धुलिखेल/जिल्ला अदालत काभ्रेपलाञ्चोकले प्रेम गर्ने, सहमतिमा सम्वन्ध राख्ने र असहमति हुँदा जबरजस्ती करणीमा मुद्दा दर्ता गर्ने घटनाहरुलाई निस्तेज पार्ने गरी अभियोगमा संलग्न ब्यक्तिलाई सफाई दिएको छ ।
जिल्ला न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले २०८१ भदौ ११ गते जिल्ला सरकारी वकिल कार्यालय मार्फत अदालतमा दर्ता गरेको अभियोगमा महाभारत गाउँपालिकाका टंक राना मगरलाई अभियोग दावी नपुग्ने ठहर गरेको हो । २०८२ जेष्ठ २६ गते भएको उत्त आदेश पछि टंक राना मगरले जबरजस्ती करणी अभियोगबाट सफाई पाएका हुन् ।
घटना विवरण अनुसार बनेपा नगरपालिका वडा नम्बर ८ स्थित ईट्टभट्टामा डेरा गरी बस्ने प्रतिवादी टंकबहादुर राना मगरले आफ्नी प्रेमिकालाई बनेपाको अरनिको राजमार्गसँगै टेलिकमचोकमा बोलाएर ललाई फकाई कोठामा पु¥याई जबजस्ती करणी गरेको जाहेरी दर्ता भएको थियो । प्रहरीले सोहि जाहेरीका आधारमा टंक राना मगरलाई पक्राउ गरी अनुसन्धान गरेको थियो । टंक राना मगरले आफु आईचर गाडी चलाउने क्रममा बालुवा तथा ढुंङ्गा ओसारपसार गर्दा उनकै गाउँमा पुगेको समयमा शुरुको समयमा चिनजान भएको बयान दिएका थिए । त्यसपछि लगातार फेसबुक, फोन, म्यासेज मार्फत तीन वर्ष देखि प्रेम गरिरहेका थिए । पीडितको उमेर सानै थियो । कक्षा १० मा अध्ययन गर्ने भएकाले विवाह र सम्वन्धका लागि समय नभएको भन्दै उनिहरुले एक अर्कालाई विश्वासमा प्रेम गरिरहने बताएका थिए । २०८१ साल असार १० गते बालिका कक्षा १० को ट्युसन अध्ययन गर्न बनेपा आईन् । त्यतिबेला तीन वर्ष लामो प्रेममा बसेको अवस्थामा भेटघाट गरौ भन्ने कुराकानी भयो । सोहि क्रममा २०८१ साउन ९ गते टंक र बालिकाको भेटघाट भयो । पछि उनी मामाघर जाने भन्दै विदा भईन् । केहि दिन पछि उनले आफन्तको सहयोगमा टंक विरुद्ध जबरजस्ती करणीमा जाहेरी दिईन् ।
एक वर्ष लामो अनुसन्धान पछि टंक राना मगरले सफाई पाए । बालिकाले २०८१ सालको एसईई दिएकी छिन् । जिल्लामा पछिल्लो समय प्रेम गर्ने अनि अभिभावकहरुले थाहा पाए पछि जोगिनलाई करणीमा उजुरी दिने क्रम बढिरहेको छ । जिल्ला अदालतले यस्ता घटनामा तथ्य र प्रमाणका आधारमा मुद्दालाई फैसला गरेको छ । यस अघि पनि यस्ता अभियोगहरुमा पीडकहरुले सफाई पाएका छन् ।









