2025 July 14/ 06:13: 39am

    बनेपा/.जिल्लाका १३ वटै स्थानीय तहले आगामी आर्थिक वर्ष २०८२/८३ को नीति कार्यक्रम र बजेट सार्वजनिक गरेका छन् । असार १० गतेभित्र नीति तथा कार्यक्रम ल्याउनुपर्ने र असार मसान्तसम्म बजेट पारित गर्नुपर्ने कानूनी व्यवस्थाअनुसार १३ वटै पालिकाले समयसीमा भित्रै बजेट प्रस्तुत गरेका हुन् । 
    स्थानीय तहहरुले शिक्षा, स्वास्थ्य, रोजगारी, सीप विकासका कार्यक्रमलाई प्राथमिकतामा राखेर बजेट ल्याएका छन् । १३ स्थानीय तहमध्ये पनौती नगरपालिकाले सबैभन्दा ठूलो आकारको बजेट ल्याएको छ । सबैभन्दा कम बजेट जिल्लाको डाँडापारी क्षेत्र भनेर चिनिने खानिखोला गाउँपालिकाले ल्याएको छ ।
    पनौती नगरपालिकाले १ अर्ब ६१ करोड ११ लाख ११ हजार रुपैयाँको बजेट नगर सभामा प्रस्तुत गरेको छ भने खानीखोला गाउँपालिकाले ५२ करोड २३ लाख ३२ हजार रुपैयाँको बजेट ल्याएको छ । धेरै बजेट ल्याउने पालिकाको दोस्रो नम्बरमा व्यापारीक नगरी बनेपा रहेको छ । बनेपा नगरपालिकाले १ अर्ब २४ करोड ६५ लाख १३ हजार २ सय ८६ रुपैयाँको बजेट ल्याएको छ । धेरै बजेट ल्याउने तेस्रो पालिका हो धुलिखेल नगरपालिका । धुलिखेलमा १ अर्ब १८ करोड ४८ लाख ५० हजारको बजेट सहितको नीति कार्यक्रम नगर सभाबाट पास भएको छ । मण्डनदेउपुर नगरपालिकाले १ अर्ब १० करोड ७५ लाख ४५ हजार ५ सय ५९, पाँचखाल नगरपालिकाले ८२ करोड ५१ लाख ८४ हजार ८ सय २, नमोबुद्ध नगरपालिकाले ८० करोड ७३ लाख २३ हजार १ सय ६०, रोशी गाउँपालिकाले ७२ करोड ४ लाख ३७ हजार, चौंरीदेउराली गाउँपालिकाले ६९ करोड ५ लाख, बेथानचोक गाउँपालिकाले ६४ करोड ७३ लाख ५ हजार २ सय ४३, भुम्लु गाउँपालिकामा ६२ करोड ७६ लाख ३९ हजार, महाभारत गाउँपालिकामा ६० करोड १३ लाख १ हजार र तेमाल गाउँपालिकाले ५३ करोड १२ लाख ६४ हजार ६ सय ४० रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
    जिल्लामा सबैभन्दा पहिला नीति, कार्यक्रम र बजेट ल्याएको धुलिखेल नगरपालिकाले प्रदेश सरकार खारेजको प्रस्ताव सर्वसम्मत पारित गरेको छ । नगर सभाले पारित गरेको प्रस्ताव केन्द्रिय सरकारलाई जानकारी गराउने नगर प्रमुख अशोक ब्याञ्जुले बताए । नगरपालिकाले गरेको प्रदेश सरकार खारेजको प्रस्तावले देशभर तरंग ल्याएको छ । प्रदेश सरकार खारेज गर्न माग गर्दै धुलिखेल नगरपालिकाको सत्रौं नगर सभामा विशेष प्रस्ताव पेश भएको थियो । धुलिखेल नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष एवं सभा सदस्य अर्जुन न्यौपानेले शुन्य समयमा आर्थिक वर्ष ०८२÷८३ को नीती तथा कार्यक्रम र बिनियोजित आर्थिक ऐनहरुका विषयमा गम्भिर प्रश्न खडा भएकोले प्रदेश सरकार खारेज गरि प्रदेश सरकारलाई विनियोजित बजेट सिधा स्थानीय तहमा विनियोजन गर्न सभा मार्फत संघिय संसदमा प्रस्ताव पेश गरेका थिए । 
