विभिन्न विधामा ७३ जना सम्मानित
बनेपा/बनेपा नगरपालिकाको ४४ औं स्थापना दिवस विविध कार्यक्रम सहित बनाइएको छ । उप–प्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिहंहको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै उप–प्रधानमन्त्री सिंहले संविधानसभाबाट बनेको अहिलेको संविधानको विकल्प नभएको बताएका छन् । जस्तो चुनौती आएपनि संविधानको बाटोबाट समाधान खोज्नुपर्नेमा जोड दिँदै उनले कसैले केही भन्दैमा डगमाउने कुरा नभएको बताए । उपप्रधानमन्त्री सिंहले नागरिकको जीवन र जीविकोपार्जन सहज होस् भन्ने जनचाहना पूरा गर्नेतर्फ सरकार लागेको पनि बताएका छन् । अहिले केही पनि भएन भन्ने गलत भाष्य बनाइएको भन्दै यथार्थ त्यस्तो नभएको जिकिर गरे ।
कार्यक्रममा बाग्मती प्रदेशका सांसद् कञ्चनचन्द्र बादे, प्रदेशसभा सदस्य रुकु चौंलागाँई, काठमाडौं विश्वविद्यालयका उपकुलपति अच्युत वाग्ले, प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल, जिल्ला प्रहरी प्रमुख बसुन्धरा खड्का, पत्रकार महासंघ काभ्रेका अध्यक्ष विनोद न्यौपाने, जनप्रतिनिधिहरु, विभिन्न राजनीतिक दलका प्रमुख एवं प्रतिनिधि लगायतले नगरपालिकालाई स्थापना दिवसको शुभकामना दिँदै बनेपाको विकासमा आफुहरूले सकेको काम गर्ने प्रतिबद्धता जनाएका छन् । नगर प्रमुख शान्तिरत्न शाक्यले शिक्षा, स्वास्थ्य, सडक, सडक खानेपानी लगायतको क्षेत्रमा महत्वपुर्ण काम भएको बताए । कार्यक्रममा स्वागत मन्तव्य उप–प्रमुख विमला सापकोटा दाहालले राखेकी थिइन् । उनले नगरको विकासका लागि सबैको सल्लाह सुझाव र परामर्शमा काम गरिरहेको बताइन् ।
स्थापना दिवसको अवसरमा बनेपा नगरपालिकाद्वारा प्रकाशित नगर बुलेटिनको तेस्रो अंक सार्वजनिक गरिएको छ । यस्तै काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा निर्वाचित प्रा.डा. अच्युत वाग्लेलाई सम्मान गरिएको छ । स्थापना दिवसकै अवसर पारेर बनेपा नगर क्षेत्रभित्रका उत्कृष्ट करदातालाई समेत सम्मान गरिएको छ । व्यक्तिगत तर्फ बनेपा १४ का प्रकाश चन्द्र जोशी उत्कृष्ट करदाताका रुपमा सम्मानित भएका छन् भने संस्थागततर्फ बनेपा ३ मा रहेको हेक्टर बायो साइन्सेज प्रा.लि. सम्मानित भएको छ । जोशीले आर्थिक वर्ष २०८०÷८१ मा बहालकर ५ लाख ७२ हजार ८८ रुपैयाँ कर तिरेका छन् । हेक्टर बायो साइन्सेजले ९ लाख २१ हजार ३ सय रुपैयाँ मालपोत र व्यवसाय कर तिरेको छ ।
२०८० सालमा सञ्चालित एससईई परीक्षामा सर्वाधिक अंक प्राप्त गर्ने छात्र छात्रालाई पनि सम्मान गरिएको छ । सामुदायिक विद्यालयतर्फ उत्कृष्ट अंक प्राप्त गर्ने चण्डेश्वरी सृष्टिकान्त माविकी छात्रा प्रमिला वि.क, सपनेश्वर माविका छात्र स्मरण लामिछाने, नैमिषारण्य संस्कृत गुरुकुलका साजन कोइराला, संस्थागततर्फ लिंकन इन्टरनेश्नल स्कुलकी स्मृति श्रेष्ठ, सिद्धार्थ स्कुलका अभिषेक बञ्जारा, र नेपाल पुलिस स्कुल साँगाका सम्भव अधिकारी सम्मानित भएका छन् । कक्षा १२ मा उत्कृष्ट अंक प्राप्त गर्ने सामुदायिक विद्यालयतर्फ चण्डेश्वरी सृष्टिकान्त माविकी रोमी सार्की र छात्र जीवन स्याङतान, संस्थागत विद्यालय तर्फ नेपाल पुलिस स्कुल साँगाकी स्वस्तिका कार्की, बनेपा निष्टबाट कुषुम यादव र सिद्धान्त तिमल्सिना सम्मानित भएका छन् । अवकाश पाउने शिक्षक, १५ वर्ष सेवा अवधि पुगेका स्थायी शिक्षक, १५ वर्ष सेवा अवधी पुरा गरेका नगरपालिकाका कर्मचारीलाई बनेपा सेवा पदकद्धारा सम्मान गरिएको छ । बनेपा नगरपालिकामा कार्यरत रहि अविछिन्न रुपमा २५ वर्ष सेवा अवधी पुरा गरेका २ जना कर्मचारी लक्ष्मी देउजा र विकास खाछिभोयालाई बनेपा दीर्घ सेवा पदकद्धारा सम्मान गरिएको छ ।
नगरभित्रका ५ जना क्रियाशिल कृषकलाई कदरपत्र सहित नगद पुरस्कार प्रदान गरिएको छ । सम्मानित हुने कृषकमा बनेपा–१ का मणिराज श्रेष्ठ, बनेपा–३ का हरिशरण बजगाँई, बनेपा –४ का रमनकाजी सुवाल, बनेपा–१३ की निरमाया तामाङ र बनेपा ७ बाट तारा श्रेष्ठ छन् । यस्तै पशुपालन तथा दुग्ध उत्पादन क्षेत्रमा आबद्ध ४ जना सम्मानित भएका छन् ।
तेक्वान्दो विधामा विभिन्न प्रतियोगितामा पुरस्कृत हुने गयाजी खड्का, सस्मन बस्नेत, सुरज कार्की, राजमन्दिर श्रेष्ठ, रजिना श्रेष्ठ, मनिल श्रेष्ठ, तुम्ला मधिकर्मी, ओशिष कारंजित, भीम बहादुर खड्कालाई सम्मान गरिएको छ । पत्रकारितातर्फ देवराज केसी, कराँतेमा अनुज कुमार सिंह, सन्देश मानन्धर, मिस्टर नेपाल २०२४ मा सहभागी म्यान अफ द वल्र्ड नेपाल, २०२४ एण्ड वेष्ट पर्सनालिटी आयुष दुवाल, वैज्ञानिक अनुसन्धान अनतर्गत ब्रकुलीन कलेज अमेरिकामा कार्यरत प्रा.डा. सिमलाल नकर्मी, औद्योगिक क्षेत्रको विकासतर्फ लक्ष्मी भालु श्रेष्ठ, नृत्यकलामा रविनसन श्रेष्ठ, खेलकुदमा महेश्वर थापा, कन्टेन्टर फाइट सेरिज–२ विजेता सुजित सम्मानित भएका छन् भने वेष्ट पेपर अवार्ड प्रज्वल प्रधानले प्राप्त गरेका छन् ।





