई दिए । केसीले संस्थागत विद्यालयहरुको प्रत्येक वर्ष नतिजा राम्रो ल्याइरहेको बताए । विद्यार्थी, शिक्षक र अभिभावकको मेहनतका कारण राम्रो नतिजा प्राप्त गरी जिल्लाकै नाम राख्न सफल भएकोमा केसीले धन्यबाद दिएका थिए । कार्यक्रममा बनेपा नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष राम बहादुर कुँवर, १३ का वडा अध्यक्ष रामलाल दुवाल, वडा सदस्यहरु, शिक्षक, अभिभाबक र विद्यार्थीहरुको उपस्थिति रहेको थियोे । 
फोटो
          विद्यालयका संस्थापक प्रिन्सिपल श्याम बहादुर भुजेलले शिक्षक, विद्यार्थी र अभिभवकको मेहनतले विद्यालयले जिल्लाकै नाम राख्न सफल भएको बताए । उच्च शिक्षामा समेत यस्तै मेहनत गर्न उनले विद्यार्थीलाई आग्रह गरेका छन् । विद्यालयबाट २०८१ को परिक्षामा २३ जनाले एसईइ दिएकामा शतप्रतिशत उच्च जीपिए ल्याई उत्तीर्ण सम्पूर्णलाई विद्यार्थीहरुलाई सम्मान गरिएको थियो । ४ जीपिए ल्याउने जिया खत्रीका बुबा आमालाई समेत विद्यालयले सम्मान गरेको छ । भुजेलले विद्यालयमा अतिरिक्त कक्षाहरु सगै प्रविधिको सदुपयोग गर्दे स्मार्ट बोर्ड, नयाँ प्रविधि मार्फत गुणस्तरीय शिक्षा प्रदान गर्दे आएकोले उक्त प्रतिफल प्राप्त गर्न सफल भएको बताए । 
         बनेपा नगरपालिका–१४ साँगा मा रहेको ग्रेस ल्याण्ड अंग्रेजी माध्यमिक विद्यालयले राष्ट्रिय परिक्षा बोर्डले प्रकाशित गरेको नतिजा अनुसार ४ जीपिए ल्याई जिल्ला प्रथम प्रकृति दुलाललाई सम्मान गरेको छ । विद्यालयका प्रिन्सिपल सुजेन्द्र श्रेष्ठले जिल्ला प्रथम दुलाललाई सम्मान गर्दे आगामी उच्च शिक्षा समेत सफलाको शुभकामना व्यक्त गरेका थिए । 
           विद्यालयको नर्सरी देखी कक्षा १० सम्मै अध्यनरत अनुशासित, मेहनती मेधाबी छात्रा प्रकृती दुलाले विद्यालयक सगै जिल्लाको नाम राख्न सफल भएकोमा बधाई दिएका थिए । विद्यालयकै अनुशासित र मेहनती छात्रालाई शिक्षक, अभिभाबक र दुलालको मेहनतले नै उक्त नतिजा प्राप्त गर्न सफल भएको श्रेष्ठले बताए । जिल्ला प्रथम दुलाले आफुले सोचेको नतिजा प्राप्त गरेको बताईन् । आफुले नजानेको कुरा युटुब र अनलाईमा पढ्ने, त्यति गर्दा पनि आएन भने शिक्षकलाई सोधेर पढ्ने गर्दा सफल भएको उनले बताईन् । भविश्यमा डाक्टर बन्ने ईच्छा रहेकाले आगामी दिनमा अझै मेहनत गर्ने र यो अबस्थामा आउन अभिभावक र शिक्षकको ठुलो साथ रहेको दुलालले बताईन् । कार्यक्रममा विद्यालयमा शतप्रतिशत उतिर्ण भएकोमा प्रिन्सिपल सुजेन्द्र श्रेष्ठले बधाई दिदै सम्पुर्ण विद्यार्थीहरुलाई सम्मान गरेका थिए । कार्यक्रममा शिक्षक, अभिभाबक र विद्यार्थीहरुको उपस्थिती रहेको थियो ।
बाबु–छोरा सँगै एसईई पास
