2026 August 03/ 12:58: 56pm

    पनौती/पदीय जिम्मेवारी दुरुपयोग गरी संस्थाको रकम अपचलन गर्ने सामुदायिक बचत तथा ऋण सहकारी संस्था पनौतीका तीन कर्मचारी कारवाहीमा परेका छन् । संस्थाले अपचलन गरेको रकमको साँवा तथा ब्याज सहित असुल गरी संस्थाको विनियम अनुसार बर्खास्त पछि कानूनी कारवाही शुरु गरेको छ । 
    संस्थामा कार्यरत ऋण सहायक चौंथो तहका सुभाष सापकोटा, ऋण सहायक सुन्दर घिमिरे र सेवा केन्द्र प्रमुख विकास खड्कालाई पदीय जिम्मेवारी दुरुपयोग गरी रकम अपचलन गरेको अभियोगमा संस्थाले कारवाही गरी रकम असुल उपर गरे पछि जिल्ला प्रहरी कार्यालय काभ्रे र बागमती प्रदेश सहकारी विभागमा थप अनुसन्धान र कारवाहीका लागि उजुरी गरिएको प्रमुख कार्यकारी अधिकृत मदन बस्नेतले बताए । संस्थाले रकम अपचलन, अपचलन गर्ने कर्मचारी र उनिहरुका सम्बन्धमा भएका घटनाक्रमका बारेमा आज सोमबार आज विज्ञप्ती प्रकाशन गरी जानकारी गराएको हो । 
    अध्यक्ष मुकुन्द शर्माद्वारा जारी गरिएको विज्ञप्तीमा रकम अपचलन गरेका कर्मचारीहरुलाई सहकारीको ऐन, नियम र कानून मार्फत कारवाही गरी अपचलन गरेको रकमको साँवा ब्याज सहित असुल उपर पछि कानूनी कारवाही शुरु गरेको उल्लेख छ ।
 कसले कति रकम अपचलन गरेका थिए ? 
    सामुदायीक बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा पनौती ६ दलिन्चोक घर भएका सुभाष सापकोटा २०७६ जेठ १६ देखि कार्यरत थिए । पछिल्ला समय उनी मुख्य कार्यालय, पनौती ४, काभ्रेमा ऋण सहायक चौंथो तहमा कार्यरत थिए । उनले संस्थाको कम्प्युटर सिस्टममा मिति २०८१ साउन १६ गते देखि २०८१ चैत्र १७ गतेसम्म पटक–पटक गरी विभिन्न मितिमा संस्थाको आम्दानी खाताबाट रकम अपचलन गरी आफू र आफ्ना परिवार तथा साथीहरुको नाममा रकम सारी हिनामिना गरेका थिए । उनले संस्थाको मुल आम्दानी खाताबाट ३ करोड ३ लाख ८२ हजार रुपैयाँ अपचलन गरेका थिए । सहकारी विभागले जारी गरेको सन्दर्भ ब्याजदर १६ प्रतिशतका दरले ब्याज समेत जोडी संस्थाले उक्त रकम असुल गरिसकेको छ । साथै एकाघर परिवारको घर जग्गा रोक्का राखेको छ । 
    रकम अपचलनमा संलग्न अर्का कर्मचारी सुन्दर घिमिरे पनौती २ कुशादेवीका हुन् । २०७५ असोज २१ गते नियुक्ती पाएका घिमिरे ढुंखर्क सेवा केन्द्र, बेथानचोक २ मा ऋण सहायक पदमा कार्यरत थिए । संस्थाको कम्प्युटर सिस्टममा २०८१ असोज १५ गते देखि २०८१ चैत्र २१ गतेसम्म पटक पटक गरी विभिन्न मितिमा संस्थाको आम्दानी खाताबाट रकम अपचलन गरी आफू र आफ्ना परिवार तथा साथीहरुको नाममा रकम सारी हिनामिना गरेका थिए । ५८ लाख २५ हजार ९ सय ६४ रुपैया ७३ पैसा अपचलन गरेका थिए । सोहि रकमको १६ प्रतिशतका दरले ब्याज समेत जोडी सबै रकम असुल गरिएको संस्थाले जानकारी दिएको छ । 
