2026 August 03/ 12:57: 55pm

बनेपा/बनेपा नगर टेबल टेनिस संघको आयोजनामा प्रथम मेयर कप राष्ट्रिय खुल्ला टेबल टेनिस प्रतियोगिता २०८२ हुने भएको छ । आज जेठ १५ देखि १७ गतेसम्म आयोजना हुने प्रतियोगिताका लागि खेलाडीहरुलाई खुल्ला आमन्त्रण गरिएको छ । 
    बनेपामा आयोजना गरिएको उक्त प्रतियोगिताका लागि १८ वर्ष उमेर कम समुहका केटा र केटी दुबै समुहले प्रतिस्पर्धा गर्न सक्नेछन् । जसमा प्रथम हुनेले १५ हजार, दोश्रो हुनेलाई १० हजार र तेश्रो हुनेलाई ५ हजार नगद पुरस्कार उपलब्ध गराईनेछ । 
    प्रतियोगिताका बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बनेपा नगर टेबल टेनिस संघका अध्यक्ष परमेश्वर श्रेष्ठले प्रतियोगिता, तयारी र पुरस्कार लगायतका विषयमा जानकारी दिएका थिए । खुल्ला एकल पुरुष र महिला तर्फ प्रथम पुरस्कार ४० हजार तोकिएको छ । दोश्रो हुनेले २० हजार र तेश्रो हुनेले १० हजार प्राप्त गर्नेछ । 
    प्रतियोगितामा मास्टर सिंगल ४० वर्ष उमेर भन्दा माथी समुहमा प्रथम हुनेले १५ हजार, दोश्रो हुनेलाई १० हजार र तेश्रो हुनेलाई ५ हजार पुरस्कार ब्यवस्था गरिएको छ भने मास्टर सिंगल ५५ वर्ष उमेर समुह माथी पनि प्रथम हुनेले १५ हजार, दोश्रो हुनेलाई १० हजार र तेश्रो हुनेलाई ५ हजार पुरस्कार ब्यवस्था गरिएको छ । प्रतियोगिताका लागि करिव ५ लाख रुपैया खर्च हुनेछ । 
    बनेपा नगरपालिका तथा विभिन्न संस्थाहरुको सहयोग रहने उक्त प्रतियोगिताको मुख्य उदेश्य बनेपा तथा काभ्रेपलाञ्चोक जिल्लाबाट राष्ट्रिय स्तरका टेबल टेनिसका खेलाडीहरु तयार गर्ने, मोफसलमा रहेर पनि राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने क्षमतावान खेलाडीहरु तयार गर्ने र एक अर्काको सीप तथा कौशलले अन्यत्र प्रतिस्पर्धामा उत्रन सक्ने राष्ट्रिय खेलाडी तथा प्रतियोगिता संयोजक शिवसुन्दर गोथेले बताए । 
    पत्रकार सम्मेलनमा बनेपामा टेबल टेनिस खेलको अवस्था, स्थापना र त्यसको निरन्तरताका बारेमा जानकारी दिदै बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्यले २०८१ साउन ८ गते देखि नियमित प्रशिक्षण सहित खेलाडीहरु उत्पादन गरिरहेको बताए । उत्पादन गरिएका खेलाडीहरुको सीप तथा प्रतिस्पर्धा अन्यत्र पनि उत्कृष्ट हुने गरी देखाउन प्रतियोगिता महत्वपूर्ण हुने नगर प्रमुख शान्तिरत्न शाक्यले बताए । बनेपाले पछिल्ला वर्षहरुमा फुटबल, भलिबल, बास्केटबल, कराँते तथा टेबलटेनिस लगायतका प्रतियोगिताहरुलाई प्राथमिकता दिदै खेल, खेल क्षेत्रका पूर्वाधार र खेलाडीहरु तयार गर्न शुरु गरेको बताए । टेबलटेनिस प्रतियोगिताले एक अर्का बीचको भातृत्व तथा राष्ट्रियस्तरमा खेलाडीहरुको प्रतिस्पर्धामा थप सहयोग पुग्ने नगर प्रमुख शाक्यले बताए । 
    बनेपामा २०३६ सालमा जर्मनबाट ल्याउने गाडीको साथमा टेबल टेनिस ल्याए देखि आफुले निरन्तर टेबुल टेनिस खेलिरहेको भए पनि ब्यवसायीकता हुन नसकेको नगर प्रमुख शाक्यले बताए । तत्कालिन नगर प्रमुख रामभक्त कोख श्रेष्ठले बनेपाका विभिन्न स्थानमा टेबुल टेनिस कोर्ट निर्माण गरेर खेललाई ब्यवसायीकता दिन शुरु गरेको भए पनि निरन्तरता हुन सकेको थिएन । अहिले उक्त खेल, खेलसँग अन्य गतिविधिहरु विस्तार गरिएको उनले बताए । बनेपामा हुने प्रतियोगितामा सहभागिताका लागि खुल्ला आमन्त्रण गरिएको छ । 
    पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष विनोद न्यौपाने, टेबल टेनिस संघका जिल्ला अध्यक्ष विशाल कायश्थ, नगर अध्यक्ष परमेश्वर श्रेष्ठ, उपाध्यक्ष अशोक श्रेष्ठ, सचिव कुश श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।