    प्रदेश सरकारले स्थानिय सरकारसँग समन्वय र सहकार्य नगरेको, बजेट नीति सरकारको हैसीयतमा संविधान बमोजिम विनियोजन नगरेको, संविधानको सहअस्तित्व सहकार्य र समन्वयको सिद्धान्त विपरीत कार्य गरी स्थानिय सरकारलाई उपेक्षा गरेको, स्थानिय सरकारको अधिकार र जिम्मेवारी लाई कुन्ठित गरेको र व्यक्तीबादी कार्य गरेको, जिल्ला स्थीत कार्यालय र त्यसको कामले स्थानिय सरकारलाई कुन्ठित गरेको उनको अरोप छ । प्रदेश सरकार खारेज गर्ने वडा अध्यक्ष न्यौपानेको प्रस्तावमा वडा नम्बर ३ का वडा अध्यक्ष गणेश आचार्यले समर्थन गरेका छन् । उनले प्रदेश सरकारले अपेक्षित काम गर्न नसकेको, बजेट माग गर्न जाँदा कार्यालय बन्द हुने गरेको भन्दै आक्रोश पोखेका छन् । 
    जनताको पक्षमा प्रदेश सरकारले काम गर्न नसकेको उनले बताए । प्रदेश सरकार खारेजको प्रस्ताव पेश गर्दा नगर सभा सदस्यहरुले समर्थन जनाउँदै तालि बजाएका थिए । यो प्रस्ताव सबैको सहमतिमा पास भएको छ । यस्तै धुलिखेल नगरपालिकाको सत्रौं नगर सभाले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट पारित गरेको छ । नगर प्रमुख अशोक ब्याञ्जुले प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट नगर सभाले सर्वसम्मत पारित गरेको हो । आगामी आर्थिक वर्षको लागि नगरपालिकाले १ अर्ब १८ करोड ४८ लाख ५० हजार रुपैयाँको बजेट ल्याएको छ । कुल विनियोजन मध्ये चालु खर्च तर्फ ८० करोड ४ लाख ११ हजार अर्थात ६७ दशमलव ५५ प्रतिशत, पूँजिगत खर्च तर्फ ३६ करोड ८६ लाख ६९ हजार अर्थात ३१ दशमलव १२ प्रतिशत र वित्तीय व्यवस्था तर्फ १ करोड ५७ लाख ७० हजार अर्थात १ दशमलव ३३ रहेको छ । नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख ब्याञ्जुले नगरपालिकाले पहुँचयोग्य र गुणस्तरीय स्वास्थ्य सेवा, पर्यटन प्रवद्र्धन, रोजगारी सिर्जना, गरिबी न्यूनीकरण लगायतका विषय प्राथमिकतामा राखेको बताए । 
    विश्व स्वास्थ्य संगठनद्धारा प्राप्त स्वास्थ्य शहर धुलिखेल नगर अवार्ड–२०२४ लाई दिगो र निरन्तरता दिन संघ तथा प्रदेश सरकार, अन्तराष्ट्रिय एवं राष्ट्रिय साझेदार संघ संस्थासँग समन्वय र सहकार्य गर्ने उनले बताएका छन् । यस्तै काभ्रे भञ्ज्याङमा रक्तसञ्चार केन्द्र स्थापना सहित नगर अस्पतालाई धुलिखेल किड्नी सेन्टरका रुपमा विकास गरिने नगर प्रमुख ब्याञ्जुले बताए । ल्याउ, टिकाउ र सिकाउको नीति अनुरुप विद्यालय उमेर समुहका सबै बालबालिकालाई अनिवार्य रुपमा विद्यालय भर्ना गराई आधारभुत तहका बालबालिकाहरुको विद्यालय छाड्ने दर घटाउने र पाठ्यक्रमले निर्धारण गरे अनुसारको सिकाई उपलब्धि वृद्धि गर्दै लैजाने नीति नगरपालिकाले लिएको छ । एक वडा, एक डिजिटल विद्यालय सञ्चालन गरिने समेत नीति तथा कार्यक्रममा उल्लेख छ ।
