2026 August 04/ 08:07: 36pm

बनेपाको तरकारी बजारमा पार्किङ्ग गरिएको ‘बुलेरो’ गाडी एउटै ब्यक्तिले दुई पटक चोरी गरेका छन् । 
    धुलिखेल/पार्किङ्ग गरी राखेको बोलेरो गाडी एउटै ब्यक्तिले दुई पटक चोरी गरेका छन् । दुबै पटकको चोरी प्रयास असफल भएको छ । त्यहि अभियोगमा जेल परेर छुटेकै दिन दोश्रो पटक बुलेरो चोरी गर्ने युवक पुनः पक्राउ परेका हुन् । त्यसअघि पनि उनी पटक पटक चोरी अभियोगमा जेल बसेर निस्किएका थिए । 
    रामेछाप जिल्ला खाँडादेवी गाउँपालिका १ का ३३ बर्षिय रामकुमार श्रेष्ठ भन्ने श्याम श्रेष्ठ चोरी अभियोगमा चार पटक जेल परेका छन् । जेल परे पनि सजायँ भुक्तान सकिए लगत्तै उनी फेरी चोरी गर्छन । चोर्ने र जेल जाने उनका लागि सामान्य जस्तै भएको छ । पछिल्लो पटक उनी बनेपा ७ स्थित तरकारी बजारमा पार्किङ गरि राखेको बोलेरो गाडी चोरी अभियोगमा दोषि ठहर भएका छन् । जिल्ला न्यायाधीश मातृका आचार्यको इजलाशले कसुर ठहर गरी सजायँ निर्धारणका लागि पेश गर्ने आदेश दिएको छ । चोरी सम्वन्धी कसुरमा उनको अभियोग दावी पुगेकाले पेशीकै बखत न्यायाधीशले कसुर ठहर सुनाउँदै सजायँ निर्धारणका लागि पेश गर्ने आदेश चैत्र १४ गते भएको हो । 
    सिन्धुपाल्चोक जिल्ला बलेफी गाउँपालिका वडा नम्वर ६ घर भई काभ्रेपलाञ्चोक जिल्ला बनेपा नगरपालिका ७ बस्ने ३८ बर्षिय अर्जुन चौलागाईले सोहि वडाको तरकारी बजारमा पार्किङ्ग गरी राखेको शम्भु दंगालका नाममा दर्ता कायम भई संचालन गरिरहेको बा २१ च ४८० नम्वरको बोलेरो गाडी चोरी भएको जाहेरी २०८१ फागुन १८ गते दर्ता गरेका थिए । ईलाका प्रहरी कार्यालय बनेपामा दर्ता गरेको जाहेरीमा रामेछाप जिल्ला खाँडादेवी गाउँपालिका वडा नम्वर १ बस्ने ३३ बर्षिय रामकुमार श्रेष्ठ भन्ने श्याम श्रेष्ठ संलग्न रहेको किटानी जाहेरी दर्ता भएको थियो । बनेपा नगरपालिका ७ तरकारी बजार छेउमा सार्वजनिक सडकमा पार्किङ्ग गरी चाबी बन्द गरी राखेको अवस्थाको बोलेरो गाडी दोश्रो पटक चोरी भएको हो । काठमाडौं जिल्ला काठमाडौ महानगरपालिका वडा नम्वर १४ स्थित बल्खुबाट कलंकीतर्फ जाँदै गरेको रामकुमार श्रेष्ठले चलाएको वा २१ च ४८० नम्वरको बोलेरो गाडीलाई २०८१ फागुन १९ गते विहानको राती २ बजेको समयमा चेक जाँच एवं चालकसँग प्रारम्भिक सोधपुछका क्रममा गाडी चोरी गरी भागेको पुस्टि भएको थियो । 
    श्यामकुमार भन्ने रामकुमार श्रेष्ठ त्यस अघि काठमाडौ जिल्ला अदालतमा दायर भएको चोरी मुद्दामा ३ महिना कैद र १० हजार जरिवनामा जेल परेका थिए । २०८० साल पुष १९ गते उक्त मुद्दाको फैसला भएको थियो । पुनः बोलेरो चोरी अभियोगमा अर्जुन चौलागाईको जाहेरीले २०८१ कार्तिक ७ गते जिल्ला अदालतको फैसलाले ७ महिना कैद र ५ हजार जरिवना सहित जेल परेका थिए । उक्त कैद सजायँ भुक्तान गरी निस्किएकै दिन रामकुमारले २०८१ फागुन १८ गते सोहि स्थानमा पार्किङ्ग गरी राखेको बोलेरो चोरी गरेका हुन् ।