           एसईईमा बाबु छोरा सँगै पास भएका छन् । धुलिखेल नगरपालिका वडा नम्बर ९ काभ्रेभञ्ज्याङका सिताराम हुमागाँई र उनका छोरा आयुष एसईई उत्तीर्ण भएका हुन् । २५ वर्षअघि कक्षा आठ उत्तीर्ण गरेर पढाई छोडेका सिताराम छोरा आयुषसँगै एसईई उत्तीर्ण भएका छन् । सितारामले ३८ वर्षको उमेरमा एसईई पास गरेका हुन् भने छोरा आयुष १६ वर्षका भए । सितारामले जाइना वैकल्पिक विद्यालय सोह्रखुट्टेबाट एसईई दिएका थिए । उनले २.८८ जीपीए ल्याएका छन् । छोरा आयुषले बनेपाको बेलर एकेडेमीबाट परिक्षा दिएका हुन् । आयुषको ३.२९ जीपीए छ । एसईईको नतिजा सार्वजनिक भएपछि छोरा आयुषले सबैभन्दा पहिला बुबा सितारामलाई फोन गरेर आफु पास भएको जानकारी गराएका थिए ।
          उनले भने, ‘बाबा, म त पास भएँ, तपाईको रिजल्ट के भयो ? ।’ छोरा आयुषलाई उनले आफुपनि पास भएको बताएपछि परिवारमा उत्सवको वातावरण बन्यो । उनले भने, ‘परिवारमा सबै खुसी हुनुभयो, नब्बे वर्षका बुवा (सोमप्रसाद हुँमागाई) हुनुहुन्छ, उहाँ झन् खुसी हुनुभयो ।’ 
कामको सिलसिलामा पढाई महत्वपूर्ण छ भन्ने महसुस भएपछि पुनः पढ्न थालेको उनले बताए । सितारा नेपाली सेनामा कार्यरत छन् । इच्छा भयो भने सकिन्छ भन्ने महसुस गरेको उनले बताए । अब कक्षा ११ मा कम्प्युटर साइन्स पढ्ने सितारामको योजना छ । छोरालाई के पढाउनुहुन्छ ? भन्ने प्रश्नमा उनले भने, ‘छोराको आईटीमा चासो बढी छ । उसको चाहना बुझेर त्यसैअनुसार कक्षा ११ मा भर्ना गर्छु । मिल्यो भने बाबु छोरा सँगै पढ्छौं ।’
पनौती उत्कृष्ट, खानिखोला कमजोर
         काभ्रेका १३ स्थानीय तहमध्ये एसईईमा पनौती नगरपालिका उत्कृष्ट भएको छ । शुक्रबार प्रकाशित माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा अनुसार पनौती नगरपालिकाबाट ९६.८८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । नगरपालिकाका २७ विद्यालयबाट ८ सय ३३ जना विद्यार्थी परीक्षामा सहभागी भएकोमा ८ सय ७ जना उत्तीर्ण भएका छन् । जसमध्ये ३.२०–३.६० जीपीए प्राप्त गर्ने विद्यार्थी धेरै छन् । ३.६०–४.०० जीपीए प्राप्त गर्ने विद्यार्थी २१३, ३.२०–३.६० जीपीए ३०४, २.८०–३.२० जीपीए २१०, २.४०–२.८० जीपीए ७९ र २.००–२.४० जीपीए १ जना विद्यार्थीले प्राप्त गरेका छन् । २६ जना भने अनुत्तीर्ण भए । पनौती नगरपालिकाका १७ विद्यालयमा शतप्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । जसमध्ये सामुदायिक विद्यालय ५ वटा छन् भने संस्थागत १२ वटा छन् । सामुदायिक विद्यालयतर्फ शान्ति निकेतन मावि, बालोद्धार मावि, भालेश्वर मावि, शारदा मावि र बालप्रकाश माविमा शतप्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । संस्थागत विद्यालयतर्फ न्यू राइजिङ, लिलावती एकेडेमी, काभ्रे अंग्रेजी मावि, सामुदायिक, पनौती अंग्रेजी मावि, सेन्टलम एल्बम एकेडेमी, हाइल्याण्ड, सरस्वतीकुञ्ज, सुर्योदय, नवरत्न, सिद्धार्थ वनस्थली इन्ष्टिच्ुट र ज्ञानज्योति एकेडेमीमा शतप्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल काभ्रे अंग्रेजी माविमा ३८ जना विद्यार्थीले ३.