2026 August 03/ 12:58: 47pm

    धुलिखेल/२०८१ असोज १०–१२ मा परेको अविरल वर्षातका कारण धुलिखेलमा उपभोग गरिरहेको खानेपानीको मुहान क्षेत्र पनौती १२, रोशी क्षेत्रमा पु¥याएको क्षतिको पुर्ननिर्माणमा जर्मन सरकारले सहयोग गरेको छ । मुहान क्षेत्रमा जर्मन राजदुत डा.माईकल कोच, धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जु लगायतले विपत्ति पछिको पुर्ननिर्माणको शुभारम्भ गरेका छन् । 
    धुलिखेल खानेपानी आयोजनाको मुहान क्षेत्रमा क्षति भएको ३ करोड ५१ लाखको निर्माण कार्य शिलान्यास गरिएको हो । जर्मन सरकारबाट ६० प्रतिशत अर्थात १ करोड ४५ लाख अनुदान प्रदान गरिएको उक्त निर्माण कार्यमा बाँकी रकम नगरपालिका र खानेपानी उपभोक्ता समितिका तर्फबाट ब्यवस्थापन गरिने छ । ३२ बर्ष अघि उक्त आयोजनालाई जर्मन सरकारले सहयोग गरेको थियो । धुलिखेल नगरपालिकाको तर्फबाट पनौती नगरपालिका र वडा नम्वर १२ तथा स्थानीयहरु र जर्मन सरकार प्रति आभार ब्यक्त गरिएको नगर प्रमुख ब्याञ्जुले बताए । 
    बाढी पहिरोको क्षति पछि नगरपालिकाले जर्मन राजदुतावासमा सहयोगका लागि अनुरोध गरेको थियो । नगर प्रमुख ब्याञ्जुले क्षतिग्रस्त धुलिखेल खानेपानी आयोजनाको पुनर्निर्माणको लागि जर्मनी सरकारको तर्फबाट सहयोगको निर्णय गरी सम्झौता गरेको बताए । जर्मन सहयोग नियोग (जीआइजेड) मार्फत काठमाडौँ स्थित जर्मनीको दूतावासले एक करोड ४५ लाख रकम सहयोग गर्ने सम्झौता पछि पुर्ननिर्माण शुरु गरिएको नगर प्रमख अशोक ब्याञ्जूले बताए । तत्कालिन समयमा नेपालका लागि जर्मनीका राजदूत डा.थोमस प्रिन्जसँग भएको भेटवार्तामा खानेपानी आयोजनाको मर्मत सम्भारका निम्ति सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । 
    जर्मनीबाट प्राप्त हुने रकमबाट आयोजनाको इन्टेक, पाइप तथा अन्य भौतिक संरचनाको पुनर्निर्माण गरिनेछ । बाढीले आयोजनामा क्षति हुँदा नगरका ३, ४, ५, ६ र ८ नम्बर वडाका उपभोक्ता खानेपानी सुविधाबाट वञ्चित भएका थिए । अस्थायी ब्यवस्थापन मार्फत खानेपानी सूचारु भए पनि दीर्घकालिन रुपमा निर्माणका लागि पुर्ननिर्माण शुरु भएको हो । प्रस्तावित विषयमा जर्मन सहयोग नियोग (जिआइजेड) मार्फत नेपालस्थित दूतावासले सहयोग गर्न नगर प्रमुख अशोक ब्याञ्जू र जिआइजेडका तर्फबाट तीर्थ सिन्हाले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । सम्झौताअनुसार धुलिखेल खानेपानी तथा सरसफाइ उपभोक्ता समितिलाई सहयोग रकम प्रदान गरिनेछ । 
    आयोजनाको मुहान क्षेत्र पनौती नगरपालिका– १२ स्थित पालपाले गाउँका विभिन्न स्थानमा करिब दुई किलोमिटर मुख्य पाइपमा क्षति पुगेको थियो । सोही वडाको सप्तकन्याबाट ल्याइएको खानेपानी तीन हजार दुई सय घरमा पु¥याइएको थियो । समितिका अध्यक्ष कृष्णभूषण श्रेष्ठले तत्काल अस्थायी रूपमा आयोजना मर्मत गर्न २० लाख भन्दा धेरै खर्च भएको बताए ।