2026 August 03/ 11:44: 27am

१० महिनामा ८७ ले ज्यान गुमाए
९७ घाईते, २९३६ परिवारलाई अस्थायी आवास  

मोतीराम तिमल्सिना
धुलिखेल

    मनसुन शुरु भईसकेको र गत वर्षको मनसुनले जिल्लामा भएको क्षतिका बारेमा जिल्लामा रहेका १३ वटा स्थानीय सरकार र जिल्ला स्थित विपद ब्यवस्थापन समितिको अलग अलग तयारी शुरु भएको छ । स्थानीय तहका जनप्रतिनिधिहरुले असोज १०–१२ गतेको क्षतिको आंकलन विषयमा बहु पक्षिय पुनःसर्भेक्षण गर्न विपद ब्यवस्थापन प्राधिकरणमा अनुरोध गर्ने निर्णय गरेका छन् । 
    २०८२ जेष्ठ १२ गते सोमबार प्रमुख जिल्ला अधिकारी उमेश ढकालको अध्यक्षतामा विपद ब्यवस्थापन समितिको बैठक बस्यो । प्रजिअ ढकालले बोलाएको बैठकमा जनप्रतिनिधिहरुको उपस्थिती प्रायः शुन्य रह्यो । लगत्तै जेठ १६ गते धुलिखेल नगरपालिकामा नगर प्रमुख अशोक ब्याञ्जुको अध्यक्षतामा १३ वटा पालिकाका प्रमुख, उपप्रमुख, विपद हेर्ने जिम्मेवारीमा रहेका कर्मचारीहरु सम्मिलित विपद सम्वन्धि बैठक बस्यो । कर्मचारी र जनप्रतिनिधिहरु बीच अलग–अलग बैठक बसेर विपद ब्वस्थापन, विपद पछिको अवस्था र पुर्ननिर्माणका बारेमा छलफल गरेको थियो । 
    ‘काभ्रे जिल्लाका सबै नगर तथा गाँउपालिकाका प्रमुख, उप–प्रमुख, अध्यक्ष, उपाध्यक्ष, प्रशासकीय प्रमुख र विपद फोकल पर्सनहरुको सयुक्त बैठक धुलिखेल नगर पालिकाको आयोजनामा सम्पन्न भयो’– नगर प्रमुख अशोक ब्याञ्जुले भने–‘२०८१ असोज १०–१२ महिनामा आएको बाढि पहिरोले उत्पन्न घर निर्माण, स्कुल, स्वास्थ संस्था खेतीबारीको नोक्सान र पुर्नस्थापनाका बारेमा छलफल गरी भत्किएका घर निर्माणमा स्थानीय सरकारले ब्यहोर्ने भनी २० प्रतिशत सरकारको निर्णयमा असहमति जनाउदै संघिय सरकार र प्रदेश सरकार, पुनर्निर्माण प्राधिकरणमा जानकारी गराउने निर्णय भएको छ ।’ काभ्रेका पालिकाहरुको बहुपक्षिय र दुई पक्षिय समस्या हल गर्न आलो–पालो संयुक्त बैठक बस्ने र थप रणनिती तयार गर्ने र बिपदको सहयोगी बिकास साझेदारहरुको बैठक बोलाउने सहमती भएको नगर प्रमुख ब्याञ्जुले बताए । 
    अस्थायी आवास निर्माणका लागि सरकारले उपलब्ध गराएको रकम सबै पिडीतहरुले प्राप्त गरिसकेका छैनन । स्थायी आवास निर्माणका लागि संघीय सरकारले स्थानीय सरकारलाई ब्यवहार थोपर्ने निर्णयको जिल्लाका १३ वटै पालिकाका जनप्रतिनिधिहरुले नमान्ने घोषणा गरेका हुन् । सकारले १३ मध्ये बनेपा र धुलिखेललाई संकटग्रस्त पालिका पनि घोषणा गरेन । नागरिकको मृत्यु र क्षतिका हिसावले दुबै पालिकामा अन्य पालिका सरह नै थियो । पटक पटक ध्यानाकर्षण गराउँदा पनि सरकारले गरेको बेवाास्ता, विपत्त पछिको पुर्ननिर्माणमा संघ र प्रदेश सरकारले असहयोग गरेको निश्कर्ष जनप्रतिनिधिहरुको छ । मनसुन शुरु भए लगत्तै जनप्रतिनिधिहरुले तत्काल नागरिकहरुको खोज र उद्दारमा ध्यान दिन सम्वन्धित पक्षलाई तयारी अवस्थामा रहन, राहत तथा पुर्नस्थापनाका लागि स्थानीय सरकारले गर्नु पर्ने आवश्यक तयारीमा सक्रिय रहने निर्णय गरेको छ । पनौती, रोशी र बेथान्चोकका केहि परिवार विस्थापित हुँदा पनि सरकारले बस्ति स्थानान्तरणका बारेमा चासो नदिएको स्थानीय जनप्रतिनिधिहरुको गुनासो छ । 