    रकम अपचलनमा संलग्न तेश्रो कर्मचारी विकास खड्का हुन् । पनौती ८ मल्पी घर भएका विकास कुशादेवी सेवा केन्द्र पनौती २ काभ्रेका सेवा केन्द्र प्रमुख हुन् । उनले २०७५ बैशाख १६ गते नियुक्ती पाएका थिए । संस्थामा आफ्नो पद तथा जिम्मेवारीको दुरुपयोग गरि खड्काले आफ्ना आफन्त, साथी सदस्यहरुको नाममा फाईल समेत खडा नगरी, कम्प्यूटर सिस्टममा मात्र ऋण चढाई १ करोड ३८ लाख ५० हजार बिना धितो ऋण बनाई आफैंले प्रयोग गरेका थिए । साथै आफ्नो जिम्मेवारीमा रहेको कुशादेवी सेवा केन्द्रको भल्टबाट २०८२ बैशाख ५ गतेसम्म ९ लाख रकम निजी प्रयोजनका लागि अपचलन गरेका थिए । आन्तरिक छानविन समितिले अपचलन गरेको प्रमाणित गरे पछि उनले साँवा र प्रचलित ब्याज समेत भुक्तानी गरेका थिए । 

के ग¥यो सहकारीले ? 
    २०८१ चैत्र मसान्तको भाखा नाघेको ऋणको विवरण हेर्ने क्रममा बचत धितोको ऋण भाखा नाघेको देखि त्यसको विवरण खोजतलास गर्दा २०८२ बैशाख ७ गते विकास खड्काले आफू र आफ्ना नातेदारहरुको नाममा ऋण बनाई आफैंले रकम अपचलन गर्ने गरेको तथ्य फेला पारी निजलाई सोही दिनबाट निलम्बन गरी, कर्मचारी प्रशासन नीति बमोजिम स्पष्टिकरण लिएर छानविन गरेको थियो । निजले संस्थामा नियुक्ती लिएको मिति देखि नै निजले तयार गरेका सम्पूर्ण ऋण फाईलहरु र निजको युजरबाट कम्प्यूटर सिस्टममा भएका सम्पूर्ण गतिविधिहरु निरिक्षण तथा अनुगमन गरी बिगो रकम कायम गरेको छ । 
    निजको घरजग्गा संस्थाको नियमानुसार निरिक्षण तथा मुल्यांकन गरी रोक्का राखि निजबाट भएको बिगो र सोमा प्रचलित ब्याजदर समेत जोडी बिगो र ब्याज समेत असुल गरेको छ । २०८२ बैशाख १८ गते निजको जिम्मेवारीमा रहेको सेवा केन्द्रको अनुगमन गर्ने क्रममा काउन्टरको नगद ९ लाख नपुग देखेर खोजतलास गर्दा निजले २०८२ बैशाख ५ गतेदेखि अपचलन गरेको पत्ता लागाई सो रकममा ब्याज समेत जोडी असुली गरेको छ । संस्थाको आम्दानी लेजरको रकममा दैनिक आम्दानीको रकम र मौज्दात रकम रुजू गर्दा मिति २०८२ बैशाख १७ गते लेजरहरु परिक्षणको क्रममा हिसाब नमिलेको देखि नमिलेका लेजरहरुको विस्तृत विवरण चेक गर्दा संस्थाका कर्मचारी सुभाष सापकोटा र सुन्दर घिमिरेबाट पटक पटक आम्दानी लेजरबाट रकम अपचलन गरेको देखिन आएकोले सोही मितिबाट निजहरुलाई निलम्बन गरी, स्पष्टिकरण माग गर्न र छानविन गर्न शुरु गरेको थियो । रकम अपचलन गर्ने कर्मचारीहरुको परिवारलाई संस्थामा बोलाई जानकारी गराई छलफल गरी रकम असुलीलाई पहिलो प्राथमिकतामा राखि छानविन शुरु गरेको थियो । 
