2025 May 14/ 08:58: 20am

    बनेपा/अस्पताल स्थापनाको ६५ वर्ष बनेपामा रहेको शीर मेमोरियल एड्भेन्टिष्ट अस्पतालमा सिटी स्क्यान मेशिन शुभारम्भ गरिएको छ । अस्पतालले विशेष कार्यक्रमका बीच सिटी स्क्यान मेशिन संचालनमा ल्याएको हो । 
    १ सय २८ स्लाईटको सिटी स्क्यान मेशिन ४ लाख ६० हजार अमेरिकी डलरमा खरिद गरिएको हो । जेनेटर सहित सिटी स्क्यान मेशिनको मुल्य नेपाली ७ करोड ५० लाख रुपैयाँ परेको छ । रोटरी फाउन्डेशन, रोटरी क्लब अफ कुपण्डोल र रोटरी क्लव अफ काभ्रेको विशेष समन्वय र सहयोगमा ग्लोबल ग्राण्ड फन्ड मार्फत रोटरीयन तथा विभिन्न क्लव, संघ संस्था र ब्यक्तिहरुको सहयोग मार्फत मेशिन खरिद गरिएको थियो । अस्पताललाई उक्त मेशिन संचालनमा लागि आवश्यक ब्यवस्थापनका लागि अस्पतालमा कार्यरत चिकित्सक र कर्मचारीहरु मार्फत एक महिनाको पारिश्रमीक उपलब्ध गराईएको छ । यसअघि रोटरी मार्फत काभ्रेको शीर र धुलिखेल अस्पताल लगायतलाई डाईलोसिस मेशिन उपलब्ध गराईएको थियो । अस्पतालले उक्त मेशिन संचालनका लागि नयाँ भवन निर्माण गर्ने तयारी गरेको छ । 
    जिल्लाकै पुरानो अस्पताल सेवा र गुणस्तरसँगै प्रविधिमा समेत पोख्त हुन थालेको छ । दक्ष जनशक्तिका लागि प्रविधिको उचित ब्यवस्थापन गरिरहेको अस्पतालले सिटी स्क्यान मेशिनका लागि २०२२ देखि कार्य प्रारम्भ गरेको थियो । अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा.हेक्टर गायरसले सन् २०२२ मा रोटरीयनहरु गुणेश्वर महत्तो, बन्धु रञ्जन, हरेराम कोईराला र सुमनप्रसाद शर्मा मार्फत अस्पतालका लागि सिटी स्क्यान मेशिन ब्यवस्थापनका लागि प्रकृया शुरु भएको थियो । शुरुमा ६४ स्लाईटको साँढे २ लाख अमेरिकी डलरमा खरिद गर्ने प्रकृया शुरु भएको थियो । १ सय ५० शैयाको अस्पतालमा विरामीको दिनानुदिन बढिरहेको चाप र त्यसको ब्यवस्थापनका लागि १ सय २८ स्लाईटको उपयुक्त हुने निश्कर्ष रोटरी फाउन्डेशनकी सान्ड्राले बताईन् । स्रन्ड्रा हेमस्टेड र रुथको विशेष सहयोग र समन्वयमा नेपालका रोटरियनहरु बन्धु रन्जन तथा गुणेश्वर महत्तोको निरन्तरको पहलकदमीबाट उक्त मेशिन खरिद गरी अस्पताललाई उपलब्ध गराईएको हो । अस्पतालले विशेष कार्यक्रमका बीच सहयोगीहरुलाई मायाको चिनो सहित धन्यवाद र आभार ब्यक्त गरेको छ । 
    कार्यक्रममा बोल्दै अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा.हेक्टर गायरसले सिटी स्क्यान मेशिन अस्पतालका लागि अत्यावश्यक र विरामीहरुको उपचार सेवामा महत्वपूर्ण हुने बताए । ‘पैसा नभएका विरामीहरुले पनि उक्त मेशिनको सेवा लिन सक्नेछन अर्थात् पाउने ब्यवस्था अस्पतालले मिलाएको छ’–डा.गायरसले भने–‘अस्पताल पैसा हुने र नहुने सबैका लागि हो । पैसा भएन र उपचार पाउन सकिन भन्ने अवस्था आउन दिदैनौं ।’ सिटी स्क्यान मेशिनको बागमती प्रदेश सभा सदस्य कन्चनचन्द्र बादेले शुभारम्भ गरेका थिए । कार्यक्रममा बोल्दै अस्पतालले थपिरहेको सेवा र गुणस्तरको निरन्तरताको उनले कामना गरे । एडभेन्टिष्ट हेल्थ रक्किका प्रमुख कार्यकारी अधिकृत ब्रेट स्पेन्स, शीर मेमोरियल अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा.हेक्टर गायरस, रोटरी इन्टरनेशनल डिस्ट्रिक ३२९२ का डिस्ट्रिक गर्भनर राजेन्द्रमान शेरचन, बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्य, उपप्रमुख विमला सापकोटा, वडा अध्यक्ष बलराम अधिकारी, जिल्ला प्रशासन कार्यालय काभ्रेका अधिकृत कृष्णप्रसाद सापकोटा, रोटरी फाउन्डेशनकी सान्ड्रा, एडभेन्ट हेल्थ ग्लोबल हेल्थ इनिसिएटिभका निर्देशक ग्रेगरी हजसन, नेपाल हेल्थ फाउन्डेशनका डा.सन्देश मास्के, रोटरीयनहरु सञ्जय गिरी, जितेन्द्रबहादुर राजबंशी, कुुमुद त्रिपाठी, अशोक प्याकुरेल, अमित गिरी, लोचन जोशी, श्यामकुमार तिमल्सिना लगायतको सहभागिता रहेको थियो । 
    अस्पतालले यसअघि अल्ट्रासाउन्ड मेशिन, ल्याप्रोस्कोपिक टावर, युरेटेरोनस्कोप र सर्भर मेशिन शुभारम्भ गरेको थियो ।  विरामीहरुका लागि बहुउपयोगी मानिन्छ । विरामीलाई दयालु हेरचाहका लागि उक्त उपकरणहरु थप महत्वपूर्ण हुने अस्पतालका मेडिकल डाईरेक्टर डा.एन्जिला बस्नेतले बताईन् । डा.अनिल पालिखे र डा.अनुपम भण्डारीले यस अघि अस्पतालमा रहेका तीनवटा अल्ट्रासाउण्ड मेशिनबाट उपलब्ध गराएको सेवामा थप अर्काे उपकरणले विरामीहरुका लागि सहयोग पुग्ने बताए । विरामीहरुले उक्त सेवाका लागि दैनिक सहज रुपले सेवा पाउने गरी ब्यवस्थापन गरिएको डाक्टरद्धय पालिखे र भण्डारीले बताए । डा.धु्रर्व कँडेलले ल्याप्रोस्कोपिक टावर र युरेटेरोनस्कोपको प्रयोग र त्यस मार्फत विरामीहरुका लागि उपलब्ध गराईने सेवा गुणस्तरीय र सहज हुने बताए । मृगौलामा हुने पथ्थरी तथा अन्य उपचार सेवामा यि उपकरहरु सहयोगी र सरल बन्नेछन् । ल्याप्रोस्कोपिक टावर र अल्ट्रासाउण्ड मेशिनका लागि जर्मन रोटरीयनहरुले सहयोग गरेका हुन् । अस्पतालले विभिन्न सहयोगीहरु मार्फत प्राप्त उपकरणहरुलाई विरामीको उपचार सेवामा भरपुर उपयोग गर्ने बताएको छ । कार्यक्रममा बनेपा नगरपालिका उपप्रमुख विमला सापकोटाले अस्पतालले उपलब्ध गराएको सेवालाई अझै प्रभावकारी बन्न उपकरणहरु सहयोगी बन्ने बताए ।