
प्रलोभनसँगै दवाब र प्रभावमा पारेर पीडितलाई बयान फेर्न लगाउँदै अभियोग बदलेर ‘उन्मुक्ति’ दिएको तथ्यहरुले पुष्टि गरेका छन् ।
मोतीराम तिमल्सिना
धुलिखेल
जिल्ला अदालत काभ्रेपलाञ्चोकमा दर्ता भएका जबरजस्ती करणी अभियोगका मुद्दाहरुमा संलग्नहरुले धमाधम सफाई तथा मुद्दाको शीर्षक बदलेर कम सजायँमा उन्मुक्ति पाउन थालेका छन् । पछिल्ला दुई फैसलामा पीडित बालिकाद्वयलाई दवाब र प्रभाव पार्दै मुद्दाको शीर्षक नै बदलेर सफाई दिएको खुलेको छ । जबरजस्ती करणीमा दर्ता भएको मुद्दालाई दुब्र्यवहारमा परिणत गर्दै फैसला गराईएको छ ।
बनेपा नगरपालिका वडा नम्वर १४ का ४९ बर्षीय प्रकाश कार्कीले अभियोगबाट सफाई पाएका छन । जिल्ला न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलाशले उनलाई दावी नपुग्ने ठहर गरेको हो । २०८१ जेठ ६ गते दिउँसो प्रकाश कोहि नभएको बालिकाको कोठामा पुगेर जबरजस्ती करणी गरेको अभियोगमा पुर्पक्षका लागि कारागारमा थिए । सुनगाभा स्कुल बनेपा १४ मा विद्यालयको बस चलाउँदै आएका प्रकाशले सरकारी वकिल र प्रहरी कार्यालयमा साविति बयान दिएका थिए । पीडितको आमा रोजगारका लागि विदेश गएको र उनी ठुली आमाको घरमा डेरा कोठामा बसिरहेकी थिईन् । जुन विद्यालयको बस चलाउँथे प्रकाश त्यहि विद्यालयमा अध्ययन गर्थिन् बालिका । विद्यालय जाने बेलामा प्रकाशले कहिले काँहि खाजा खान ५० रुपैयाँ दिने गरेको स्वीकारेका छन् । बालिकाले केहि समय पछि कपडा किन्न भन्दै प्रकाशसँग चिनेका नाताले अभिभावक सम्झेर ६ हजार रुपैयाँ मागेकी थिईन् । त्यहि रकम दिने वाहानामा प्रकाश बालिकाको कोठामा गएका थिए । उक्त दिन दिउँसो १ बजेको समयमा बालिका बाहेक त्यो घरमा कोहि थिएन । एक्लै डेरामा बस्ने भएकाले प्रकाशले अवसर हेरेका थिए । गाईलाई पराल दिने वाहनामा उनी बालिका भएको डेरा प्रवेश गरेका थिए । बालिकालाई उनले जबरजस्ती करणीको समयमा कण्डम समेत प्रयोग गरेको स्विकारेका थिए । प्रहरीसँगको बयानमा प्रकाशले बालिकासँगको सहमतिमा आफुले पटक–पटक सम्बन्ध राखेको बयान दिएका थिए ।
बालिकाको स्वास्थ्य परिक्षणले पनि उनि जबरजस्ती करणीमा परेको पुष्टि हुन्छ । बालिकालाई जबरजस्ती करणी गरेको भन्दै साक्षी बस्नेहरुले समेत प्रकाशले ५/६ महिना देखि नै बालिकालाई संवेदनशील अंगहरुमा छुने तथा पटक–पटक करणी गरेको बयान दिएका थिए । अन्तिम पटक २०८१ जेष्ठ ६ गते करणी गरेको अवस्थामा बालिकाले न्यायका लागि भनेकाले उजुरी गरिएको बताईएको छ । १६ बर्षिया बालिकालाई प्रलोभन देखाउँदै प्रकाशले जबरजस्ती करणी गर्दै आएका थिए । मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद १८ को २१९ मा जर्बजस्ती करणी गर्न नहुने उल्लेख गरिएको छ । जसको ‘घ’ मा १६ वर्ष वा १६ वर्ष भन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिलालाई जबरजस्ती करणी गरेमा १० देखि १२ वर्षसम्म कैद सजायँ हुने उल्लेख गरिएको छ । २०८१ असार ४ गते जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेलले जबरजस्ती करणी अभियोगमा जिल्ला अदालतमा मुद्दा दर्ता गरेका थिए । जिल्ला अदालत काभ्रेपलाञ्चोकका न्यायाधीश मातृकाप्रसाद आचार्यले २०८२ बैशाख १५ गते प्रकाश कार्कीलाई लगाईएको दावी नपुग्ने ठहर गरेका हुन् । यो अवधीमा बालिकालाई अदालतमा गराईएको बकपत्र तथा अन्य विषयमा दवाव र प्रभाव देखाउँदै बयान फेर्न लगाएको श्रोतले बतायो । तर पनि अदालतले १६ बर्षीया बालिकालाई ४९ वर्षका पुरुषले पटक–पटक गरेको जबरजस्ती करणी अभियोगमा किन सफाई दियो होला ? छिमेकी र आफन्तहरुले प्रश्न गरेका छन् ।
त्यस्तै जिल्ला अदालत काभ्रेपलाञ्चोकले बैशाख ९ गते अर्काे अभियोगमा शिर्षक नै बदलेर सजायँ घटाएको छ । जिल्ला अदालतको दैनिक पेशी सूचीमा २०८० पुष २६ गते दर्ता भएको जर्बजस्ती करणी मुद्दामा परिवर्तित नाम जिल्ला ३० जोरपाटी १ (क) को जाहेरीले मक्षनारायण श्रेष्ठ प्रतिवादी रहेको मुद्दामा जिल्ला न्यायाधीश मातृकाप्रसाद आचार्यले कसुर ठहर गरी सजायँ निर्धारणका लागि पेश गर्न आदेश दिएका थिए । कसुर ठहर हुँदा बखत उक्त मुद्दा जबरजस्ती करणीबाट बाल यौन दुब्र्यवहारमा परिणत भईसकेको थियो । २०८० साल कार्तिक ११ गते विद्यालयमा अध्ययन गर्ने छात्रालाई बनेपामा रहेको एक होटलमा पु¥याई जबरजस्तीकरणी गरेको अभियोगमा जाहेरी दर्ता भई पुर्पक्षमा रहेका श्रेष्ठलाई शिर्षक बदलेर जेल बसेको अवधीको सजायँ निर्धारण गरिएको छ । वडा अध्यक्ष रामशरण दुलाल लगायतले साविती बयान दिएका थिए । बालिकाको मोवाईल फोन, फेसबुक लगायतका सामाजिक सञ्जालमा गरिएका कुराकानीमा कुराकानी गरी मामाघर गएको बखत २०८० कार्तिक ११ गते साँगामा बोलाएर बनेपामा ल्याई जबरजस्तीकरणी गरेको बयान दिएकी थिईन् । १४ बर्ष १० महिना २२ दिनकी बालिका लिएर उनी होटलमा पुगेका थिए । होटलमा कोठा लिएको र कोठाको पैसा तिरेर दिउँसो १२ बजे तिर २० मिनेट जति बसेर निस्केको बयान दिएका थिए । उनिहरुले होटललाई भुक्तानी गर्नुपर्ने रकम फोन पे मार्फत गरेका थिए ।