    आर्थिक वर्ष २०८३/८४ भित्र एक घर एक धारा नीति शतप्रतिशत घरधुरीमा विस्तार गरिनेछ । नगरपालिकालाई सुरक्षित खानेपानी भएको शहरको रुपमा विकास गर्न खानेपानीको डिजिटल तथ्यांक व्यवस्थापन गर्न एन–वास कार्यक्रम लागू गर्ने नगरपालिकाको नीति छ । एकीकृत खानेपानी आयोजना सम्पन्न गर्न अधिकतम पहल गरिने, स्मार्ट सिटीको रुपमा विकास गर्न सम्भाव्यता अध्ययन गर्ने नगर प्रमुख ब्याञ्जुले बताएका छन् । स्वरोजगार सिर्जना गर्न र गरिवी न्यूनीकरण गर्न सरकार तथा नीजि क्षेत्रसँगको साझेदारीमा सीप तथा उद्यमशिलता तालिम सञ्चालन हुनेछ । एक बेरोजगार एक सीप प्रवद्र्धन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ । सबैभन्दा बढी कर तिर्ने र ५० भन्दा बढीलाई रोजगार दिने उद्योगलाई सम्मान गरिनेछ । खानेपानीका मुहान संरक्षणका कार्यक्रम, फोहोरलाई पुनः प्रयोग र प्रशोधन गर्न स्रोतमा नै वर्गिकरण गर्ने व्यवस्था मिलाइने नगरपालिकाको नीति तथा कार्यक्रममा जनाइएको छ । नगर सभामा उप–प्रमुख निराजन जंगमले आर्थिक वर्ष २०८१/८२ को स्थिति समिक्षा प्रस्तुत गरेका थिए । उनले नगरपालिकाले गत असोजको बाढी पहिरोबाट १ अर्ब ३ करोडको क्षति भएको सभामा जानकारी गराएका थिए । यद्यपी संघ र प्रदेश सरकारबाट अपेक्षित सहयोग नपाएको उनको गुनासो छ । नगरपालिकाले नसर्ने रोगको शिविर तथा स्क्रिनिङ शिविर मार्फत ७ हजार भन्दा बढी नागरिकलाई सेवा प्रवाह गरेको उपप्रमुख जंगमले बताएका छन् ।
    बनेपा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ को नीति, कार्यक्रम र बजेट सार्वजनिक गर्दै नगरप्रमुख शान्तिरत्न शाक्यले स्थानीय कच्चा पदार्थ, उद्यमशीलता र सीपमा आधारित उद्यम विकासलाई प्रोत्साहन गरिने बताए । उनका अनुसार वैदेशिक रोजगारीबाट फर्किएका युवाहरुको ज्ञान, सीप, र क्षमताको स्थानीय विकासमा उपयोग गर्न प्रोत्साहनका कार्यक्रम सञ्चालन गरिनेछ । नगर क्षेत्रभित्र रात्रिकालिन व्यवसाय सञ्चालनका लागि सरोकारवाला पक्षहरुसँग आवश्यक समन्वय गरिने नगरपालिकाले जनाएको छ । नगरभित्रका पर्यटकीय क्षेत्रको पवद्र्धन गर्नका लागि कार्यक्रम सञ्चालन गर्नुका साथै युवाहरुलाई पर्यटन पथप्रदर्शकका रुपमा परिचालन गर्न भाषा शिक्षण कार्यक्रम सञ्चालन गरिने नगर प्रमुख शाक्यले बताए । 
