2025 December 16/ 05:58: 40am

        श्रीखण्डपुर/३९ औं अन्तराष्ट्रिय एसओएस दिवसका अवसरमा एसओएस हर्मन माइनर विद्यालय काभ्रेले आमन्त्रित अन्तर विद्यालयस्तरीय लोकनृत्य प्रतियोगिता आयोजना गरेको छ । 
       प्रतियोगितामा पनौती, बनेपा र धुलिखेल नगरपालिकाका २३ विद्यालय सहभागी थिए । लोक नृत्य प्रतियोगितामा पनौतीको सरस्वतीकुञ्ज माध्यमिक विद्यालय प्रथम, बनेपाको एभरेष्ट एकेडेमी दोस्रो र पनौतीको अरुणोदय माविले तेस्रो स्थान हासिल गरेको छ । 
प्रथम सरस्वती कुञ्जले नगद १० हजार सहित प्रमाणपत्र, दोस्रो एभरेष्ट एकेडेमीले नगद ७ हजार र तेस्रो अरुणोदय माविले नगद ५ हजार सहित प्रमाण पत्र प्राप्त गरेको छ । विद्यार्थीहरुले नेपाली संस्कृति झल्कने लोक नृत्य प्रस्तुत गरेका थिए । प्रतियोगितामा नेपाल नृत्य संघ काठमाडौंका अध्यक्ष भुवन श्रेष्ठ, कोषाध्यक्ष शारदा शर्मा, सदस्य यामबहादुर गुरुङ निर्णायकको भूमिकामा थिए ।
             कार्यक्रममा एसओएस बालग्राम काभ्रेका विद्यालय व्यवस्थापन समिति अध्यक्ष तुल्सीरत्न छुँजुँको सभापतित्व रहेको थियो भने वरिष्ठ लोक गायक मच्छेश्वर सापकोटाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा एसओएस हर्मन माइनर विद्यालय काभ्रेका प्राचार्य नरेश्वर आचार्यले लोक नृत्य संस्कृति, परम्परा र ऐतिहासिक चेतनाको जीवन्त अभिव्यक्त भएको बताए । उनले लोक नृत्यलाई अनुपम कलाको रुपमा समेत ब्याख्या गरेका छन् । लोक नृत्य प्रतियोगिता भेषभुषा र संस्कृतिको सम्मान गर्ने पवित्र प्रयास भएको समेत उनले बताएका छन् । नृत्य मार्फत नेपालको विविध भुगोल, संस्कृति र जातजातीको बारेमा जान्ने र वुझ्ने अवसर प्राप्त गरेको भन्दै उनले खुसी व्यक्त गरेका छन् । 
कार्यक्रममा प्याब्सन काभ्रेका अध्यक्ष श्याम भुजेलले संस्कृतिको सम्मानका लागि आयोजना गरिएको प्रतियोगिता महत्वपूर्ण रहेको बताए । विद्यालयले एसओएस दिवसका अवसरमा विविध कार्यक्रम गरिरहेको छ रक्तदान लोक नृत्य प्रतियोगिता, एकेडेमिक प्राइज डिस्ट्रिव्युसन र समूदाय तथा बालग्रामबीच फूटबल कार्यक्रम गरिएको कार्यक्रम संयोजक हरिनारायण तिम्सिनाले जानकारी दिए । 
         ३९ औं अन्तराष्ट्रिय एसओएस दिवसका अवसरमा जुनियर रेडक्रस सर्कल एसओएस हर्मनमाईनर विद्यालय काभ्रेको आयोजनामा तथा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा काभ्रेको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । 
         विद्यालय व्यबस्थापन समितिका अध्यक्ष तुल्सीरत्न छुँजुले रक्तदान गरी कार्यक्रमको उद्घाटन गरिएको थियो । शिक्षक, अभिभावक र विद्यार्थी गरी ४२ जनाले रक्तदान गरेका विद्यालयका प्रिन्सिपल नरेश्वर आचार्यले बताए । विद्यालयले प्रत्येक वर्ष एसओएस दिवसका अवसरमा विभिन्न कार्यक्रम र रक्तदान गर्दै आएको आचार्यले बताए । विद्यालयले सोहि अवसरमा आगामी असार ८ गते आईतबार बनेपा, पनौती र धुलिखेल नगरपालिका स्तरीय खुल्ला लोक नृत्य प्रतियोगिता आयोजना गरेको प्रिन्सिपल आचार्यले बताए । 
कार्यक्रममा विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष तुल्सीरत्न छँुजु, प्रिन्सिपल नरेश्वर आचार्य, नेपाल रेडक्रस सोसाईटी काभ्रे शाखा उप–सभापति पुष्पा बस्नेत खड्का, शिक्षक नायक हरिनारायण तिमल्सिना, जुनियर रेडक्रस एसोएस विद्यालयकी सभापति निलम देउजा लगाएतको उपस्थिती रहेको थियो ।