जिल्ला न्यायाधिवक्ताले २०८० पुष २६ गते दर्ता गरेको जर्बजस्ती करणी सम्बन्धी उक्त मुद्दा बाल यौन दुब्र्यवहारमा बदलिएको हो । बालिकाको स्वास्थ्य परीक्षणले पनि उनी जबरजस्तीकरणीमा परेको तथ्य पुष्टि गराउँछ । जर्बजस्तीकरणीबाट बाल यौन दुब्र्यवहारमा मुद्दा परिणत गरे पछि उनलाई हुने सजाँय कटौती भएको छ । उक्त अभियोगमा पीडकलाई हुने सजायँ भनेको ७५ हजार रुपैया जरिवाना र तीन वर्षसम्म कैद हुनेछ । उनी अदालतले अभियोग बदलेर मुद्दा फैसला गरे पछि छुटिसकेका छन् । पीडित बालिकालाई अदालतमा हुने वकपत्रका समयमा बयान बदल्न लगाएको बताईएको छ । बालिकालाई दबाब र प्रभावमा घटना नै बदल्न लगाएको तथ्यहरुले पुष्टि गरेका छन् । बालिकाको स्वास्थ्य परीक्षण, होटलमा पुगेको प्रमाण तथा होटलमा तिरेको पैसा, बालिकाको मोबाईल फोनमा प्रयोग गरिएका म्यासेज लगायतले उक्त घटना पुष्टि हुने भए पनि किन शीर्षक नै बदलेर फैसला सुनाईयो ? स्थानीयहरु चकित भएका छन् ।
३३ महिनामा १ सय ४२ वटा अभियोग
३३ महिनाको अवधीमा काभ्रेपलाञ्चोक जिल्लामा जबरजस्ती करणी, जबरजस्तीकरणी उद्योग, बालयौनदुरुपयोग र अप्राकृतिक मैथुन सम्वन्धी १ सय ४२ वटा अपराधका घटना दर्ता भएका छन् । जसमध्ये सबै भन्दा धेरै जबरजस्ती करणीमा १ सय ४ वटा घटना दर्ता भए । उद्योगमा १० वटा, बालयौन दुरुपयोगमा २५ वटा र अप्राकृतिक मैथुनमा १ वटा अपराधका घटना दर्ता भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएस्पी मिनबहादुर घलेले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले आर्थिक वर्ष २०८०/०८१ र २०८१/०८२ को चैत्र मसान्तसम्मको घटना विवरण सार्वजनिक गर्ने क्रममा जघन्य अपराधमा जबरजस्ती करणीलाई समावेश गरेको छ । जसमा आर्थिक वर्ष २०८०/०८१ मा ४९ वटा अपराधका घटना दर्ता भएकोमा आर्थिक वर्ष २०८१/०८२ को ९ महिना अर्थात चैत्र मसान्तसम्म १८ वटा घटना दर्ता भएको उल्लेख गरेको छ । विशेषगरी प्रेम सम्वन्धमा परी शारीरिक सम्बन्ध राख्ने, आपसी सहमतीमा सम्बन्ध बनाई पछि विवाद पर्ने र प्रलोभनमा परी जर्बजस्ती करणी गरेको लगायतका कारण तथ्यांकमा जबरजस्ती करणी अभियोगमा धेरै घटना दर्ता हुन थालेका हुन् ।
कम उमेरमा विवाह समेत गर्ने र अभिभावकले थाहा पाए पछि उक्त सम्बन्ध टुटाउन जबरजस्ती करणी सम्बन्धी अभियोग दर्ता हुने गरेका छन् । अझ धेरै फरक–फरक जातमा परेको प्रेम सम्बन्धमा त्यस्ता घटना धेरै हुन थालेका छन् । आर्थिक वर्ष २०७९/०८० मा जबरजस्ती करणी सम्वन्धी ३७ वटा घटना दर्ता भएका थिए । बालयौन दुरुपयोगमा १० वटा, १३ वटा र यो अवधीमा २ वटा घटना दर्ता भएका छन् । अप्राकृतिक मैथुनमा एकवटा घटना दर्ता भएका छन् । जर्बजस्तीकरणी उद्योगमा शुरुको वर्ष १, दोश्रो वर्ष ३ वटा र चालु वर्षको ९ महिनामा ६ वटा घटना दर्ता भएका छन् ।