धुलिखेल/धुलिखेल नगरपालिका कृषि शाखा मार्फत धुलिखेलका १२ वटै वडाका कृषकहरुका लागि ५० प्रतिशत अनुदानमा मिनिटिलर र स्पे्रयर उपलब्ध गराईएको छ । पहिलो चरणमा वडा नम्वर ४, ५, ९ र १२ नम्वर वडाका कृषकहरुले वडाको सिफारिसका आधारमा यान्त्रिकरण मार्फत प्रविधि सहितका सामाग्री प्राप्त गरेका हुन् ।
मिनिटिलर १ सय १३ जना कृषकहरुका लागि उपलब्ध गराईनेछ भने स्प्रेयर १ सय २१ जना कृषकले प्राप्त गर्नेछन् । वितरण गरिएका बाहेकका अन्य वडाहरुका लागि अर्काे चरणमा वितरण गरिनेछ । धुलिखेल नगरपालिकाले लगातार तीन वर्ष देखि एउटै प्रकृतिका सामानहरु प्राप्त नगरेका कृषकहरुका लागि स्वघोषणा मार्फत वडा कार्यालयले गरेको सिफारिसका आधारमा सामाग्री उपलब्ध गराईएको कृषि शाखा प्रमुख रविना घिमिरेले बताईन् । कृषि क्षेत्रमा प्रविधि मार्फत उत्पादन बृद्धि गरी आयआर्जन बढाउने उदेश्यले हरेक वर्ष सामाग्री उपलब्ध गराउँदै आएको नगर प्रमुख अशोक ब्याञ्जुले बताए । कृषि र पशुपालनमा कृषक मैत्री कार्यक्रम मार्फत नागरिकहरुको आर्थिक समृद्धि गर्ने गरी तालिम सहित सामाग्री उपलब्ध गराईएको नगर प्रमुख ब्याञ्जुले बताए ।
प्रविधि हस्तान्तरण कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद मरासैनी, वडा अध्यक्षहरु उत्तमप्रसाद तिमल्सिना, प्रमोदसुन्दर श्रेष्ठ, बालकृष्ण सापकोटा र मोहनप्रसाद लामिछाने, कार्यपालिका सदस्यहरु, कृषकहरुको सहभागिता रहेको थियो । कृषि शाखा मार्फत नगरपालिकाले केहि दिन अघि मात्रै मौरीको ब्यवसायीक पालनका लागि ४५ वटा घार गोला वितरण गरिएको थियो । उक्त कार्यक्रमका लागि वडा नम्वर ११ लागि पकेट क्षेत्र बनाउने तयारी गरिएको छ । आकस्मिक बाली संरक्षण सेवा मार्फत विभिन्न बालिमा देखिन सक्ने समस्या न्यूनिकरणका लागि जैविक विषादी उत्पादन तथा त्यसको प्रयोगका लागि आवश्यक कार्यक्रम संचालन गरिएको छ ।
सुन्तला तथा कागती लगायत अमिला जातका फलफुलका विरुवा वितरण गरिएको छ । २ हजार भन्दा धेरै विरुवा वितरण गरी कृषकहरुलाई ब्यवसायीक बन्न उत्प्रेतिर गरिनेछ ।