६१–३.९१ जीपीए ल्याएका छन् । यो विद्यालयमा न्यूनतम जीपीए नै ३.३५ छ । छात्रतर्फ पनौतीकै ३ विद्यार्थी जिल्ला प्रथम भएका छन् । न्यू राइजिङ अंग्रेजी माविका अनुराग सापकोटा, अरुणोदय अंग्रेजी माविका सहर्ष नगरकोटी र सिद्धार्थ वनस्थली इन्ष्टिच्युटका जेनिस बासी जिल्ला प्रथम भएका हुन् । तीनै जनाले बराबर ३.९६ जीपीए ल्याएका छन् ।
       पनौती नगरपालिकाबाट ९६.८८ प्रतिशत विद्यार्थी उत्तीर्ण हुँदा खानिखोला गाउँपालिकामा भने ४९.७२ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण भएका छन् । 
एसईईको स्थानीय तहगत विवरण

मण्डनदेउपुर नगरपालिकामा ९५.५०, बनेपामा ९३.४६, धुलिखेलमा ९२.२४, पाँचखालमा ८३.३७, नमोवुद्ध ८६.८५, बेथानचोकमा ८८.७७, महाभारतमा ५९.२९, भुम्लु ७०.६३, तेमालमा ८९.६०, चौंरीदेउराली गाउँपालिकामा ६७.२५, रोशी गाउँपालिकामा ६६.०८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । रोशी गाउँपालिका–११ को भिमेश्वर माविमा एक जना मात्रै उत्तीर्ण भएका छन् । १४ विद्यार्थी परिक्षामा सहभागी भएकोमा एक जना मात्रै पास भएका हुन् ।
धुलिखेलका १२ विद्यालयमा शतप्रतिशत उत्तीर्ण
         धुलिखेल नगरपालिकाका १२ वटा विद्यालयमा शतप्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । शुक्रबार सार्वजनिक भएको माध्यमिक शिक्षा परिक्षाको नतिजा अनुसार ५ वटा सामुदायिक विद्यालय र ७ वटा संस्थागत विद्यालयले शतप्रतिशत नतिजा ल्याउन सफल भएका हुन् । सामुदायिक विद्यालय तर्फ वडा नम्बर–१ देविटारमा रहेको देवीस्थान मावि, वडा नम्बर २ को सेतिदेवी मावि, पूर्ण सञ्जीवनी लङखनामाई मावि, धुलिखेल–११ को हनुमान मावि र कालिदेवी माविमा शतप्रतिशत विद्यार्थी उत्तीर्ण भएका धुलिखेल नगरपालिका शिक्षा शाखाका अधिकृत भोजकुमार ठकुरीले जानकारी दिए । यस्तै संस्थागत विद्यालयतर्फ गोल्डेन सिद्धार्थ, इम्यानुएल इङ्गलिस बोर्डिङ स्कुल, माउण्ट भ्यू, धुलिखेल हाई स्कुल, बाल विकास विद्याश्रम मावि, नमोबुद्ध इङ्गलिश र्बोडिङ स्कुल र डिभाइनलाइट स्कुलले शतप्रशित नतिजा निकालेको छ । नगरको औसत उत्तीर्ण प्रतिशत ९२.९३ रहेको छ । ७६ प्रतिशत विद्यार्थीले २.८० जीपीए भन्दा माथी अंक ल्याएका छन् । धुलिखेल नगरपालिकाका नगर प्रमुख अशोक ब्याञ्जुले शिक्षाको गुणस्तर सुधार गर्न महत्वपूर्ण भूमिका खेल्ने शिक्षक, विद्यार्थी, अभिभावक लगायत सरोकारवालाप्रति आभार व्यक्त गरेका छन् ।