    संयुक्त बैठकले प्रधानमन्त्री, गृहमन्त्री तथा विपद ब्यवस्थापन प्राधिकरण प्रमुखसँग संयुक्त भेट गर्ने, विपद सम्वन्धी एकीकृत डाटावेस तयार गर्ने र जिल्ला भित्रका पायक पर्ने पालिकाहरुको चार स्थानमा क्षेत्रिय स्तरको आपतकालिन कार्य संचालन केन्द्र स्थापना गर्न आवश्यक समन्वय र सहजिकरणका लागि नेपाली सेना, नेपाल प्रहरी र शशस्त्र प्रहरीलाई अनुरोध गर्ने निर्णय भएको धुलिखेल नगरपालिकाका विपद फोकल पर्सन अधिकृत हरिशचन्द्र लामिछानेले बताए । त्यस्तै धुलिखेल ६ मा रहेको शशस्त्र प्रहरीको विपद् ब्यवस्थापन युनिटलाई थप श्रोत साधन सम्पन्न बनाउन सरकारका निकायसँग अनुरोध गर्ने, जिल्लामा भएको विपद ब्यवस्थापनको सन्र्दभमा अध्ययन केन्द्रको रुपमा विकास गर्न काठमाडौ विश्वविद्यालय लगायतका संस्थासँग विपद अध्ययन र अनुसन्धान गर्न साझेदारी गर्ने, असोज १०–१२ गतेको क्षतिको आंकलन विषयमा बहु पक्षिय पुनःसर्भेक्षण गर्न विपद ब्यवस्थापन प्राधिकरणमा अनुरोध गर्ने निर्णय गरेको छ । विपद ब्यवस्थापका सन्र्दभमा कृयाशिल राष्ट्रिय तथा अन्तराष्ट्रिय संस्थाहरुको समन्वयमा बैठक तथा कार्यशाला आयोजना गर्ने र काभ्रेको अवस्था र भावी कार्यबारे सरकारका निकायमा ध्यानकर्षण गराउने निर्णय गरेको छ । 
    प्रमुख जिल्ला अधिकारी उमेश ढकालको अध्यक्षतामा बसेको बैठकले विषयगत समितिहरुले तयार गरेको विपद पुर्व कार्ययोजना स्वीकृत गर्ने निर्णय गरेको थियो । योजना निर्माण, बैठक, छलफल बाहेक नागरिकहरुले तत्काल पाउनु पर्ने राहत समेत नपाएको गुनासो गरेका छन् । काभ्रेपलाञ्चोक जिल्लाको विपद पूर्व तयारी तथा प्रतिकार्य योजना (डिपिआरपी) अद्यावधिक गरी अनुमोदन गरिएको प्रजिअ ढकालले बताए । बैठकले विपदपूर्व तयारी तथा प्रतिकार्य योजनालाई अन्तिम रूप दिएको हो । विपद व्यवस्थापन समिति अन्तर्गतका विभिन्न १२ वटा क्लस्टर (समूह) ले विभिन्न समयमा सरोकारवालाहरूको छलफल र सहभागितामा तयार गरेको विपद पूर्वतयारी तथा प्रतिकार्य योजना अध्यावधिक गरिएको थियो । 
    प्रमुख जिल्ला अधिकारी ढकालले विपद ब्यवस्थापनसँग सम्वन्धित बैठकहरु बैशाख महिनामा मात्रै ६ वटा आयोजना गरिएको बताए । चालु वर्षको २०८१ साउन देखि २०८२ बैशाख मसान्तसम्म २१ वटा बैठक बसेका छन् । विपदमा मात्रै चालु वर्षका १० महिनामा २ करोड ४५ लाख ५५ हजार वितरण भएको छ । पालिकाहरु मार्फत पूर्ण क्षति भएका घर परिवारका लागि अस्थायी आवास निर्माण गर्ने उदेश्यले सरकारले थप रकम उपलब्ध गराएको छ । तेमाल बाहेक सबै पालिकामा उक्त रकम पुगिसकेको छ । प्राकृतिक प्रकोपका घटना बैशाख महिनामा ४ वटा भए । १० महिनाको अवधीमा २ सय ३३ वटा घटना भएका छन् । जसमा ८७ जनाले ज्यान गुमाएका छन् । ९७ जना घाईते भएका छन् । बैशाख महिनामा ३ जना घाईते भए । मनसुन सकिने समयमा तीन दिनसम्म लगातार भएको वर्षातका कारण जिल्लामा पुगेको क्षतिको मुल्यांकन भई नसक्दै अर्काे मनसुन र त्यसले पार्ने असरका बारेमा नागरिकहरु चिन्तित हुन थालेका छन् । 