    सहकारी संस्थाहरुको साख जोगाउन तथा बचतकर्ताहरुको बचतको सुरक्षा प्रत्याभुतीका लागि कानुन विपरित कार्य गर्नेलाई प्रचलित कानुन बमोजिम कारवाही गरिने छ भने निष्कृय रहेका सहकारीलाई खारेज गर्ने नगर प्रमुख शाक्यले बताएका छन् । नयाँ सहकारी दर्ता नगर्ने समेत नगरपालिकाले नीति लिएको छ । एकीकरणको अवस्थामा बाहेक कार्य क्षेत्र विस्तार नगरिने नगरपालिकाले जनाएको छ । नगरभित्र सञ्चालित विद्यालयहरु मध्ये कक्षा ५, ८, १० र १२ को नतिजाको आधारमा बढीमा ४ वटा विद्यालयलाई नगद सहित मेयर उत्कृष्ट शैक्षिक पदकबाट सम्मान गरिने कार्यक्रम सञ्चालन हुनेछ । बनेपाको अभियान, प्रतिभा पहिचान का लागि विद्यालयमा अतिरिक्त क्रियाकलाप सञ्चालन गरिनेछ । एक वडा एक खेल मैदान योजनालाई निरन्तरता दिइएको छ । सबै स्वास्थ्य संस्थालाई पोषणमैत्री स्वास्थ्य संस्था बनाइनेछ । हरेक वडामा योग केन्द्र स्थापना र सञ्चालनमा प्रोत्साहन गर्ने नीति नगरपालिकाको छ । गुणस्तरीय खानेपानी सुविधा सुनिश्चित गर्न प्रयोग भइरहेका स्थानीय पानीका स्रोतहरुको संरक्षण गर्ने र सम्भाव्य थप स्रोतहरुको उपयोग गर्न आवश्यक कार्यक्रम सञ्चालन गर्ने नगर प्रमुख शाक्यले बताए । ज्येष्ठ नागरिककको निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था मिलाइने नीति तथा कार्यक्रममा उल्लेख छ । विद्युतीय प्रणालीलाई भुमिगत गर्ने कार्य थालनी गरिनेछ । कृषि क्षेत्रमा संलग्न कृषकहरुको विवरण संकलन गरी किसान परिचयपत्रको व्यवस्था मिलाइने नगर प्रमुख शाक्यले बताए । नगर सभामा उप–प्रमुख विमला सापकोटाले आगामी आर्थिक वर्षका लागि प्रस्तावित आर्थिक विधेयक पेश गरेकी छन् । विधेयक पेश गर्दै उनले अन्य निकायमा दर्ता भएका तर बनेपा नगरपालिकाको करको दायरामा नआएका करदाताहरुको हकमा आर्थिक वर्ष २०७४/७५ लाई आधार वर्ष मानी व्यवसाय कर असुल गरिने बताइन् । यस्तो व्यवसाय पौष मसान्तभित्र दर्ता गर्न आएमा व्यवसाय कर र बहाल करमा जरिवाना लाग्ने छैन । सभामा सदस्यहरुले सार्वजनिक सम्पतिको संरक्षण, बजेट वितरण, विपदजन्य घटनाका लागि गर्नुपर्ने पुर्वतयारी लगायतका विषयमा धारणा राखेका थिए ।
    पनौती नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ को नीति कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । नगरपालिकाको सत्रौं नगर सभामा नगर प्रमुख रामशरण भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । नगरपालिकाले आगामी आर्थिक वर्षका लागि १ अर्ब ६१ करोड ११ लाख ११ हजार रुपैयाँको बजेट ल्याएको छ । प्रति वडा १ करोड ३० लाखका दरले रकम विनियोजन गरिएको छ । नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख भण्डारीले दिगो, भरपर्दो, तथा वातावरणमैत्री पूर्वाधारमा जोड दिने बताएका छन् । नगरपालिका भित्र पालिका गौरवको आयोजना तथा वडाभित्र कम्तीमा एक वडा एक गौरवको आयोजनाका लागि क्रमागत रुपमा बजेट विनियोजन गरिएको छ । पनौती शिरानचौरमा निर्माणाधिन रंगशालालाई नगरपालिकाको आन्तरिक स्रोतबाट पूर्णता दिइने नगर प्रमुख भण्डारीले बताए । पुण्यमाता खोला किनारमा वृक्षारोपण कार्यक्रम सञ्चालन, रोजगार सेवा केन्द्रलाई रोजगार बैंकका रुपमा विकास गर्ने नगरपालिकाको नीति छ । 
