2026 April 17/ 02:45: 00am

मोतीराम तिमल्सिना
धुलिखेल

    पशु सेवा कार्यालय काभ्रेपलाञ्चोकले विगतका आर्थिक वर्ष तथा चालु वर्षको अनुभव सहित आगामी वर्ष पशुपालन क्षेत्रमा गर्न सकिने कामका बारेमा योजना निर्माण गरी प्रदेश सरकारलाई प्रस्ताव गरेको छ । पशुपालन क्षेत्रमा देखिएका समस्या तथा चुनौतीहरुलाई समाधानका उपाय सहित आवश्यक योजना तय गरी प्रस्ताव गरिएको पशु सेवा कार्यालय काभ्रे प्रमुख डा.सृजा वाग्लेले बताईन् । 
    आर्थिक वर्ष २०८२/०८३ का लागि पशु सेवा कार्यालय काभ्रेपलाञ्चोकले पशुपालनमा असल अभ्यास प्रर्वद्धन, एक पकेट खोरेत रोग मुक्त अभियान, पशुपालन प्रवद्र्धन, दुग्ध विक्री वितरण तालिम, दुग्ध उत्पादनमा बृद्धि, पशु आहारा आत्मनिर्भर, यान्त्रिकरण, पशुपन्छीका संक्रामक रोग विरुद्धको खोप, पशुपन्छीपालन सम्वन्धी सीप विकास तालिमहरु प्रस्ताव गरेको डा.वाग्लेले बताईन् । दुध उत्पादन तथा मासुजन्य उत्पादनमा जोड दिन प्रस्ताव गरिएका कार्यक्रम प्रभावकारी हुन सक्ने बताईएको छ । 
    आर्थिक वर्ष २०८१/०८२ मा गरिएका कार्यक्रमको अभ्यास तथा त्यसको अनुभवका आधारमा आगामी वर्ष कार्यक्रमहरु तय गरिएको हो । सोहि अवसरमा दुध र दुग्धजन्य पदार्थको महत्व, जिल्लागत तथ्यांक, दुग्ध क्षेधसँग सम्वन्धित कार्यक्रमहरु, वर्तमान अवस्था, समस्या एवं चुनौतिहरु र समाधानका उपायका बारेमा पशु सेवा कार्यालय काभ्रेका प्रमुख डा.सृजा वाग्लेले दुग्ध क्षेत्रसँग सम्वन्धित सरोकारवाला निकायहरुलाई जानकारी गराईन् । पशु सेवा कार्यालयको  काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोक कार्यक्षेत्र रहेको छ । दुध तथा दुधजन्य पदार्थमा पाईने पौस्टिक तत्वको महत्वका बारेमा जानकारी गराउँदै डा.वाग्लेले भनिन–‘दुध, दहि, पनिर, मोही, घिउ, चिज पानी, भिटामिन, कार्बाेहाड्रेट, प्रोटिन, फ्याट र खनिज उपलब्ध हुनेछ । त्यसका लागि पनि नियमित एक गिलास दुध तथा दुग्धजन्य पदार्थ सेवन गर्नु आवश्यक छ ।’ 
    जिल्लागत अवस्था, समस्या, चुनौती तथा भावी कार्यदिशा सम्वन्धि छलफल कार्यक्रममा डा.वाग्लेले काभ्रेका १३ र सिन्धुपाल्चोकका १२ वटा पालिकामा पशु सेवा कार्यालय तथा पशु सेवा केन्द्र मार्फत विभिन्न कार्यक्रम संचालन भएको बताईन् । आर्थिक वर्ष २०८१/०८२ मा ४३ हजार १ सय ७ दुधालु गाई, ५९ हजार ३ सय २० वटा दुधालु भैसी मार्फत १ लाख ४९ हजार २ सय ८० मेट्रिक टन दुध उत्पादन भएको छ । गाई अन्र्तगत स्थानीय जातका प्रजनन साँढे ४ सय ४, जोत्ने गोरु ५ हजार १ सय ५५, दुधालु गाई २३ हजार ८ सय ३५, थारो गाई ३१ हजार ३ सय ७२, बहर १० हजार ६ सय ६८, कोरेली १ लाख ६० हजार ७०, बाच्छा १० हजार ४ सय २, बाच्छी १० हजार १ सय ७६ गरी १ लाख ८ हजार ८२ वटा रहेका छन् । उन्नत जातका २९ हजार ७ सय ९२ समेत गरी १ लाख ४७ हजार ८ सय ७४ वटा रहेका छन् । भैसी अन्र्तगतका स्थानीय र उन्नत जातका प्रजनन राँगो जिल्लामा १ हजार ६ सय ५६ वटा रहेका छन् । जोत्ने राँगो ७ सय ३२, दुधालु भैसी ५९ हजार ३ सय २०, थारो भैसी ३४ हजार ७ सय ३३, पाडो ६ हजार २ सय ९४, थोरे २२ हजार ७ सय ९२, पाडा ६ हजार ९ सय १९, पाडी ६ हजार ५३  गरी १ लाख ३८ हजार ४ सय ९९ वटा रहेका छन् । 
    लम्पि स्किन लगायतका महामारीका कारण पनि काभ्रेपलाञ्चोक जिल्लामा आर्थिक वर्ष २०७९/२०८० देखि चालु आर्थिक वर्षमा दुध उत्पादन बृद्धि सम्वन्धि ८० वटा कार्यक्रम सम्पन्न भएका छन् । घाँस खेती, कृषक भ्रमण र तालिम, यन्त्र उपकरण लगायतका कार्यहरु पशु सेवा कार्यालयले प्रदान गरेको छ । पशु आहारा, घाँसे बाली विस्तारका लागि दुग्ध क्षेत्रकोको विकास गर्न ग्रिन टु ह्वाईट कार्यक्रम संचालन गरिएको थियो । पशुपालनमा असल अभ्यास प्रवद्र्धन कार्यक्रम अघिल्लो आर्थिक वर्ष देखि शुरु भएको छ । पशुपन्छी तथा मत्स्यजन्य यन्त्र उपकरण वितरण गरेको छ । चालु वर्ष ८१ वटा संस्थालाई च्यापकटर, डिप फ्रिज र एसएस मिल्क क्यानका लागि सम्झौता गरिएको छ । खाद्य प्रणाली रुपान्तरणका लागि मागमा आधारित जीविकोपार्जन, पशुपन्छी तथा मत्स्य उद्यमशिलता, पशुपन्छी तथा मत्स्य विकासका लागि बीउपुँजी परिचालन, कृषकस्तर तालिम, अध्ययन भ्रमण, पशुपन्छी उपभोग प्रवद्र्धन कार्यक्रम र बृहत्त काभ्रेपलाञ्चोक कृषि महोत्सव जस्ता नविनतम कार्यक्रम आयोजना गरिएको डा.वाग्लेले बताईन् । 
    दुग्ध क्षेत्रसँग सम्वन्धित जिल्लागत समस्या र चुनौती रहेको उनले बताईन् । निर्वाहमुखी पशुपालन प्रणाली, दुधको अस्थीर मुल्य र बजार, दुधको गुणस्तर, दानामा आधारित पशुपालन, यातायात साधन, सडकको असुविधा तथा अवस्था, बढ्दो उत्पादन लागत, उन्नत पशु तथा घाँसको श्रोत केन्द्रको अभाव, बाँझोपना, थुनेलो, ¥यापिट, मुल्य श्रृखंला र उद्योगसँगको आवद्धतामा कमी र उपभोग मुख्य समस्या रहेको छ । आर्थिक वर्ष २०८०÷०८१ मा खोरेत रोग विरुद्ध ७० हजार ७ सय पशुहरुमा खोप लगाईएको छ । लम्पी स्किन रोग विरुद्ध ९० हजार १ सय १८ पशुहरुमा गत वर्ष र चालु वर्ष २० हजार पशुहरुमा खोप लगाईएको छ । जिल्लामा खोरेत, लम्पी स्किन र थुनेलो प्रकोपका रुपमा फैलिने गरेको छ । पशुपालनमा आधुनिकीकरण तथा यान्त्रिकरण, नश्ल सुधार, पशु तथा उन्नत घाँसको श्रोत केन्द्रहरुको स्थापना, घाँसमा आधारित पशुपालन प्रणाली, असल पशुपालन अभ्यास, संक्रामक रोगहरु विरुद्धको खोप कार्यक्रम र नियमित प्रभावकारिता अध्ययन गर्न सकिए पशुपालन क्षेत्रलाई थप राहत पुग्ने छ । 