२९३६ परिवारलाई ५० हजार 
    मनसुनजन्य विपद पछिको अस्थायी आवासका लागि प्रति परिवार ५० हजार दिने निर्णय अनुसार जिल्लाका ११ वटा पालिकाका २९ सय ३६ परिवारलाई पहिलो किस्ता वापत २५ हजार निकासा गरिएको छ । केहि पालिकाहरुले दोश्रो किस्ताका लागि निर्माण गरिएको अस्थायी टहराको तस्विर सहित आवश्यक कागजात माग गरी फाराम भर्न सार्वजनिक सूचना जारी गरेका छन् भने केहिले २५ हजार वितरणका लागि पुनः यकिन गर्न आब्हान गरेका छन् । तेमाल गाउँपालिकाको अस्थायी आवास निर्माण गर्ने घर परिवारको यकिन विवरण इन्ट्रि गरिएको छैन । भुम्लुको पनि अझै निर्णय भएको छ । अन्यले रकम लिएर अस्थायी आवास निर्माण गरिसकेका छन् । अस्थायी आवास त्यतिबेला नै निर्माण गरिसकिएकाले दोश्रो किस्ताका लागि आब्हान गर्न स्थानीय जनप्रतिनिधिले अनुरोध गरेका छन् । 
    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा ब्यवस्थापन प्राधिकरणले २०८२ बैशाख ४ गते जिल्ला प्रशासन कार्यालय काभ्रे मार्फत अस्थायी आवासको रकम निकासा गरेको थियो ।  महाभारतमा १७, बेथान्चोकमा २ सय ३९ र नमोबुद्धमा ८ सय २४ घर परिवारका लागि २ करोड ७० लाख रुपैया निकासा माग गरिएको थियो । पनौती ६ सय ३४, पाँचखाल ८८, धुलिखेल ८६, मण्डनदेउपुर १ सय ३३, खानीखोला ४६, चौरीदेउराली २ सय ८०, रोशी ५ सय ४८ घर परिवार गरी ४ करोड ५३ लाख ७५ हजार रुपैया निकासा माग गरिएको थियो । अस्थायी आवासका लागि बनेपाका ४१ घर परिवारका लागि रकम निकासा भएको छ । तेमाल र भुम्लु बाहेकका ११ वटा पालिकाका नागरिकहरुका लागि पहिलो किस्ता बापतको रकम निकासा माग गरिएको थियो ।
    असोज १०–१२ को अविरल वर्षातका कारण काभ्रेपलाञ्चोक जिल्लामा अरबौको क्षति भयो । विपत्ति पछि तत्काल गुजाराका लागि १३ वटा पालिकाका ६ हजार ३ सय १५ परिवारले १५ हजार र २० हजारका दरले १० करोड ३९ लाख ३६ हजार ५ सय रुपैया नगद प्राप्त गरेका छन् । यो रकम सरकारले युनिसेफ, नेपाल रेडक्रस सोसाईटी लगायतका संस्थाको सहयोगमा उपलब्ध गराएको हो । यो पनि विपत्तिको ५ महिना पछि उपलब्ध गराईएको हो । जसमध्ये सबैभन्दा धेरै रोशी गाउँपालिकामा १२ सय ३२ घर परिवारले १ करोड ९९ लाख ५ हजार रुपैया प्राप्त गरेका छन् भने तेमालमा १ हजार २१ घर परिवारले १ करोड ९० लाख २५ हजार रुपैया नगद प्राप्त गरेका छन् । बनेपा नगरपालिकामा ४६ घर धुरी, पनौतीमा ९ सय ६३, धुलिखेलमा ८५, नमोबुद्धमा ९ सय २४, मण्डनदेउपुरमा ९ सय ८, पाँचखालमा ६९, बेथान्चोकमा ४ सय ७६, भुम्लुमा ३ सय ३८ घर परिवारले नगद सहयोग प्राप्त गरेका छन् । चौरीदेउरालीमा १ सय ८०, महाभारतमा २७, खानिखोलामा ४६ घर परिवारले नगद बुझेका छन् । 

