तेमाल, कानपुर/भकुण्डे–मेच्छे (नमोबुद्ध–तेमाल) सडक खण्ड निर्माण कार्यले गति लिएको छ । केहि वर्ष देखि निर्माण कार्यमा सुस्तता आएको उक्त सडक निर्माण कार्यले गति लिए सँगै चालु आर्थिक वर्ष भित्र कालोपत्रे लगायतका कार्य सम्पन्न हुने अपेक्षा स्थानीयले गरेका छन् ।
‘सडक निर्माण समयमा सम्पन्न हुन नसक्दा स्थानीयहरुले भोग्नु परेका तमाम समस्याहरुका बारेमा पटक पटक अवगत गरायौं’–तेमाल गाउँपालिका वडा नम्वर ५ का अध्यक्ष हजार सिं लामाले भने–‘चालु वर्ष भित्र सम्पन्न हुने गरी निर्माण ब्यवसायीको तर्फबाट कार्य भईरहेको छ ।’ कालोपत्रे गर्ने कार्यका लागि निर्माण ब्यवसायीले आवश्यक उपकरणहरु मार्फत कार्य गरिरहेको अध्यक्ष हजार सिं लामाले बताए । ‘निर्माण ब्यवसायीलाई स्थानीयहरुको तर्फबाट आवश्यक पर्ने सहयोग उपलब्ध गराएका छौं’–अध्यक्ष लामाले भने–‘यो पटक निर्माण कार्य सक्ने गरी कार्य भईरहेको छ ।’
उक्त सडकका गत वर्ष जिल्ला समन्वय समिति काभ्रेको नेतृत्वमा अनुगमन गरिएको थियो । सडक निर्माण अलपत्र हुँदा स्थानीयहरुले भोग्नु परेका समस्याका बारेमा स्थानीय जनप्रतिनिधिहरुले पटक पटक गुनासो सुन्दै आएका थिए । २०८१ साउन १५ गते म्याद सकिएको उक्त सडक आयोजनाको म्याद थप गरिएको थियो । म्याद अवधीमा २२ प्रतिशत मात्रै कार्य सम्पन्न भएको थियो । दुई खण्डमा १३ किलोमिटर सडक चौडा, नाली, वाल सहित कालोपत्रे गर्नु पर्ने सम्झौता छ ।
थपिएको अवधीमा सडक आयोजनाका सबै कार्य सम्पन्न नहुने निर्माण ब्यवसायीले बताएका छन् । संयुक्त कम्पनीका नाममा आयोजना जिम्मा लिएको भए पनि एउटा साझेदार कम्पनीले समयमै कार्य नगरिदिँदा निर्माण कार्यमा ढिलाई भएको निर्माण ब्यवसायीले बताए । सडकमा परेका केहि थान पोल, केहि रुख र घरहरुले निर्माण कार्यमा असहज भएको बताउँदै त्यसमा सहजिकरणका लागि निर्माण ब्यवसायीले स्थानीय सरकारलाई अनुरोध गरेका थिए । सडक निर्माण क्षेत्रमा जनशक्ति बढाउन र निर्माण सामाग्री गुणस्तरीय बनाउन स्थानीय जनप्रतिनिधिहरुले सहजिकरण गरिरहेको अध्यक्ष हजारसिं लामाले बताए ।