    रामकुमार श्रेष्ठलाई २०८१ मंसिर १५ गते र २०८० मसिंर २५ गते प्रहरी बृत्त गौशालाले चोरी मुद्दामा जेल सजायँ भुक्तान गरी २०८१ असार महिनाको अन्तिममा कारागारबाट मुक्त गरेको थियो । २०८१ असार ३१ गते बनेपा नगरपालिका वडा नम्वर ७ को तरकारी बजारमा नै रोकिराखेको सोहि गाडी चोरी गरी नम्वर प्लेट समेत फेरी गाउँतिर लगेर चलाउने योजनाका साथ लैजाँदै गर्दा बनेपा नगरपालिका वडा नम्वर ६ बुडोलमा पुगेपछि पक्राउ परेका थिए । त्यतिबेला पनि रामकुमार एक्लैले सोहि गाडी चोरी गरेका थिए । एउटा गाडी दुई पटक चोरी लैजाँदै गर्दा दुबै पटक पक्राउ परे । पहिलो पटक चोरी गरेको अभियोगको ७ महिनाको कैद सजाँय भुक्तान गरी उनी २०८१ फागुन १८ गते कारागार कार्यालय धुलिखेलबाट निस्किएका थिए । कारगाराबाट निस्किएर बनेपाको तरकारी बजार आईपुग्दा त्यहि गाडी देखे रामकुमारले । खाजा खाँदै थिए । खाजा खाँदा मनमनै योजना बनाए । पहिला असफल भएको सम्झिए । नम्वर प्लेट परिवर्तन गरी अन्यत्र लैजाने सोच बनाए । नम्वर प्लेट परिवर्तन नगरी पहाड लैजाने क्रममा पक्राउ परिएको सम्झिए । ठिक उल्टो योजना बनाए । गाडी चोरी गर्ने, नम्वर प्लेट परिवर्तन गर्ने र तराई लैजाने । राति ९ बजेको समय थियो । रोकी राखेको गाडीमा पुगे । साँचो मिलाए । अरनिको हाईवे हुँदै विच बाटोमा आराम गर्दै १९ गते विहानको राती ट्राफिकको चेकिङ्ग छली थानकोट कटाउन कोटेश्वरको गौशाला चक्रपथ बालाजु हुँदै जाने क्रममा प्रहरीले कलंकी स्थित सडकमा फेला पारी नियन्त्रणमा लियो । गाडी धनी शम्भु दंगाल र गाडी जिम्मेवारी लिएर चलाउँदै आएका अर्जुन चौलागाई नातामा आफन्त हुन् । 

पटका बोक्ने ‘सुनिता’ धरौटीमा
    विस्फोटक पदार्थ सम्वन्धी कसुर अभियोगमा ७ महिना पछि जिल्ला अदालत काभ्रेपलाञ्चोकले धरौटीमा छाड्ने आदेश गरेको हो । जिल्ला न्यायाधीश शिवकुमार पोखरेलको आदेशले कान्छी भन्ने सुनिता गोले धरौटीमा चैत्र ६ गते छुटिन् । आफ्नै गाडीमा भाडाको चालक राखेर भुषा लोड गरी भुषा भित्र विस्फोटक पदार्थ पटका लुकाएर राजधानीमा ल्याउँदै थिईन् । 
    सिन्धुली जिल्ला साविक बेलघारी गाविस ८ हाल तिनपाटन गाउँपालिका वडा नम्वर १ छहरे बस्ने २४ बर्ष की कान्छी भन्ने सुनिता गोलेलाई विस्फोटक पदार्थ सम्बन्धी कसुरमा मुद्दा दायर गरिएको थियो । २०८१ असोज ५ गते साँझ ५ बजेको समयमा धुलिखेल नगरपालिका ९ काभ्रेभन्ज्याङ्ग स्थित विपी राजमार्ग सडक खण्डमा भुषा लोड गरेर आईरहेको ना ५ ख ७१७९ नम्वरको ट्रक भित्र २६ कार्टुन विस्फोटक पदार्थ पटका बरामद भएको थियो । प्रहरीले गाडी चेक गर्ने क्रममा जोक्कर रकेट पटका ५ कार्टुन, हाई स्पिड स्पाईनर २४० बण्डल, सिंगल रकेट २ कार्टुन, खोर्सानी १४ बोरा फेला पारेको थियो । १४ बोरामा २३९ बण्डलमा प्रती बन्डल ५० प्याकेटमा प्रति प्याकेट २४ पिसले २ लाख ८६ हजार ८ सय पिस बरामद गरेको थियो । 
    २०८१ असोज १ गते गौतम साही भन्ने ब्यक्तिलाई सुनिता गोलेले काठमाडौ जाने गरी बुकिङ्ग गरेकी थिईन् । ५ हजार रुपैयाको तेल राखिदिएर उनले गाडी भाडामा लिएको बयान दिएकी थिईन् । पक्राउ परेको ७ महिना पछि उनलाई अदालतले धरौटीमा रिहा गरेको हो । प्रहरीले गाडी चेक गर्न लागे पछि गाडी छाडेर फरार भएका चालक अझै पक्राउ परेका छैनन । जिल्ला सरकारी वकिल कार्यालयले २०८१ चैत्र ४ गते मात्रै उक्त मुद्दा काभ्रेपलाञ्चोक जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो ।