2026 August 05/ 12:18: 45am

पनौती/सक्रिय महिला कृषि सहकारी संस्था लिमिटेड पनौती ८ काभ्रेको आयोजना तथा फरेस्ट एण्ड फार्म फेसिलिटीको सहयोगमा निर्माण भएको शीत भण्डारको कृषि तथा पशुपंक्षी मन्त्री रामनाथ अधिकारीले उद्घाटन गरेका छन् । 
    अध्यक्ष सुमित्रा आचार्य बञ्जाराको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले कृषि उत्पादन, कृषकहरुको हित र विषादी न्यूनिकरणमा सरकारले समन्वय गरिरहेको बताए । कृषकहरुलाई आत्मनिर्भर बनाउन सरकारले प्रयत्न गरिरहेको बताउँदै मन्त्री अधिकारीले मुलुकको आर्थिक अवस्था जटिल र संकुचनमा रहेको बताए । कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य मधु आचार्यले कृषकहरुले उत्पादनमा व्यवसायीकरण गरिरहे पनि राज्यले उत्पादनका लागि बजारको सहजीकरण गरिदिनु पर्ने बताए । कार्यक्रममा पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले कृषि उत्पादन र महिला सशक्तिकरण आजको आवश्यकता रहेको बताए । 
    कार्यक्रममा मुक्तिनाथ कृषि सहकारीका नारायण श्रेष्ठ, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु तथा कृषक महिलाहरुको सहभागिता रहेको थियो । अध्यक्ष सुमित्रा आचार्यले स्थानीय उत्पादन प्रर्वद्धन तथा महिला उद्यमशीलताको सशक्तिकरणमा अभियान शुरु गरिरहेको बताईन् । शीत भण्डारको उद्घाटनसँगै कृषि उत्पादनको प्रर्दशनी गरिएको कार्यक्रममा सहभागीहरुले स्थानीय उत्पादनमा जोड दिन अनुरोध गरे । 
    कृषि प्रर्दशनीमा योमरी, खुवा तथा मकैको पिठो, च्याँख्ला, कोदोका विभिन्न परिकार, चामल तथा त्यसका परिकारहरु, तरकारी तथा त्यसका विभिन्न उत्पादनहरु, घरेलु उत्पादन राखिएको थियो । समुहमा ५ सय भन्दा धेरै महिलाहरु सक्रिय रुपमा ब्यवसायीक रुपमा उत्पादनमा जोडिएका छन् ।