धुलिखेल/भूमि ब्यवस्थापन प्रशिक्षण केन्द्र धुलिखेल र डिभिजन वन कार्यालय काभ्रेपलाञ्चोकको संयुक्त आयोजना तथा काभ्रेली नापी पेशाकर्मी समाजको सहकार्यमा विश्व वातावरण दिवसको अवसर पारी भूमि ब्यवस्थापन प्रशिक्षण केन्द्र परिसरमा विभिन्न जातका २ सय ६० वटा विरुवा रोपण गरिएको छ ।
केन्द्रका कार्यकारी निर्देशक जनकराज जोशीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल, डिभिजन वन कार्यालयका प्रमुख केबी थापा, निर्देशक रामकुमार सापकोटा, सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रिय कोषाध्यक्ष शान्ता न्यौपाने, धुलिखेल ४ का वडा अध्यक्ष उत्तमप्रसाद तिमल्सिना, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष विनोद न्यौपाने, नेपाल प्रहरी, शशस्त्र प्रहरीका प्रतिनिधिहरु, डिभिजन वन, सब डिभिजन वन, नापी प्रशिक्षण केन्द्र र नापी कार्यालय काभ्रेका प्रमुख एवं प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
बृक्षारोपण कार्यक्रममा एभोगाडो, कागती, टिम्मुर, अम्बा, जापानिज कटुस र धुपि लगायतका विरुवा डिभिजन वन कार्यालय काभ्रेको सहयोगमा भूमि प्रशिक्षण केन्द्रको परिसरमा रोपण गरिएको हो । डिभिजन वन कार्यालयका अधिकृत एवं सूचना अधिकारी सरिता लामाका अनुसार विश्व वातावरण दिवसको अवसर पारी डिभिजन वन कार्यालय काभ्रेले भुम्लु गाउँपालिकाको दोलालघाट देखि सल्लेसम्मको सडक क्षेत्रमा ५ सय विरुवा रोपण गरेको छ भने पनौती नगरपालिका अन्र्तगत खोपासी सडक खण्डमा ३ सय भन्दा धेरै विरुवा रोपण गरेको छ । यसका अलावा ७ वटा सब डिभिजन वन कार्यालय अन्र्तगत विभिन्न क्षेत्रमा बृक्षारोपण गरिएको उनले बताईन् ।
कार्यक्रममा निर्देशक रामकुमार सापकोटाले भूमि प्रशिक्षण केन्द्रले गरिरहेका गतिविधिहरु, वातावरण संरक्षण तथा प्लास्टिक प्रदुषण न्यूनिकरणमा हाम्रो दायित्वका बारेमा जानकारी गराएका थिए । कार्यक्रम केन्द्रका विज्ञान बञ्जाराले संचालन गरेका थिए ।









