2026 August 04/ 06:29: 25pm

    धुलिखेल/नेपाल यातायात स्वतन्त्र मजदुर संगठन धुलिखेल कमिटीले २८ आंै र २९ आंै जेष्ठ यातायात मजदुर सम्मान एवं उत्कृष्ट चालक र सह–चालक सम्मान गरेको छ । साथै संगठनमा आबद्ध प्रथम महिला चालक गोमालक्ष्मी प्रधानलाई सम्मान गरेको छ । उनलाई नगद १० हजार सहित सम्मान गरिएको थियो । 
    नेपाल यातायात स्वतन्त्र मजदुर संगठन बागमती प्रदेश कमिटीका अध्यक्ष प्रमुख अतिथी शंकर थापा र विशेष अतिथी काभ्रे बस प्रालिका अध्यक्ष वर्ण शाक्य तथा कविर रञ्जित, संगठनका अध्यक्ष अर्जुन लामा लगायतले सम्मानित मजदुरहरुलाई सम्मान गरेका थिए । २८ आंै जेष्ठ यातायात मजदुर सम्मान चर्तुमान तामाङ र २९ औ जेष्ठ यातायात मजदुर सम्मान बुद्धिमान तामाङलाई सम्मान गरिएको थियो । जेष्ठ यातायात मजदुर सम्मानमा उनीहरुको धर्मपत्नीहरुलाई पनि सम्मान गरिएको थियो । सम्मानित मजदुरसदस्यद्वयले १ लाख ५ हजार नगद सहित दोसल्ला र प्रमाणपत्र प्राप्त गरेका थिए । 
    त्यस्तै उत्कृष्ट चालकहरु माधव खत्री, सुर्य लामा र दिपकध्वज खड्काका साथै सह–चालक रत्नकाजी शाही, दाल्साङ लामा, दिनेश थिङलाई नगद १० हजार, दोसल्ला र प्रमाणपत्रद्वारा सम्मान गरिएको थियो । कार्यक्रममा संगठनका अध्यक्ष अर्जुन लामा, सचिव दुर्गाबहादुर वाईवा, कोषाध्यक्ष रावल तामाङ लगायतले सम्मानित ब्यक्तिहरुलाई आगामी यात्रा सफलताको कामना गरेका थिए । 
    कार्यक्रममा बोल्दै प्रमुख अतिथी शंकर थापाले मजदुरहरुका हक अधिकार स्थापनाका लागि संगठनले खेलेको भूमिका स्मरण गराउँदै असल र उत्कृष्ट कार्य गरी सम्मानित भएकोमा बधाई र शुभकामना ब्यक्त गरेका थिए । यसअघि संगठनले २७ जना जेष्ठ यातायात मजदुरहरु सम्मान गरिसकेको छ ।