2026 August 04/ 06:30: 14pm

    धुलिखेल/धुलिखेल अस्पतालको बाल रोग विभागले किशोर– किशोरी स्वास्थ्य क्लिनिक संचालनमा ल्याएको छ । अस्पतालका संस्थापक प्रा.डा.रामकण्ठ माकजुले क्लिनिकको एक कार्यक्रमका बीच क्लिनिकको शुभारम्भ गरेका हुन् । 
    क्लिनिकको शुभारम्भ गर्दै प्रा.डा.रामकण्ठ माकजुले धुलिखेल अस्पतालले गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने क्रममा सबैका लागि स्वास्थ्य र स्वास्थ्यका लागि धुलिखेल अस्पताल भन्ने अभियानलाई केन्द्रित गरी सबै प्रकारका सेवा शुरु गरेको बताए । सिर्जना गर्ने र त्यसको ब्यवस्थापन तथा उपलब्धतालाई गुणस्तरीय र फराकिलो बनाउने अभियान अनुरुप विभिन्न सेवाहरु शुरु भईरहेको उनले बताए । सबै नागरिकहरुले सहज सेवा लिन पाउने गरी अस्पतालले सबै प्रकारका सेवाको उपलब्धता गराएको उनले बताए । अस्पतालले उक्त क्लिनिकलाई किशोर मित्रता क्लिनिक पनि भनेको छ । 
    समग्र किशोर हेरचाह कल्याण, दीर्घकालीन रोग ब्यवस्थापन, प्रजनन स्वास्थ्य सेवाहरुका साथै मानसिक स्वास्थ्य सेवा किशोर स्वास्थ्य क्लिनिकमा उपलब्ध गराईने बाल रोग विभागमा कार्यरत बालरोग विशेषज्ञ डा.पृथुजा पौडेलले बताईन् । उक्त कार्यक्रमका लागि एम्प्याथ नेपाल, काठमाडौ युनिभर्सिटी स्कुल अफ मेडिकल साईन्स, माउन्ट आईकन स्कुल अफ मेडिसिन, अर्नहोल्ड इन्ष्टिच्युट फर ग्लोवल हेल्थ लगायतका संस्थाले साझेदार गरेका छन् । हरेक विहिबार संचालन हुने उक्त क्लिनिक दिउसो १ देखि ४ बजेसम्म संचालन हुनेछ । 
    किशोर हेरचाहको लागि नयाँ दृष्टिकोण स्वरुप किशोर क्लिनिक संचालनमा ल्याईएको हो । समग्र किशोर हेरचाह कल्याण, स्क्रिनिङ र रोकथाम, स्वास्थ्य प्रमोशन र पोषण लगायतका सेवा किशोर हेरचाह कार्यक्रमा पर्दछन् । पुरानो रोग ब्यवस्थापन तथा पुरानो रोगहरुको अवस्थाहरुको ब्यवस्थापन, किशोर अवस्थामा हुने मधुमेह, बाल अवस्थाबाटै बयस्क अवस्थामा संक्रमणको अवस्था, युवाहरुलाई उनिहरुको स्वास्थ्य हेरचाह तथा आवश्यकतालाई समर्थन गर्न सीपहरु प्रदान उक्त क्लिनिकबाट उपलब्ध हुनेछ । 
    मानसिक स्वास्थ्य, चिन्ताका लागि स्क्रिनिङ्ग तथा उपचार, तनाव ब्यवस्थापन र आवश्यक पर्दा मानसिक स्वास्थ्य सेवाहरुको उपलब्धता गराउने क्लिनिकको उदेश्य रहेको छ ।  किशोर किशोरीहरुको शारिरिक, भावनात्मक र सामाजिक आवश्यकताहरु अनुरुप गोप्य सेवाहरुको गोपनीयता सुनिश्चित गर्ने र विश्वास बढाउने, डाक्टरहरुसँग एकीकृत दृष्टिकोण सहयोग, समग्र हेरचाह प्रदान गर्न, विभिन्न विशेषताहरुमा नर्सहरु र अन्य स्वास्थ्य सेवा उपलब्ध गराउन उक्त सेवा महत्वपूर्ण हुनेछ । बाल चिकित्सा भवनमा शुरु गरिएको उक्त सेवाले किशोर अवस्थाका ब्यक्तिहरुलाई थप मद्दत पुग्ने अपेक्षा गरिएको छ । कार्यक्रममा डा.मेरी तथा बाल रोग विभागमा कार्यरत विभिन्न जिम्मेवारीमा रहेका चिकित्सक तथा अन्य ब्यक्तिहरुको सहभागिता रहेको थियो ।