
धुलिखेल/काठमाडौं विश्वविद्यालयको ३० औं दीक्षान्त (दोस्रो चरण) २०८२ जेठ ३० गते भोली शुक्रबार आयोजना हुने भएको छ । दीक्षान्त समारोह प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीको अध्यक्षता तथा अमेरिकास्थित माउन्ट साइनाई हेल्थ सिस्टम्सका प्रमुख कार्यकारी अधिकृत ब्रेन्डन जी. कारको प्रमुख आतिथ्य रहनेछ ।
समारोहमा काठमाडौं विश्वविद्यालयको इतिहासमा पहिलो पटक स्कुल अफ इन्जिनियरिङ अन्तर्गत डक्टर अफ फेलोसोपी ईन जियोम्याटिक्स इन्जिनियरिङ तर्फबाट एक जना विद्यार्थी दिक्षित हुँदैछन् । त्यस्तै स्कुल अफ म्यानेजमेन्ट अन्तर्गत ब्याचलर अफ प्रोफेसनल हस्पिटालिटीमा २० जना दीक्षित हुनेछन् । त्यसैगरी स्कुल अफ मेडिकल साइन्सेज अन्तर्गत पहिलो पटक डाक्टर एफ मेडिसिन उपाधि प्रदान गरिँदैछ । जस अन्तर्गत डाक्टर मेडिसिन इन क्रिटिकल केयर मेडिसिनमा १ जना, डक्टर मेडिसिन इन प्लमोनरी क्रिटिकल क्रिटिकल केयर एण्ड स्लिप मेडिसिनमा १ जनालाई उपाधि प्रदान गरिनेछ । साथै एमएससी इन कम्युनिटी हेल्त नर्सिङ्गमामा २ जना र मास्टर अफ फिजियोथेरापी इन मस्कुलोस्केलेटलमा ५ जनालाई पहिलो पटक उपाधि प्रदान गरिनेछ । तीसौँ दीक्षान्त समारोहको दोस्रो चरणको कार्यक्रमसम्ममा काठमाडौं विश्वविद्यालयबाट ४७ हजार ८ सय ३१ जना दीक्षित भइसकेका छन् ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री तथा सहकुलपति रघुजी पन्तको उपस्थितीमा कार्यक्रम आयोजना हुन लागेको हो । विश्वविद्यालयका तर्फबाट उपकुलपति प्रा.डा.अच्युत वाग्लेले स्वागत मन्तव्य राख्ने कार्यक्रममा रजिष्ट्रार प्रा. डा. राजीव श्रेष्ठले समारोह सञ्चालन गर्नेछन् । समारोहमा काठमाडौं विश्वविद्यालयबाट स्कुल अफ आर्ट्सका १ सय ६३ जना, स्कुल अफ एजुकेसनका १ सय २ जना, स्कुल अफ इन्जिनियरिङका ६८ जना, स्कुल अफ मेनेजमेन्टका १ सय १० जना, स्कुल अफ मेडिकल साइन्सेजका ६ सय ६१ जना र स्कुल अफ साइन्सका २५ जना गरी १ हजार १ सय २९ जना विद्यार्थी दीक्षित हुनेछन् । दीक्षित हुनेमध्ये दिद्यार्थीमध्ये पीएचडी, डीएम र एमसीएच तहका ३२ जना, एमफिल तहका ६९ जना, स्नातकोत्तर तहका ५ सय १३ जना, पीजीडी तहका ४ जना र स्नातक तहका ५ सय ११ जना रहनेछन् । तीमध्ये विदेशी विद्यार्थीहरू भुटान, भारत, श्रीलङ्का र माल्दिभ्स गरी ४ देशका ११८ जना अर्थात् १०.४५ प्रतिशत रहनेछन् । दीक्षित हुनेमा पुरुषको प्रतिशत ५०.९३ (५ सय ७५ जना) र महिलाको प्रतिशत ४९.०७ (५ सय ५४ जना) रहनेछ ।
समारोहमा विश्वविद्यालयका सर्वोत्कृष्ट विद्यार्थीलाई स्वर्ण पदक वितरण हुनेछ । चान्सलर स्वर्णपदक स्नातकोत्तर तहमा सबभन्दा बढी सिजिपिए प्राप्त गर्ने विद्यार्थी दयाराम सिंखडालाई प्रदान गरिदैछ । उनले चार सिजिपिए प्राप्त गरेका छन् । स्कुल अफ मेनेजमेन्ट तर्फबाट भाइस चान्सलर स्वर्णपदक स्नातक तहमा सबभन्दा बढी सिजिपिए प्राप्त गर्ने विद्यार्थी एजल सुजखुलाई प्रदान गरिनेछ । उनले सिजिपिए ३.९८ प्राप्त गरेका छन् । त्यस्तै स्कुल अफ मेनेजमेन्ट तर्फ जुद्धबहादुर श्रेष्ठ स्वर्णपदक एमविए तहमा सबभन्दा धेरै सिजिपिए प्राप्त गर्ने विद्यार्थी कृष्णबाबु भट्टराईलाई प्रदान गरिने छ । उनले ३.९६ जिपिए प्राप्त गरेका छन् । काठमाडौं विश्वविद्यालयकी प्रवक्ता एवं डिन एक्कुमाया पुनका अनुसार स्कुल अफ मेनेजमेन्टका रणबहादुर शाह स्वर्णपदक एमविए तहमा सर्वोत्कृष्ट विद्यार्थी तरुण अग्रवाललाई प्रदान गरिदैछ । उनले ३.९६ जिपिए प्राप्त गरेका छन् । स्कुल अफ मेडिकल साइसेजबाट रमेशप्रसाद सिंह स्वर्णपदक स्नातकोत्तर तह एमएस अर्थाेपेडिक्समा सबभन्दा बढी अङ्क प्राप्त गर्ने विद्यार्थी सुयश तिमल्सिनाले प्राप्त गर्नेछन् । महेशनाथ पराजुली स्वर्णपदक स्कुल अफ एजुकेसन अन्तर्गत २ वर्षे स्नातकोत्तर तहमा सबभन्दा बढी सिजिपिए प्राप्त गर्ने छात्रा सुश्री युरिशा उपाध्यायले प्राप्त गर्नेछिन । प्रेमराज पन्त स्वर्णपदक स्नातक तह (स्कुल अफ मेनेजमेन्ट) मा सबभन्दा बढी सिजिपिए प्राप्त गर्ने विद्यार्थी एजल सुजखुले प्राप्त गर्नेछन् ।