कुन क्षेत्रको कति क्षति ? 

कृषि क्षेत्र ः २८८० हेक्टरमा लगाएको बाली क्षति । अनुमानित उत्पादनमा क्षति (मे.टन) – १४३८३ । अनुमानित आर्थिक नोक्सानी – ८१ लाख १३ हजार । 

पुशपालन क्षेत्र ः अनुमानित प्रभावित घरधुरी संख्या ः ५२४२, पशु चौपाया क्षति ः २२१९, माछा (केजी) ः १९३१३, पन्छी ः २५२६८, भौतिक संरचना (गोठ/खोर) ः १४२२ । 

सडक राजमार्ग ः विपी राजमार्ग । धुलिखेल देखि बर्खेखोलासम्मको ९ किमी सडक खण्ड । क्षतिग्रस्त सडकको अनुमानित रकम २ अर्ब ४० करोड । अरनिको राजमार्ग ः सामान्य पहिरो गएको । 

सडक पुल ः ३ वटा पुर्ण क्षति भएको । ४ वटा आंशिक क्षति भएको । 

सिंचाई तथा तटबन्ध ः सिंचाईका १०६ योजना । तटबन्धका ३६ योजना र बाढी तथा पहिरोको आपतकालिन पुनःस्थापना तर्फ २५ वटा योजनामा क्षति । 

विद्युत्त क्षेत्र ः जिल्लाका ८५ प्रतिशत संरचनामा क्षति । विद्युत्त पोल ढलेका, बगाएका र ट्रान्सफरमरहरु जलेका र बगाएका । 

दुरसंचार ः टावर, केवल, रिपिटर्स जस्ता भौतिक पुर्वाधारमा क्षति । नेटवर्कमा समस्या । 

शिक्षा क्षेत्र ः १०४ वटा भवनमा ३८ करोड भन्दा धेरैको क्षति । १४ जना विद्यार्थीको निधन । विद्यालयको वालहरु समेत क्षतिग्रस्त । 

स्वास्थ्य पुर्वाधार ः ४ वटा स्वास्थ्य संस्था पूर्ण क्षति । १७ वटा स्वास्थ्य संस्थामा आंशिक क्षति । 

खानेपानी पूर्वाधार ः १९८ वटा खानेपानी आयोजनामा क्षति पुगेको । मर्मत तथा पुनस्थापनाको लागि ८४ करोड १२ लाख ६२ हजार बजेट आवश्यक रहेको । नमोबुद्ध, बेथान्चोक, धुलिखेल खानेपानी, गोकुले बृहत्त र तेमाल बृहत तथा काभ्रे भ्याली एकीकृत खानेपानी आयोजनामा क्षति पुगेका छन् । 

वनजन्य पूर्वाधार ः उपभोक्ताद्धारा संरक्षित बनमा विभिन्न जातका १३ हजार ४२७ र सकरारद्धारा ब्यवस्थित बनमा ९४५ वटा रुख ढलेको । निजी पाखो बारीमा राखिका ४२ सय क्यु फिट काठ बगाएको र साना ठुला गरी वनमा ८ सय ५० स्थानमा पहिरो गएको ।