काभ्रे/नेपाल रेडक्रस सोसाइटी बागमती प्रदेश स्तरीय जुनियर युवा रेडक्रस शिविर धुलिखेलमा सम्पन्न भएको छ ।
शिविरको उद्घाटन बागमती प्रदेश सरकारका मुख्यमन्त्री बहादुर सिंह लामाले गरेका थिए । मुख्यमन्त्री लामाले गत असोजको बाढी पहिरो पछिको खोज उद्धार र राहतका लागि रेडक्रसले खेलेको भूमिकाको प्रशंसा गरेका छन् । रेडक्रसको नारा मानवता, निष्पक्षता, तटस्थता, स्वाधीनता, स्वयंसेवा, एकता र विश्वव्यापकता आफैंमा महत्वपूर्ण रहेको भन्दै यो भावनाले सकारात्मकता जागृत गराउने उनले बताए । सानैदेखि समाजसेवा र मानवताको भावना जागृत गराउनुपर्नेमा उनले जोड दिएका छन् ।
बनेपा नगरपालिकाका नगर प्रमुख शान्तिरत्न शाक्यले रेडक्रसले विपद्को समयमा गरेको सहयोग अविस्मरणीय रहेको बताए । बागमती प्रदेश नीति तथा योजना आयोग सदस्य गुणराज मोक्तानले विश्वमा सबैले अप्ठेरोमा रेडक्रस सम्झने गरेको भन्दै संस्थाको अभियान्ता बन्नु गर्वको विषय भएको बताए । रेडक्रसको सिद्धान्तलाई जीवनपद्दति बनाउनुपर्नेमा उनले जोड दिएका छन् । नेपाल रेडक्रस सोसाईटी केन्द्रिय कार्यालयका कार्यकारी निर्देशक धर्मदत्त विडारीले मानवीय अवधारणामा विचलन आइरहेको सन्दर्भमा युवालाई मानवीय सेवामा जागृत गराउने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको बताए ।
कार्यक्रममा रेडक्रस सोसाईटी बागमती प्रदेश अध्यक्ष भोलानाथ रुपाखेती, जिल्ला शाखा सभापति देवेन्द्र प्रसाद भैल लगायतले रेडक्रसले गरिरहेको काम बारे जानकारी गराएका थिए । शिविरमा बागमती प्रदेशका १३ जिल्लाका ५० भन्दा बढी सहभागी रहेका थिए । हरेक जिल्लाबाट जुनियर युवा रेडक्रस सर्कल २ जना, शिक्षक नायक र जिल्ला शाखा प्रतिनिधि १ जना गरी ४ जना सहभागी रहेका प्रदेश महासचिव रामजी पौडेलले जानकारी दिए । शिविरमा रेडक्रस मुभमेन्टका बारेमा जुनियर विभाग अधिकृत राम श्रेष्ठले प्रशिक्षण दिएका छन् । यस्तै संशोधित जुनियर निर्देशिकाका बारेमा जुनियर विभाग अधिकृत सुमिरा न्यौपाने, असल अभ्यास अनुभव आदानप्रदान प्रदेश महासचिव रामजी पौडेल, साइबर सुरक्षा अभिमुखीकरण नेपाल प्रहरी साइबर व्युरो, रक्त उत्प्ररेणा जुनियर विभाग अधिकृत राम श्रेष्ठ, मानसिक स्वास्थ्य अभिमुखीकरण स्वास्थ्य विभाग अधिकृत टिका पौडेलले सहजीकरण गरेकी थिइन् । शिविरमा रेडक्रस युवा सशक्तिकरण र सहभागीता सम्बन्धी नीति बहस तथा युवा सहभागीता सुनिश्चितता सम्बन्धी बहस हुने आयोजकले जनाएको छ ।
सोही अवसरमा काभ्रे जिल्ला शाखाले रेडक्रसलाई सहयोग गर्ने व्यक्तित्वहरुलाई सम्मान गरेको छ । पूर्व सभापति एवं सल्लाहकार सोमप्रसाद हुमागाँई, श्याम सुन्दर श्रेष्ठ, रघुवर चौ प्रधान, जिल्ला शाखा सदस्य विश्वनाथ ताम्राकार, भोगेन्द्र बहादुर कुँवर, गंगा प्रसाद अधिकारी, माधव नारायण जोशी र सिद्धिबहादुर कर्माचार्यलाई सम्मान गरिएको थियो ।