    त्यस्तै आवश्यक कृषकस्तर, ब्यवसायीस्तर तालिम संचालन, प्राविधिकहरुको क्षमता अभिबृद्धी कार्यक्रम, पशु सेवा कार्यालय, पशु सेवा शाखा तथा केन्द्रहरुको विकास र विस्तार गर्न सकिए पशुपालनमा सहज हुनेछ । दुध उत्पादन सहज भए पनि बजारीकरणको समस्या देखिएको छ । उत्पादनको शत प्रतिशत दुध बजार आउन सकेको छैन । स्वदेशी उत्पादनलाई कम प्राथमिकता, आयातित दुधजन्य पदार्थले बजार पाईरहेको छ । उत्पादित दुधजन्य पदार्थहरुको भण्डारणमा समस्या देखिएको छ । दुधको गुणस्तरमा पनि प्रश्न उठेको छ । युवाहरु बैदेशिक रोजगार र विदेश पलायन हुन थालेका छन् । 

विपदमा २२ सय १९ पशु मृत
    काभ्रेपलाञ्चोक जिल्लामा विपद्बाट ५ हजार २ सय ४२ घरधुरी प्रभावित भए । २ हजार २ सय १९ पशु मृत भेटिए । ८ सय ६३ वटा गोठ पूर्ण क्षति भए भने ५ सय ६९ वटा आंशिक क्षति भए । अहिले बागमती प्रदेश सरकारले क्षति भएका पशुहरुको क्षतिपुर्ति भन्दा पनि राहत उपलब्ध गराउने गरी आवेदन माग गरेको छ । पशु सेवा कार्यालय काभ्रेले आवेदनहरु स्थानीय तह मार्फत संकलन गरिरहेको कार्यालय प्रमुख डा.सृजा वाग्लेले बताईन् । 

प्राथमिकतामा दुग्धजन्य पदार्थ उपभोग
    पशु सेवा कार्यालय काभ्रेपलाञ्चोकले आर्थिक वर्ष २०८१/०८२ मा स्वीकृत पशुपन्छी तथा मत्स्यजन्य पदार्थ उपभोग प्रर्वद्धन कार्यक्रम अन्र्तगत कक्षा ९ र १० मा अध्ययन गर्ने विद्यार्थी, गर्भवती तथा सुत्केरी महिला, स्त्री रोग सम्वन्धी उपचार गराउन अस्पतालमा पुगेका महिला, कार्यस्थलमा कार्यरत मजदुर, अनाथ बालबालिका, बहिरा विद्यालयमा अध्ययन गर्ने बालबाकिलाहरु, बौद्धिक अपाङता भएका बालबालिकाहरु, बृद्धाश्रम लगायतका क्षेत्रमा पशुपन्छाी तथा मत्स्यजन्य पदार्थको पौष्टिक महत्व, आवश्यकता र खानपर्ने प्राथमिकतामा बारेमा जानकारी गराउँदै आएको छ । 
    काभ्रेपलाञ्चोक जिल्लाको चौरीदेउराली गाउँपालिका ४ स्थित जागृति मावी, पनौती १ भालचन्द्र मावी, धुलिखेल अस्पतालको गाईनो वार्ड, अरनिको राजमार्गको धुलिखेल बनेपा खण्डमा कार्यरत मजदुरहरु, सेवक नेपाल समुह मण्डन देउपुर, मानव कल्याण समाज बाल सेवा घर पनौती ५, तथा सिन्धुपाल्चोक जिल्लाको सुनकोशी गाउँपालिकामा रहेको बाघ भैरव मावी, मेलम्ची नगरपालिकाको फटकशिला मावी, चौतारा साँगाचोकगढीको श्रीहरी आत्ध्यामिक सेवा आश्रम, सिन्धु बहिरा आधारभुत विद्यालय बाह्रविसे र मेलम्चीको इन्द्रेश्वरी माध्यमिक विद्यालयमा दुध तथा दुग्धजन्य पदार्थ, अण्डा, मासु उपलब्ध गराईएको छ । पनौतीमा रहेको माईती बृद्धाश्रममा रहेका जेष्ठ नागरिकहरुलाई दुग्धजन्य सामाग्री उपलब्ध गराएको छ । कार्यालय प्रमुख डा.सृजा वाग्लेले जेष्ठ नागरिकहरुका लागि दुध, खुवा, पनिर तथा घिउ लगायतका सामाग्रीहरु उपलब्ध गराएको बताईन् । डा.वाग्लेले जेष्ठ नागरिकहरुलाई आवश्यक पर्ने पौष्टिक तत्व दुध र दुग्धजन्य सामाग्रीबाट उपलब्ध गराउने भएकाले सहयोग गरिएको बताईन् । एक गिलास दुध दैनिक सेवन गर्ने ब्यक्तिलाई १० वटा फाईदा हुने बताउँदै डा.वाग्लेले नियमित दुध र दुधका परिकारहरु सेवन गराउन जेष्ठ नागरिकहरुलाई अनुरोध गरिन् ।