    संस्थाले आफ्नो तहबाट गरेको अनुसन्धान र छानविन पछि रकम असुली सँगै २०८२ जेष्ठ ५ गते जिल्ला प्रहरी कार्यालय धुलिखेलमा घटनाको विवरण सहितको ठाडो उजुरी बुझाएको थियो । २०८२ जेष्ठ ११ गते जिल्ला प्रहरी कार्यालय धुलिखेलमा जाहेरी समेत लिई प्रहरीसँग थप परामर्श गरेको छ । २०८२ जेष्ठ ११ गते नियामक निकाय सहकारी तथा गरिबी निवारण मन्त्रालय, बागमती प्रदेश, हेटौडामा आवश्यक कार्वाहीको लागि पठाईएको छ । संस्थाका कर्मचारीहरुबाट अपचलन भएको रकम र सो रकममा ब्याज समेत जोडी असुल गरि सकिएकोले सदस्यहरुको रकम सुरक्षित रहेको र कुनै किसिमको हानी नोक्सानी भएको छैन । घटना पछि पुन यस्ता किसिमका घटना हुन नदिन संस्थाका सम्पूर्ण कर्मचारीहरुले प्रयोग गर्ने सफ्टवेयरको युजरहरुमा प्रदान गरिएको अधिकारहरुलाई पुनरावलोकन गरी मेकर र चेकरको सिस्टम अपनाएको छ । सहकारी ऐनमा प्रदेश स्तरीय अनुगमन, निरीक्षण र अनुसन्धान पछि जिल्लाबाट कारवाही प्रकृया शुरु गर्ने उल्लेख गरिएको छ । 

संस्थाको आर्थिक अवस्था कस्तो छ ? 
    नेपालमै नमुना अन्तराष्ट्रिय ब्राण्ड प्राप्त सहकारी हो सामुदायिक । यसअघि पनि उक्त सहकारीमा डाँकाहरुको समुहले कार्यालय तोडफोड गरी मध्यरातमा सुरक्षा गार्डलाई नियन्त्रणमा लिई नगद लुटपाट गरेका थिए । प्रहरीको सफल अनुसन्धान पछि मकवानपुर देखि चोरीमा संलग्न गिरोह पक्राउ परेको थियो । उक्त रकम सबै फिर्ता भएको सहकारीले जानकारी दिएको छ । 
    सदस्यहरुको बचत रकम सुरक्षाका लागि सहकारीले बीमा गरेको अध्यक्ष मुकुन्द शर्माले बताए । कर्मचारीहरुलाई दिएको पदीय जिम्मेवारी दुरुपयोग गरी भएको अपचलनमा संलग्नलाई तत्काल कारवाही गरी संस्थाको सबै रकम असुल गरिएको उनले बताए । संस्थामा हाल जगेडा कोष ४२ करोड ९७ लाख ४७ हजार ६ सय ६० रुपैया रहेको छ भने अन्य कोषहरुमा २६ करोड ७८ लाख ७६ हजार ९ सय ७७ रुपैया रहेको छ । २०८२ बैशाख महिना भर ७९ हजार ३ सय ८३ वटा कारोवारबाट एक अर्ब छब्बिस करोड एकानब्बे लाख ६३ हजार सात सय बाईस रुपैँया छयानब्बे पैसा जम्मा भएको छ । २०८२ जेठ १ देखि ११ गतेसम्म २७ हजार ९ सय ७९ वटा कारोबारबाट चौतिस करोड छयासी लाख असी हजार एक सय बयालिस रुपैँया अठासी पैसा जम्मा भएको छ ।  संस्थामा भएको बचत तथा अन्य सम्पत्तीको सुरक्षा गर्ने दायित्व संचालक तथा कर्मचारीहरुको रहेकाले दोषिलाई आवश्यक कारवाही गरी सदस्यहरुको विश्वासलाई अझै प्रगाढ बनाउन कृयाशिल रहेको अध्यक्ष शर्माले बताए ।