    शिक्षण सिकाईमा इ–लर्निङ कक्षा सञ्चालन, जहाँ विद्यार्थी त्याहाँ शिक्षक लगायतका कार्यक्रम नगरपालिकाले ल्याएको छ । नगर सभामा उपप्रमुख गिता बञ्जाराले आर्थिक वर्ष २०८२/८३ को आय व्यय सहितको बजेट तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् । सामाजिक विकास कार्यक्रम अनतर्गत क्षमता अभिवृद्धि लगायतका कार्यक्रम अन्तर्गत प्रति वडा १० लाखका दरले बजेट वितरण गरिएको छ । कृषि विकाससँग सम्बन्धी कार्यका लागि १ करोड २० लाख, पशुपंक्षी सम्बन्धी कार्यक्रम सञ्चालनका लागि २ करोड ६५ लाख, स्वास्थ्य क्षेत्रमा ३ करोड २० लाख बजेट विनियोजन गरिएको उप–प्रमुख गिता बञ्जाराले बताइन् । देव समानकाः बृद्ध मातापिता भन्ने आदर्श धारण गर्दै नगर क्षेत्र भित्रका ७० वर्षमाथीका ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य उपचारका लागि घरमा नै गई स्वास्थ्य उपचारको व्यवस्था मिलाइने नीति नगरपालिकाले लिएको छ । वडा नम्बर ७ को संरक्षित स्मारक क्षेत्रभित्रका संपदामैत्री घर संरचना निर्माण, मर्मत कार्यमा प्रोत्साहन गर्न र विश्वसम्पदा सुचीमा सूचीकृत सम्बन्धी कार्यलाई प्रभावकारी रुपले अघि बढाउने नगरपालिकाको नीति कार्यक्रममा उल्लेख छ ।
    नमोबुद्ध नगरपालिकाको दोस्रो नगर सभाको सातौं अधिवेशनमा नगर प्रमुख कुनसाङ लामाले आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै दीर्घकालिन सोच सहित तयार भएको कृषि रणनीति योजनालाई कार्यान्वयनमा लगिने बताएका छन् । विपद् पश्चात क्षति भएका खानेपानीका भौतिक पुर्वाधारको पुनर्निर्माणलाई प्राथमिकतामा राखेर काम गर्ने कार्यक्रममा उल्लेख छ । स्थानीय पाठ्यक्रम निर्माण, शैक्षिक पात्रो प्रकाशन, युवा सशक्तिकरण र उद्यमशिलता प्रवर्धनका कार्यक्रमलाई निरन्तरता दिने नगर प्रमुख लामाले बताए । नमोबुद्ध नगरको गौरवको रुपमा रहेको नमोबुद्ध मन्दिर परिसरलाई विश्व सम्पदा सुचीमा सूचीकृत गर्न आवश्यक पहल गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । महिला स्वयंसेविकाको भक्ता ५ सय रुपैयाँ बढाइएको छ । महिला स्वयंसेविकालाई प्रोत्साहन गर्ने उदेश्यले मासिक रकम एक हजार उपलब्ध गराउदै आईएकोमा आगामी आर्थिक वर्षबाट ५ सय थप गरी मासिक १ हजार ५ सय का दरले प्रोत्साहन कार्यक्रमका लागि १४ लाख ५८ बजेट विनियोजन गरिएको छ । महिला स्वयंसेविका निवृत हुँदा नगरपालिकाबाट खाली हात नजानी नीति अनुसार प्रत्येक महिला स्वयंसेविका लागि २० हजार निवृत खर्चको व्यवस्था मिलाइएको नीति तथा कार्यक्रममा उल्लेख छ । मृगौला प्रत्यारोपण गरेका, डायलासिस गराई रहेका, क्यान्सर रोगी, मेरुदण्ड पक्षघातका विरामीहरुका लागि औषधि उपचार खर्च वापत मासिक ५ हजारका दरले ४६ लाख ४० हजार बजेट विनियोजन गरिएको छ । नगरपालिकाको दीर्घकालीन सोच “कृषि, पर्यटन र व्यापारः समृद्ध नमोबुद्धको आधार” लाई हासिल गर्न उपलब्ध श्रोत साधनलाई अधिकतम ढंगले परिचालन गरी नगरवासी नागरिकको हित अभिवृद्धि गर्दै सामाजिक न्याय सहितको समाजवाद उन्मुख अर्थतन्त्रलाई सहयोग पुग्ने गरी बजेट तर्जुमा गरिएको उनले बताए । सामाजिक सुरक्षा भत्ता घरदैलोमा नै पुर्याउने कार्यलाई निरन्तर दिइने नगरपालिकाले जनाएको छ । 
    भुमिहिन सुकुम्बासी तथा अव्यस्थित बसोबासी जग्गा वितरण कार्यक्रम लाई थप प्रभावकारी बनाउन १५ लाख विनियोजन गरिएको छ । सभामा उप–प्रमुख रत्न बहादुर लामाले आर्थिक वर्ष २०८२/८३ को बजेट तथा कार्यक्रम प्रस्तुत गरेका थिए । यस्तै नगर विकास योजना प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले प्रस्तुत गरेका छन् भने आर्थिक विधेयक सार्वजनिक लेखा समितिका संयोजक एवं वडा अध्यक्ष कृष्ण बहादुर तामाङ, विनियोजना विधेयक वडा अध्यक्ष विरबहादुर तामाङ, महालेखा परिक्षकको कार्यालयबाट प्राप्त अन्तिम लेखा परिक्षण प्रतिवेदन सार्वजनिक लेखा समितिका संयोजक एवं वडा अध्यक्ष कृष्ण बहादुर तामाङले सभामा प्रस्तुत गरेका छन् ।
    महाभारत गाउँपालिका गाउँसभाको सत्रौं अधिवेशनमा गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले महाभारतलाई कृषि पर्यटकीय हबको रुपमा विकास गर्ने उद्घोष गरेका छन् । कफी खेतीलाई व्यवसायीकरण तथा कृषकलाई प्रोत्साहन गर्न जसले रोप्छ कफीको बोट, उसले पाउँछ रु बीसको नोट कार्यक्रमलाई निरन्तरता दिइएको छ  । यस्तै  एक वडा एक उत्पादन कार्यक्रमलाई पनि निरन्तरता दिइएको छ । महाभारतको इच्छाः अनिवार्य तथा निःशुल्क शिक्षा भन्ने आदर्शलाई कार्यान्वयनको लागि अनिवार्य तथा निःशुल्क शिक्षा प्रवद्र्धन कार्यक्रम सञ्चालन गरिनेछ । महाभारत बन्दै छ, बा आमालाई सञ्चै छ कार्यक्रम अन्तर्गत नसर्ने रोगहरुको प्रकोप न्यूनीकरण गर्न तथा समयमै निदान गर्न टोलटोलमा स्वास्थ्यकर्मी र जनप्रतिनिधि सहितको एकीकृत घुम्ती शिविर सञ्चालन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ । बजेट तथा कार्यक्रम उपाध्यक्ष सागर मोक्तानले सभामा प्रस्तुत गरेका थिए । पुर्वाधार विकास अन्तर्गत विभिन्न स्थानीय सडक, भवन, विद्युतीकरण, सिँचाई कार्यक्रमका लागि १५ करोड १ लाख रुपैयाँ विनियोजन गरिएको छ । वातावरण तथा विपद् व्यवस्थापन अन्तर्गत वातावरण संरक्षण, विपद् व्यवस्थापन, जलाधार संरक्षण लगायतका क्षेत्रमा ३४ लाख विनियोजन गरिएको छ ।
    तेमाल गाउँपालिकाले सडक पूर्वाधार, शिक्षा, स्वास्थ्य, रोजगारी तथा खानपानी जस्ता आधारभूत सेवाहरूलाई प्राथमिकतामा राखेर बजेट ल्याएको छ । हरेक वडामा न्यूनतम मापदण्ड अनुसारको सेवा प्रवाह, डिजिटल अभिलेख व्यवस्थापन, बजेट कार्यन्वयन पारदर्शीता र नियमित अनुगमन प्रणालीलाई मजबुत बनाउने तेमाल गाउँपालिकाका अध्यक्ष चन्द्र बहादुर तामाङले बताए । कृषिमा युवा आकर्षण, कृषि बीमा, युवा उद्यमशिलताको कार्यक्रम पनि गाउँपालिकाले अघि सारेको छ । स्मार्ट गाउँपालिका बनाउने परिकल्पना समेत नीति तथा कार्यक्रममा उल्लेख छ । उपलब्ध स्रोत र संभावनाको अधिकतम उपयोग गर्न संघ, प्रदेश र स्थानीय तह बीचको समन्वय नीजि क्षेत्र तथा नागरिक समाजसँग सहकार्य, समुदायको सहभागिता अनिवार्य गर्न आवश्यक कार्यक्रम सुरु गरिने गाउँपालिकाका उपाध्यक्ष दलमान थोकरले बताए ।
    गत असोजको बाढीपहिरोबाट अति प्रभावित बेथानचोक गाउँपालिकाले विपद् जोखिम न्यूनीकरण, क्षतिग्रस्त संरचना पुननिर्मालाई प्राथमिकता दिँदै आगामी वर्षको नीति कार्यक्रम र बजेट ल्याएको छ । कृष्,ि पर्यटन, युवा उद्यमशिलता, क्षमता विकासका कार्यक्रम पनि गाउँपालिकाको प्राथमिकतामा  परेको छ । खानीखोला गाउँपालिकामा अध्यक्ष इन्द्रबहादुर थिङ ‘छिन्ताङ’ को अध्यक्षतामा बसेको अधिवेशनले नीति तथा कार्यक्रमसहित बजेट पारित गरेको छ । गर्भवती महिलाको स्वास्थ्य सुधारलाई प्रमुख प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याइएको छ । 
    खानीखोला गाउँपालिका दोर्जेमान जिम्बाले आर्थिक वर्ष २०८२/०८३ को बजेट गाउँसभामा प्रस्तुत गरेका थिए । गाउँपालिकाले गर्भवती महिलाहरूको पोषण र स्वास्थ्यलाई मध्यनजर गर्दै “झण्डा र अण्डा कार्यक्रम“ कार्यान्वयनमा ल्याउने निर्णय गरेको छ । सो कार्यक्रम अन्तर्गत गर्भवती महिलाहरुलाई १० क्रेट अण्डा निःशुल्क प्रदान गरिनेछ । त्यसैगरी, आङ खसेका महिलाको शल्यक्रिया गरिनुपर्ने अवस्थामा गाउँपालिकाले ५ हजार बराबरको राहत सहयोग दिने व्यवस्था गरिएको छ । गाउँपालिकाले “जसको उत्पादन उसैलाई अनुदान” भन्ने नारालाई आत्मसात गर्दै कफीको उत्पादनमा प्रतिकिलो ३५ रुपैयाँ अनुदान प्रदान गर्ने कार्यक्रमलाई निरन्तरता दिने घोषणा गरेको छ । साथै, खुवा र कफीको स्थानीय ब्रान्ड निर्माण गर्दै बजार विस्तारको नीति ल्याएको छ ।