धुलिखेल/सिन्धु विकास बंैकमा शेयर सदस्यहरुले गरेको लफडा भित्र अनेक कारण छन् । बैक भित्र भएका अनियमितताका विरुद्ध आवाज समेत उठाउन नपाउने गरी सिमित ब्यक्तिहरुले मनोमानी गरेको आरोप छ । आरोपकै बीचमा तत्कालीन शाखा प्रमुख समेत रहेका सुमन खरेललाई बैकिङ्ग कसुर पछि अर्काे अभियोगमा अनुसन्धान शुरु भएको छ ।
सम्पत्ति शुद्धिकरण (मनि लाउन्डरिङ) सम्बन्धी कसुर मुद्दाको अभियोगमा काभ्रेपलाञ्चोक जिल्ला अदालतले अभियुक्तहरुलाई म्याद जारी गरेको छ । अभियुक्त मध्ये एक जना कारागारमा नै रहेको र बाँकी दुई जनाका नाममा म्याद जारी भईसकेको अदालतका सूचना अधिकारी एवं शाखा अधिकृत अक्षयकुमार दनुवारले जानकारी दिए । यो प्रकृतिको मुद्दा जिल्ला अदालतमा दर्ता भएको पहिलो हो । जिल्ला न्यायाधिवक्ता कृष्णा भण्डारीले काभ्रेपलाञ्चोक जिल्ला अदालतमा २०८१ फागुन १८ गते अभियोग दर्ता गरेकी थिईन् । सम्पति शुद्दीकरण अनुसन्धान विभागको तर्फबाट रीता पौडेलको प्रतिवेदनका आधारमा सरकारी वकिलको कार्यालयका तर्फबाट जिल्ला न्यायाधिवक्ता कृष्णा भण्डारीले सम्पत्ति सुद्दिकरण सम्वन्धी अभियोग दर्ता गरेकी थिईन् । अदालतले जारी गरेको म्याद बुझेर उनिहरु हाजिर भए पछि उक्त मुद्दामा थप प्रकृया अघि बढ्ने अदालतका सूचना अधिकारी अक्षयकुमार दनुवारले बताए । म्याद जारी भएको करिव एक महिना हुँदासम्म तामेल भएको छैन । अभियुक्तहरुले म्याद नबुझी शक्ति केन्द्र धाउन थालेका छन् ।
सिन्धु विकास बैंक दोलालघाट शाखाका तत्कालिन प्रमुख सुमन खरेलले बैंकको १ करोड ७४ लाख रुपैयाँ हिनामिना गरेको अभियोगमा बैकिङ्ग कसुर मुद्दामा कारागारमा सजााँय भोगिरहेका छन् । बैंकका तर्फबाट प्रबन्धक रविनकुँवर क्षेत्री र रामकुमार गिरीले खरेल विरुद्ध जाहेरी दिएका थिए । २०७८ साल असोज २२ गते खरेलले बैंकको खातामा जम्मा गर्नु पर्ने रकम १ करोड ७९ लाख ९० हजार ८ सय ५५ र ६८ लाख रुपैयाँ अपचलन गरेको अभियोग दर्ता भएको थियो । सोहि अभियोगमा उच्च अदालत पाटनले २०८० भदौ २७ गते खरेललाई ४ वर्ष ६ महिना कैद तथा २ करोड ५३ लाख ८७ हजार ९ सय ३६ रुपैयाँ जरिवानाको फैसला गरेको थियो भने उनले अपचलन गरेको रकममा साझेदारी गर्ने वीरेन्द्र खत्रीलाई २ वर्ष कैद र १७ लाख जरिवाना तोकिएको थियो । उनि दुबै भुक्तान गरी सम्पत्ती सुद्धिकरण विभागको ६ लाख धरौटीमा तारेखमा थिए । जिल्ला सरकारी वकिल कार्यालय काभ्रेपलाञ्चोकले बंैकका शाखा प्रमुख साविक भुम्लुटार गाविस ५ हालको भुम्लु ८ का सुमन खरेल, भक्तपुर चाँगुनारायण वडा नम्वर २ का विरेन्द्र खत्री तथा थप उनको श्रीमती बेलकुमारी बुढाथोकी विरुद्ध सम्पत्ति शुद्धिकरण (मनि लाउन्डरिङ) सम्वन्धी अभियोग दर्ता गरेको हो । बेलकुमारी बुढाथोकी नेपाल प्रहरीमा कार्यरत छिन् । अभियोगमा खत्रीले आम्दानी गरेको १० करोड ७ लाख ७९ हजार ५ सय ९९ रुपैया र त्यसको लाभको समेत रकम जोडेर ९ करोड २५ लाख ९ हजार रुपैयाँ आम्दानी गरेको स्रोत नखुलेखेको अभियोगमा उल्लेख छ । उनी ब्यवसायी पनि हुन् । उनको श्रीमतीका नाममा रहेको सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका ७ मा रहेको कित्ता नम्वर १९३३ नम्वरको १११.२९ वर्ग मिटर रहेको जग्गाको क्षेत्रफलको श्रोत नखुलेकाले जफत गर्न माग गरेको छ । श्रीमान विरेन्द्र खत्री र श्रीमती बेलकुमारीका नाममा रहेको खाता, शेयर खाता, डिम्याट खाता, कम्पनीको शेयर तथा विभिन्न प्रकृतिका जग्गा समेत गरी ६० वटा खाता रोक्का गरिएको छ ।
अभियोगमा खत्री विरुद्ध १३६ वटा विवरण संलग्न गरी अभियोग दर्ता गरिएको छ । सुमन खरेलको हकमा बैकको रकम अपचलन सम्वन्धी कारवाही पछि श्रोत नखुलेको ७ लाख ९३ हजार जफत गर्न माग गरिएको छ । कुल आम्दानी १८ लाख २२ हजार ४ सय ७७ को स्रोत खुलेको भए पनि बाँकी रकमको स्रोत नखुलेको बताईएको छ । बैकिङ्ग कसुर तर्फको अनुसन्धान र सजायँ सकिए लगत्तै सम्पत्ति शुद्धिकरणको अनुसन्धान शुरु भएको हो ।
के थियो घटना ?
काभ्रेपलाञ्चोक जिल्ला भुम्लु गाउँपालिका वडा नम्वर ८ का सुमन खरेलले सिन्धु विकास बैंक लिमिटेडको दोलालघाट शाखाबाट आफु निमित्त शाखा प्रमुख रहेको बखत रकम अपचलन एवं हिनामिना गरी विरेन्द्र खत्रीलाई दिई दुबै जनाले एक आपसमा मिलेमत्तो गरी सिन्धु विकास बैकबाट गैरकानूनी रुपमा प्राप्त गरेको रकम विभिन्न ब्यवसायमा लगानी गर्ने तथा लुकाउने उद्देश्य गरेकाले गैरकानूनी रुपमा आर्जन गरेको सम्पत्तिका बारेमा छानविन गर्न जाहेरी दर्ता भएको थियो ।
२०७८ मंसिर २८ गते उनिहरु विरुद्ध सम्पत्ति शुद्दीकरण सम्बन्धी कसुरमा अनुसन्धान गर्ने निर्णय भएको थियो । नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोले २०७८ पुष २ गते बैकिङ कसुर मुद्दाका आरोपीहरुको मिसिल सहित अनुसन्धानका लागि पठाएको थियो । आरोपित सुमन खरेलले बैकको भल्ट बचत खातामा १ करोड १७ लाख रुपैयाँ जम्मा गर्नु पर्नेमा नगरी वीरेन्द्र खत्री सहितका ब्यक्तिका नाममा जम्मा गरेका थिए ।





